‘त्यसै त यति राम्री छौ, भोलि कस्ती हौली’ सायद बिहे अघिको उसको यो अन्तिम म्यासेज हो।
रातको एघार बजेको छ। घरभरी मान्छे छन्। हातमा उसको नामको मेहेन्दी सजिएको छ। तर म निदाउन सकेकी छैन। दिदी र म एउटै खाटमा सुतेका छौं। दिदी निदाइसकेकी छ।
घर माला र तोरणहरूले सजिएको छ। बिहेकै लागि भनेर थप बत्तीहरू थपिएका छन्। चारैतिर उज्यालो छ। त्यो उज्यालो मभित्र छैन। मन भित्रभित्र कुडिएको छ। सानैदेखि बिहे भनेपछि भुतुक्कै हुने म, आफ्नै बिहेका लागि उत्साहित छैन।
‘बस् जे हुन्छ राम्रो हुन्छ’ एक मन भन्छ तर आँखाहरूले दिदीको मलिन अनुहारलाई छाड्न सकेका छैनन्।
दिदी मभन्दा एक वर्ष जेठी छ। तर भन्नेले अग्लो भएकाले मैलाई दिदी भन्दिन्छन्। ऊ सुनिता अनि म अनिता। खासमा ऊ मलाई होइन मेरी दिदीको लागि हेर्न आएको थियो। ऊ आउने दिन बाआमाले दिदीलाई भन्नुभएको थियो, ‘अल्लि राम्री भएर बस् तँलाई हेर्न कोही आउँदैछ। घरपरिवार राम्रो छ, केटो पनि इन्जिनियर हो रे उसले मन परायो भने नाइँ नभनेस्।’ दिदी केही बोलिन। ऊ दिदीको लागि हेर्न आएको पहिलो केटो थिएन। योभन्दा पहिले कयौंले उसलाई हेरे।
आमाबासँग केही नभने पनि त्यो पटक दिदी खुसी देखिन्थी। उसलाई पढेका मान्छे मनपथ्र्यो तर जब बिहेका लागि कुरा चल्थ्यो उसको भागमा प्रमाणपत्रका धनीहरू कहिल्यै पर्दैनथे। ऊ बेलाबखत भन्थी, ‘मैले बिबिएस पास गरेर के काम लाग्यो त।’
तर कुरा चलाउनेहरूले उसका लागि पढेकाहरू कहिल्यै देखाएनन्। ऊ पहिलो केटो थियो जो दिदीले खोजेझै पढेको थियो।
आमाबाले हामीलाई उसको नाम भन्नुभएन। ऊ कस्तो छ के गर्छ त्यो पनि भन्नुभएन। तथापी दिदीका आँखाहरूमा एक खालको चञ्चलता देखिन्थ्यो। ऊ त्यसदिन अफिसबाट चाँडो घर फर्की। बाआमाले भनेझैं राम्री बन्न उसलाई सुहाउने कुर्था लगाई। अनुहारमा अलिअलि लिपपोत गरी।
म र दिदीसँगै हिँड्दा दिदीलाई राम्री कसैले भन्दैनन्। केटाकेटी बेला मलाई रमाइलै लाग्थ्यो दिदीभन्दा म राम्री रहेछु भनेर। अहिले पनि मलाई राम्री भन्नेले उसलाई राम्री कहिल्यै भन्दैनन्।
आजकल कहिलेकाहीँ मलाई राम्री भनिदिएकोमा दु:ख लाग्छ। म किन राम्री ऊ मेरो अगाडि किन नराम्री? सँगै हुर्केका ऊ र मबीच राम्री र नराम्रीको भेद सधैं रहिरह्यो।
ऊ हेर्न आउने दिन आमाले मलाई सुटुक्क भान्छामा बोलाएर भन्नुभयो, ‘आज ती मान्छे आएका बेला दिदीको नजिक नगएस्’। मैले किन भनेर सोध्न सकिनँ। घरमा एकाएक नौला मान्छे आए। बैठक कोठामा चहलपहल सुरू भयो। दिदी निराश नभए पनि आत्तिएकी थिई। आमाले बोलाएपछि ऊ पनि बैठकतिर गई। मलाई कताकता खसखस भयो। आफू पनि जाऊँजाऊँ भयो। एक्कासि सबै भए छेउ टपक्क टप्किएँ। आमाले झस्केर मलाई हेर्नुभयो। बाले बिस्तारै कान्छी छोरी भनेर सबैलाई चिनाउनुभयो। मैले सबैलाई नमस्ते गरेँ। दिदीलाई हेर्न आएको ऊ दिदी छेउ थियो। एकछिनपछि दिदी र उसलाई अर्को कोठामा गफ गर्न पठाइयो। ऊ र दिदी गए। के गफ गरे मलाई थाहा भएन। उसँगको गफपछि दिदीको आँखामा निराशा भने प्रष्ट देखिन्थ्यो।
