सधैं फनपार्क मोडिने हामी आज एकान्त वातावरण खोज्यौँ। सरर हावा चल्ने ठाउँ अनि उहाँसँगको सामीप्यताले तन र मन दुवै शीतल भएको थियो।
कुरा सुरुआतसँगै उहाँले पढाइ कस्तो छ? तयारी कति पूरा गर्यौ? सोध्नु भयो। म पनि निडरका साथ सबै कुरा खुलस्त भनेँ।
'अब समय धेरै छैन, अब धेरै तनाव नलिई फ्रेस भएर रिमाइन्डिङ तिर लाग्यौ भने निकै राम्रो हुन्छ। वास्तवमा तिमी ट्यालेन्ट रहेछौ, मैले तिमीमा अनौठो साहस देखेँ। तिम्रो अस्तिको लेखाइले मलाई लाग्छ सफलता निकै नजिक छ।'
मैले पनि 'यसको सबै प्रेरणा र श्रेय हजुरलाई नै जानेछ, बस मैले त सिकाएको बाटो मात्र हिँडेको हुँ, बाटो देखाउने मान्छे सहयोगी हजुर जस्तो साथ पाउनु भाग्यमानी हुँ कि जस्तो लाग्छ' भनेँ।
'अधुरा र देख्न छोडेका सपना पूरा गर्ने हिम्मत जुटाइदिनु भएकोमा हजुरलाई धेरै-धेरै धन्यवाद, म सधैं हजुरप्रति ऋणी रहने छु। जीवनको कुनै क्षणमा गुन तिर्ने अवसर दिनुहोला।'
यति भनिसकेपछि उहाँले भन्नुभयो, 'सबै मेहनत त तिम्रै हो। ठिक छ तिम्रो सपना पूरा भई तिमी सफल भयौ भने मेरो पनि एक सपना छ पूरा गर्न, सहयोग गरिदेऊ है त। त्यो गर्यौ भने सम्झ गुन तिरेको यसैमा भन्ने तर फेरि यो पछिको कुरा हो। यसले तिमीले मनमा के होला भन्ने कौतूहलता जगाएर नबस। तिमी तिम्रो सपना पूरा गर्न अगाडि बढ। बाँकी सबै सम्हाल्ने म छँदै छु।'
यी कुराहरूसँगै ३ घण्टा बितेको पत्तो नै पाइएनछ, उपमाको फोनले बल्ल थाहा भयो। अनि विस्तारै लाग्यौँ घरतिर।
मैले समय तालिकाअनुसार परीक्षा सकेँ। राम्रो नै गरेजस्तो लाग्यो आफ्नो मेहनतअनुसार। उहाँलाई पनि सुनाएँ यी कुरा। निकै खुसी हुनुभयो।
अचेल दुःख पर्दा र खुसी हुदाँ उहाँलाई नै सम्झिने बानी परेको थियो मलाई। नयाँ कुरा केही थाहा पाए पनि अनि नयाँ रेसिपी बनाए पनि झट्ट दिमागमा आउने उहाँ नै हुनुहुन्थ्यो। एक किसिमको सम्मानजनक प्रेम नै थियो उहाँप्रति तर उहाँलाई के थियो, कसो थियो मैले कहिले सोधिनँ र आफ्नो पनि बताइनँ। किनकी समयले नै जवाफ देला भन्ने प्रतीक्षामा थिएँ म।
समय बित्दै गयो, म परीक्षाफलको पर्खाइमा थिएँ। दिनचर्या पहिलेको जसरी नै बितिरहेका थिए। दैनिक हामी फनपार्कमै भेटिन्थ्यौँ अनि हप्ताको शुक्रबार सधैं नयाँ-नयाँ ठाउ घुम्न गइरहन्थ्यौँ। एक पटक गइसकेको ठाउँमा फेरि गयौँ भने नचिन्ने सायदै कम हुन्थे।
'कति मिलेको, कति राम्रो, परिवार, कति खुसी परिवार, खुसी खोज्न काहीँ जानै पर्दैन रमाउन जाने पुगेछ' यस्तै भन्दै प्रशंसा गर्थे तर हामीले कहिले पनि हाम्रो वास्तविकता कसैसँग सेयर गरेनौँ। जे छ ठिक छ, जे बुझ्छ समाजले देख्ने आँखाले त्यही सही भन्दै हिँड्यौं।
मलाई सुरु-सुरुमा निकै अप्ठ्यारो महसुस हुन्थ्यो तर उहाँले सम्झाउनुभयो, 'हामीलाई खुसी देखेर भलै कोही अरुको मुहारमा खुसी आउँछ भने किन वास्तविकता ओकलेर बेखुसी बनाउनु? हाम्रो पीडा र हामो भोगाइ हामीसँगै छ नि।'
मलाई नि ठिकै लाग्यो अनि सहज महसुस गर्न थालेँ। उहाँका कुरा सुन्दा यस्तै-यस्तै घतलाग्दा भनाइहरू जीवनभोगाइहरूले नै होला मान्छेलाई परिपक्व बनाउने जस्तो लाग्थ्यो।
एकबिहानै मेरो मोबाइलमा एक्कासी उहाँको कल आयो। मन झसंग भयो। यो पहिलो पटक थियो उहाँले मलाई कल गरेको नत्र प्रायः कहिलेकाहीँ म कल गर्थें अनि उपमाले गर्दा बोल्थ्यौँ। डराउँदै फोन रिसिभ गरेँ।
'बधाई छ केटी, तिमी सफल भयौ। नतिजा प्रकाशन भएछ हिजो। थाहा पाएर खबर गरिनौ कि थाहा नै पाएको छैनौ?'
