एक यात्री यात्रा गरिरहन्छ
जीवनको सुरुआत हो कि अन्त्य
उडिरहेको पंक्षीलाई मट्याङ्राले
हिर्काए जस्तै
चलिरहेको जीवनका यात्राहरू
रोकिन्छन् निर्जीव जस्तै
शून्यतामा हराएको मान्छे
धुवाँदेखि डर लाग्ने मान्छे
आज जलाइरहन्छ धुवाँका मुस्लाहरू
ऊ आफै पनि बल्दो हो धुवाँसँगै
कहिल्यै भट्टी नछिर्ने ऊ
आजभोलि जडियाहरूको संगतमा छ
ऊ फिस्स हाँस्छ
पहिलाजस्तो सेतो दाँत चकलेटी मुस्कान उसको रहेन
कालो कुनै छायाजस्तै देखिन्छ
प्रेमको परिभाषा खोज्दै हिँड्छ
डिप्रेशनको उपचार सोध्दै हिँड्छ
घरमा बा बिमारी भएको पत्तो छैन
मेडिकलमा नशाको ट्याबलेट किन्छ
कहिले उसलाई भुलिदिन्छु भन्छ
कहिले नशामा उसको लागि मर्छु भन्छ
ऊ कदापि सुध्रिदैन भन्छ
प्रेम वियोगमा सधैं भुक्तभोगी हुन्छ
टोलाइरहन्छ खै के सोच्दो हो
कहिले हाँस्छ, कहिले रुन्छ
ऊ एक पागल प्रेमी हो।