हामी तपाईंहरूलाई पछि खबर गर्नेछौं भन्दै उनीहरू घरबाट निस्के। आमाले दिदीलाई कस्तो लाग्यो केटो भन्दा दिदीले ठिकै मात्र भनी। एकाएक त्यसपछि दिदी मसँग कम बोल्न थाली। भोलिपल्ट खबर आयो केटोले दिदीलाई होइन मलाई मनपरायो रे भनेर। त्यसदिन बाआमा केही बोल्नुभएन। दिदी अफिस गई आई तर कोहीसँग बोलिन। ... घरमा एकाएक सन्नाटा छायो। दिदीलाई कसैले मन पराउँदिन भनेको, राम्री रैनछ भएको त्यो पहिलो पटक थिएन तर घरमा एकाएक मौनता छाएको थियो।
भोलिपल्ट बिहान आमाले फेरि मलाई भान्छामा बोलाउनुभयो।
‘आमा किन बोलाउनुभएको’ भन्दै म गएँ।
‘तँसँग एउटा कुरा गर्नुछ’ आमाले भन्नुभयो।
‘दिदीलाई हेर्ने आएकोलाई तँ मन परेछ। दिदी होइन तँ पाए बिहे गर्छु भन्छ रे, गर्छेस् तँ त्योसँग बिहे? घरपरिवार राम्रो छ। हामीले निर्णय गर्यौं भने नाइँ नभनेस्। दिदीको नभए नि तेरो गर्न पाएँ हाम्रो आधा शिर हल्का हुने थियो। त्यसैनि छोरो छैनन्..... दिदी छोरा भएर बस्नेछे।’ आमाले आँखामा टल्पलाएका आँसु पुछ्दै भन्नुभयो। मैले आफ्ना आँखाका आँसु रोक्न सकिनँ। कोठाभित्र छिरें, भित्रैभित्र बेस्सरी भक्कानिएँ।
बेलुका फेरि बाले बोलाउनुभयो। सधैं दिदी बहिनीलाई सँगै बोलाउने बाले आज मलाई मात्र बोलाउनुभयो। दिदी र आमा भान्छामा हुनुहुन्थ्यो।
‘तँलाई एउटा कुरा भन्नुथियो कान्छी’ कोठाभित्र छिर्नेबित्तिकै बाले भन्नुभयो।
‘तेरी आमाले र मैले त्यो केटासँग तेरो बिहे गर्दिने निर्णय गर्यौं। घरपरिवार राम्रो छ। केटो पनि राम्रो स्वभावको छ भन्छन् सबैले। तेरो जीवन खुसी हुनेछ। हुन्छ भन’ बाको बोलीले मलाई झन् बोल्न नसक्ने बनायो। ....दिदीको अनुहार सम्झें .... हुन्छ भन्न सकिनँ। तर बाआमाको प्रस्तावलाई नाइँ भन्न पनि सकिनँ। आँखाका आँसुलाई रोक्न सकिनँ.... बालाई नहेरी हुन्छ भनिदिएँ।
बेलुकीको खानापछि सदाझैं कोठामा छिरें। दिदी एकतमासले झ्याल बाहिर हेरेर बसेकी थिई। सदाझैं मैले दिदी भनेर बोलाउन सकिनँ। त्यो दिन दिदी अरू दिनभन्दा चाँडै सुती। म भित्रैभित्र भक्कानिएँ तर दिदीलाई भन्न सकिनँ। .... त्यो मेरो जीवन पहिलो सान्नाटा थियो। म पहिलोपटक राम्री भएकोमा दुखी भएँ। त्यस दिन मैले आकाशका ताराहरूसँग बिताएँ। देख्दा चम्किला देखिने ती रातका किरणहरूझैं मैले पनि एक्लो र चिसो महसुस गरेँ।
भोलिपल्ट म नउठ्दै दिदी कलेज गैसकेकी थिई। आमाले ‘चिया यहाँ छ कान्छी’ भनेपछि बल्लबल्ल ओछ्यानबाट बाहिर निस्कें। मंसिरको महिना बाहिर चिसो हावा चल्दै थियो। आमाले ‘आज दिउँसो कुरा पक्का गर्न उनीहरू आउँछन् कहीँ नगएस्’ भन्नुभयो।
