पोहोर साल
अन्योलमै बित्यो
त्यो अगाडिको साल नि उस्तै
यो साल नि यस्तै छ
अन्योल, गन्जागोल
तर हरेक वर्ष झैँ
आउने वर्ष राम्रो बनाउने अठोट
जस्ताको त्यस्तै छ
वसन्तमा नि पानी पर्यो
गर्मीमा हिउँ पर्यो
जाडोमा चिसो नै भएन
यी त सब बकमफुसे कुरा न हुन्
समय त्यस्तै छ
जुन म जन्मिनु अगाडि थियो
अनि मेरो मृत्युपछि नि यस्तै रहनेछ
चुरोटको धुवाँ हावामा विलीन हुन्छ
केही समय लगाएर विस्तारै-विस्तारै
म नि यहीँ हुँ
समयको भकारीमा
एक गेडा धानभन्दा सानो
खुसी खोज्दैछु
वर्षौं वर्ष लगाएर
अझै अत्तोपत्तो छैन
कति वर्ष लाग्छ भनेर
सायद प्राप्ति अगाडि लास भइन्छ कि?
या आफ्नो अस्तित्व खोज्दा खोज्दै
हावामा विलीन भएको धुवाँजस्तै
विलीन भइन्छ कि?
तर पनि
बाँच्ने आशा भनेकै आउने दिनहरू न हुन्
यदि आउने दिनको लोभ नहुँदो हो त
आज नै अन्तिम दिन हुन सक्थ्यो
या हिजो हुन्थ्यो कि
तर जीवित रहन सपना जरुरी छ
भोलि जरुरी छ
हिजोका जडुरीहरूलाई
आज लगाएर
भोलि पर्खन जरुरी छ
अर्को हप्ता पर्खन जरुरी छ
अर्को साल कुर्न जरुरी छ
जसरी रुखहरू
जाडोमा नाङ्गिएर
नयाँ पालुवा पलाउन वसन्त पर्खिन्छन्
राम्रा दिनको आशा जरुरी छ।