म कसैको लायक थिएँ वा थिइनँ? म आफैलाई वा अरू कसैलाई खुसी र सुख प्रदान गर्न सकेँ वा सकिनँ? यस्ता प्रश्न सोध्न नसकेर भनौँ वा ममा बताउने साहस नभएर, कति कुरा अव्यक्त छन्।
अतीतको सम्झनामा केही न केही नैराश्यताको छाया त रहेकै हुन्छ र त उदासीन बनाएको हुन्छ क्यार। चाहे त्यो सुखस्मृति नै किन नहोला।
उनले भनेकी थिइन्, 'ईश्वर! तिमीले हिजो भनेका थियौ नि- प्रिया, तिमी मेरो प्रेमिका होइनौ तर तिमीसँग मेरो प्रेम छ, तिमी मेरो नशा बनिसक्यौ भनेर। आज तिमी पनि मेरो प्रेमी भए पनि नभए पनि तिमीलाई म उधुमै प्रेम गर्छु नि। तिमी मलाई विश्वास गर्छौ या गर्दैनौ तर म तिमीलाई विश्वासिलो पात्र मान्छु औधि विश्वास गर्छु नि।'
मैले भनेँ, 'थाहा छ त तिमीलाई, मलाई प्रेमसँग अवाञ्छनीय छ भनेर। झन् किन ममा तलतल थपिदिदैँ छ्यौ? तर पनि कुन त्यस्तो कारणले गर्दा यो सबै?'
उनले फेरि भनिन्, 'तिमी मजस्तो बहिर्मुखी छैनौ तर तिमी आफूले आफूलाई जति विश्वास गर्छौ नि, त्यो नै मेरो तिमी प्रतिको पहिलो आकर्षण हो।
मेरो प्रश्न तिमी सबैभन्दा बढी कसलाई प्रेम गर्छौ भन्दा तिम्रो उत्तर थियो, म आफूलाई। मैले फेरि प्रश्न गर्दै त्यसपछि कसलाई भन्दा तिम्रो उत्तर थियो, मेरी आमालाई। फेरि त्यसपछि कसलाई भन्दा तिम्रो उत्तर थियो, जन्मभूमिलाई। फेरि मैले त्यसपछि कसलाई भन्दा तिम्रो उत्तर थियो कर्मलाई अनि त्यसपछि कसलाई भन्दा प्रेमिकाले स्थान पाएकी थिइन् तिम्रो उत्तरमा।
योसँगै मेरो अर्को प्रश्नमा तिमी सबैभन्दा बढी कसलाई घृणा गर्छौ भन्दा तिम्रो उत्तर थियो, म आफैलाई र मेरा आकांक्षालाई। यो नै मेरो तिमीप्रतिको दोस्रो आकर्षण हो।
मेरो पहिलो प्रश्नको तिम्रो अन्तिम उत्तरको स्थानमा म बस्न सकूँला या नसकूँला। मेरो आकर्षणले तिमीमा नचाहँदा नचाहँदै पनि तलतल थपिँदै जाला तर तिमी पो मेरा निम्ति नशा बनिसक्यौ। त्यसैले यी नयन तिम्रै स्पर्श खोजिरहन्छन्। अझ थाहा छ ईश्वर, तिमीसँग च्याटिङ गर्दा र फोनमा गफिँदा रमाइलो लाग्छ। अरूसँग त्यति रमाइलो हुन्न।'
सरल होला, गहन पनि त उत्तिकै थियो होला नि यति कुरा नै। यही थिएन र स्वीकारोक्ति वा भनौँ प्रस्ताव? त्यो कस्तो प्रस्ताव थियो होला? मेरो रोमाञ्चित भावभूमि शैली कता गयो त? म नशा बनिदिनुका कारण अरू थिएनन्? मैले खुसी हुनपर्ने थियो या दुखी तर मैले निराशावादलाई अंगाल्दै प्रतिप्रश्न गरिदिएँ।
'नभए छैन भनेर पीर मान्नु मान्नुपर्ने भए पनि पीरै पीर किन ममा? यस्तो पीरै पीरको भाँडो प्रेमलाई फ्याल्न खोज्दैछौ तिमी? आज हामीले रोजेको विद्रोहले भोलि मसँग नै विद्रोह गर्न खोज्ने छ। यसरी मेरो जीवनयात्रा के होला? यसको जिम्मेवार को लिन्छ?'
मेरो प्रश्नसँगै उत्तरमा मौनता छायो।
जब बितेका दिनहरूमा दृष्टिपात गरिन्छ तब लाग्छ कि पलपलमा अहंकारले भरिपूर्ण स्वःनिर्णयको कालमान रहेछ जीवन।
रहर या त बाध्यताकै असन्तुष्ट उपज किन नहोस्, अभिशाप या वरदान नै मानिएको किन नहोस्, नारकीय जस्तो पनि ठानिएको नै किन नहोस्, निराशा आशामा परिणत भएका थिए, ईर्ष्याका ज्वाला मुहारमा झल्किएका थिए र ती हृदयमा सुखका कम्पन उत्पन्न भएका थिए।
आज जब प्रहर-प्रहर गर्दै दिनसँगै जीवन ढल्किँदै गर्दा शरीरमा पहिले जस्तो चाञ्चल्यता रहँदैन, त्यो ऊर्जाको क्रमिक शमनीय हुँदै जान्छ, यत्नसँग लड्दै पलपलमा चञ्चलता माथि स्थूलता खिचिन्छन् तर ती स्थूलताले सह्य सुखका कणहरू कतै त जीवित नै राखिदिएको पनि त होला।
यत्तिकैमा सम्झना आयो कसैको सुझाव- 'आफ्नो हृदयको दुर्लभ अभियाचनलाई बुझेर आफ्नो अस्तित्व कायम हुने गरी पाइला चाल्न अलमलिनु हुँदैन। कदम चाल्न डराउनु पर्दैन, केबल पछि गएर लज्जाभावना उत्पन्न नहोस्। सम्मान, प्रतिष्ठा, इज्जत र पुरुषत्व कायम होस्।'
मलाई त्यो कुराले प्रेरित त पक्कै गर्यो, फल जस्तोसुकै आएको किन नहोस् तर यो कदममाथि कुनै दम्भ भने छैन। सशंकित त अवश्य छु। कतै परिश्रमले कमाएको विश्वास अविश्वासमा, सन्दिग्धतामा परिणत भयो कि भनेर, सुदूरसम्म सहयात्रा गर्ने बाचामा खोट बनाएर खाटो त पारिनँ कतै? खोट भएपछि ती देवीले मप्रति स्वीकारोक्ति जनाउलिन् त?
हिजो त्यो कुराको दावा गर्न सकिनँ। ईर्ष्या त पक्कै थियो, यसलाई नै उसले खोजेको खण्डमा त्यसको प्रमाण मान्न सकिन्छ।