आमाले भनेझैं करिब दुई बजेतिर उनीहरू आए। आमाले मलाई आफ्नो लागि किनेको गुलाबी रंगको साडी लगाइदिनुभयो।
सधैं साडी लगाउँदा फरूङ्ङ हुने म, मन भित्रका कोलाहलहरूलाई छिचोलेर रमाउन सकिनँ। दिदी कलेजबाट सिधै अफिस गैसकेकी थिई। देख्दा ठिकै देखिने ऊ मलाई देखेर दंग देखिन्थ्यो। एकअर्कालाई औंठी लगाएपछि उसले मलाई उसँगै सेल्फी खिच्न आग्रह गर्यो। मैले हुनेवाला लोग्नेको त्यो आग्रहलाई टार्न सकिनँ। तर आँखाले दिदीको मौनतालाई छोड्न सकेन।
सदाझैं अफिसबाट करिब ६ बजे दिदी घर फर्की। आमाबाका आँखा पनि उदास थिए। मैले मेरो हातको औंठी उसलाई देखाउन सकिनँ। तर दिदीले आफूभित्रको सान्नाटालाई कता छोडेर आई त्यो दिन, आउनेबित्तिकै, ‘खै कस्तो ल्याएछन् औंठी देखाँ त’ भनी। उसले केही नभएझैं गरी। त्यो हृदयको कोलाहल खै कहाँ लुकाएर राखी उसले।
त्यसदिनपश्चात उसको आगमन भयो मेरो जीवनमा तर उसको आगमनले न म खुसी थिएँ, छु, न उत्साहित। मेरो लागि बस् ऊ हुने वाला लोग्ने हो।
बिहेको लागि एक हप्ता पछिको दिन जुराइयो। ऊ मसँग भेट्न चाहन्थ्यो तर किनकिन मलाई उसलाई देखेपछि दिदीका आँखामा छाएको उदासी याद आउँथ्यो।
‘तिम्रा यी आँखा मलाई असाध्यै मनपर्छ’ उसले एक दिन भन्यो मैले त्यही क्षण मेरा दिदीका आँखाहरू सम्झें।
आज उसको नामको मेहेन्दी लगाएको छु तर आँखामा दिदीको उदासी बोकेकी छु। दिदी खुसी भएझैं देखाउँछे। भोलिबाट उसलाई कुरूप ठान्नेलाई उसले ज्वाइँ भन्नुपर्छ। कुन हृदयलाई साक्षी राखेर उसले ज्वाइँ भन्नेछ ? वा कुन आँखाहरूले उसले मेरो लोग्नेलाई स्वागत गर्नेछ ? वा कुन स्वाभिमानलाई कुल्चेर ऊ केही नभएझैं गरी हाँस्नेछ ? थाहा छैन ... म कुन हृदय बोकेर दिदीछेऊ ऊ मेरो लोग्ने भनेर चिनाउनेछु।
यो एक हप्तामा हृदय भरिएको छ। म उसलाई लोग्ने मान्दै गर्दा मसँगै हुर्केकी मेरी दिदीको हृदयलाई कुल्चनु पर्नेछ। भरिएको हृदयलाई म पोख्न चाहन्छु......तर कसरी थाहा छैन ......
प्रिय दिदी,
थाहा छैन कुन भावनाको कोलाज बोकेर तँ बाँचेकी छस् ? मेरो हातमा लेखिएको उसको नाम देख्दै गर्दा तँलाई कस्तो महसुस भयो? तँलाई अस्वीकार्नेलाई भोलि तँ ज्वाइँ मानेर कसरी स्वीकार्नेछस् ?
म बेहुली हुँदै गर्दा तेरा उज्याला आँखाहरू देख्न चाहन्थे, यो अँध्यारो क्यानभासलाई साक्षी राखेर म कसरी जीवनमा उज्यालो रंग पोत्नेछु ? यी यस्तै प्रश्नहरूले म रुमलिएकी छु।
मलाई माफी दे केटी। तँ जसरी उज्यालो भएर मसँग उभिस् त्यसरी म पनि अडिग भएर उसको प्रस्तावलाई कुल्चन सक्नुपर्थ्यो। तर मैले सकिनँ केटी म काँतर रहेछु। जाँदैगर्दा तँलाई खुसी भएको देख्न चाहन्छु। तर यो पढ्दै गर्दा आँखाबाट आँसु नझारेस्।