बिर्सिदा बिर्सिदै पनि
बाटोमा कोही सँगै हिँडे झैँ गर्छ
त्यो को हो?
मस्त निदाइरहेको बेला
कानमै आएर सुस्त बोलाए झैँ गर्छ
त्यो को हो?
नेपाल यातायातको
बीच ग्यालरीमा झुन्डिएर
बानेश्वरदेखि पुतलिसडकसम्म आउँदा
मेरै हात समाए झैँ गर्छ
मसँगै टाँस्सियर अड्डिए झैँ गर्छ
मैले नै तिरेको भाडामा यात्रा गर्छ
स्टुडेन्ट कार्ड छ भन्दै
खलासीसँग पाँच रूपैयाँ फिर्ता माग्छ
फिर्ता लिएको रकम लौ भन्छ
मेरै खल्तीमा हाल्छ
त्यो को हो
जो मेरा सानातिना कुरामा झुन्डिराखेको छ
घरी ममः खाने रहर त घरी लाफिङ खाने रहर गर्छ
अफिस बिदा भयो कि
फिलिम हेर्न जाऊ भन्छ
जिद्दी गर्छ
आफै टिकट काट्छ
फोन गर्छ
कोठाको ठ्याक्कै चोकमै आएर पर्खिराख्छ
त्यो को हो
जो मलाई पछ्याइराख्छ!
बिहान ब्युँझाए झैँ गर्छ
बेलुकी सुताए झैँ गर्छ
म रिसाउँछु, ऊ फकाए झैँ गर्छ
म बिरामी हुन्छु
ऊसँगै बसेर सुमसुमाए झैँ गर्छ
यादहरूको चहलपहल यति ज्याद्रो बढ्नु
आजकल डर लाग्छ मलाई
कतै गन्तव्यमा पुग्ने एक मात्र सवारी छुटेजस्तो
कतै सहाराको हात नै बिर्सिएजस्तो
प्रेमको आभास नै डढेर खरानी भएजस्तो
मुटु बिसाएजस्तो
श्वास सुस्ताएजस्तो
ज्यान चिस्सिएजस्तो
दृश्य अस्ताएजस्तो
बोटमा अघाएर
पहेलो भएर झरेको पात खस्ने
बोटको फेदमै, बोटकै वरिपरि रैछ
तिमी गएँ भन्यौ
तर हराएको मैरै वरिपरि रैछ
मेरै सामुन्ने रैछ।
आजकल फेरि तिमी प्रतिको प्रेम
झन्-झन् बढ्दै गएको छ घोप्टी
ठ्याक्कै
युकल्प्टिसको रूख काटेपछि
ठुटामा झ्याङ्गिएर पलाएका मुनाजस्तै
शिशिरमा उजाडिएर
वसन्तमा हरियाली र सुन्दर फूलले
भरिएको आरूको बोटजस्तै।
म प्रेम गर्न रहर गर्छु
तिमी प्रेम गरेझैँ गरी जिस्काइरहन्छ्यौ
डियर घोप्टी
भोलिदेखि तिम्रा यादहरूसँगै तिमी पनि
मलाई जिस्काउन आइदेऊ न ल!