तपाईं जस्तै त हो म पनि
तपाईंलाई पीडामा दुखेजस्तै मलाई नि दुःखमा दुख्छ
तपाईं खुसी हुँदा हाँसेजस्तै मेरो मन नि खुसीमा हाँस्छ
फरक यत्ति हो
म दुखेको बेला तपाईं हाँसिदिनु हुन्छ
म हाँसेको बेला तपाईं रोइदिनु हुन्छ।
तपाईं जस्तै त हो म पनि
तपाईं नि पैसा समाउनु हुन्छ
म नि पैसा समाउँछु
तपाईंलाई नि जिन्दगी रमाउनलाई पैसा चाहिन्छ
मलाई नि जिन्दगी बचाउनलाई पैसा चाहिन्छ
फरक यत्ति हो
लिँदा तपाईं तिर्नुपर्दैन जस्तो गरी समाउनु हुन्छ
मैले समाउँदा
कामेको हात तिर्न सक्दिनँ कि भनी डराउने गर्छ।
तपाईं जस्तै त हो म पनि
तपाईं सधैँ मेरो हरियाली मात्र देख्नु हुन्छ
राम्रो!
म पनि त वर्तमान रमाएर भोग्ने गर्छु
किनकी
विगत न सच्चिन्छ, भविष्य न सोचेर पाइन्छ
फरक यत्ति हो
तपाईं भविष्य रमाउनलाई अहिले रुने गर्नुहुन्छ
म वर्तमान बाँच्नलाई अहिले हाँस्ने गर्छु।
तपाईं जस्तै त हो म पनि
दुई हात जोडी घर-घर भोट माग्न आउनुहुन्छ
म फेरि पत्याएर तपाईंलाई भोट खसाल्छु
तपाईं र ममा
फरक यत्ति हो
तपाईं चुनाव जितेर दुई हात जोड्न लाउनुहुन्छ
म दुई हात थाप्लामा लगाई पछुताउने गर्छु
फरक यत्ति हो हजुर।