म निकै प्रफुल्ल भएँ। जवाफ दिन नै सकिनँ। के बोल्ने के भयो अनि धन्यवाद भनेर फोन काटेँ। पेज खोज्न थालेँ। सधैँ हेरिरहन्थेँ तर दुई दिन भयो हेरेको थिइनँ। आफ्नै आँखाले देखेपछि बल्ल ढुक्क भएँ। बाबुलाई सुनाएँ, निकै खुसी भयो।
'मामु अब माई मम इज एन अफिसर लेख्न पाइयो। म त साथीहरूलाई मिठाई खुवाउँछु अनि उपमा दिदीलाई फोन गर्छु' भन्दै मोबाइल लिन भाग्यो।
उपमा निकै खुसी हुँदै 'बधाई छ उपदेश तिमीलाई अनि मामुलाई पनि। हामी तिम्रो घरमा आउन लागेको, बाबा लड्डु किन्न लाग्नु भएको छ।'
फोनमा यति सुनेपछि म निकै आत्तिए जस्तो भयो। के गरुँ, के गरुँ छटपटिँदै विस्तरा मिलाउन लागेँ। एकछिनमा बाबु मिठाईको प्याकेट, उपमा फूलको बुके र उहाँले लड्डु लिएर गेटभित्र पसेको भित्रैबाट देखेँ।
उपमाले झ्याम्म अंगालो हाल्दै 'कङ्ग्राचुलेशन मामु' भनी। फेरि उसको मामु शब्दले तरङ्गित भएँ। उहाँलाई एक नजर हेरेँ। हातमा लड्डुको प्याकेट अनि हँसिलो अनुहार। अनायासै उहाँसँग अंगालोमा बेरिएर रुन पुगेछु।
उहाँले सम्झाउनुभयो। 'देख्यौ मेहनतको फल कति मिठो हुन्छ?,' मेरा आँसु पुछिदिँदै भन्नुभयो, 'यी तिम्रा हर्षका आँसु हुन्, बग्न देऊ नरोक। चाहे पीडाका होस चाहे हर्षका आँसु, एकछिन बग्न दिनुपर्छ अनि मन शीतल हुन्छ।'
निकै खुसीसाथ सबैले खाना खायौँ। फेरि नानीबाबुको स्कुल अनि उहाँको अफिस। उपमा र उसको बाबालाई आजजस्तो खुसी मैले कहिले पनि देखेको थिइनँ। निकै मन रमायो मेरो पनि। न त उसले केही पाएकी थिई न त गुमाएकी नै तर पनि कति खुसी भएकी! उसको बाबा पनि सपना पूरा गर्न सफल भएकोमा मनमनै निकै प्रफुल्लित पाए।
दिनचर्या अब बदलिनेवाला थियो मेरो। घरमा भएको पसल बेचिदिएँ। अरु तयारीहरू गरेँ। अब ७ दिनभित्र अफिसमा हाजिर हुनुपर्ने थियो। अब सायद पहिलेजस्तो फुर्सद नमिल्ला भनी हामी ३ दिन छुट्टी मनाउन सौरहा जाने सल्लाह गर्यौं।
हामी दुई परिवार दुई तिर भए पनि एउटै घरका जस्तो भैसकेका थियौँ। तीन दिने बिदा मनाउँदाको अन्तिम दिनमा उहाँले मसँग फेरि केही समय एकान्तमा गफ गर्ने समय मिलाउन आग्रह गर्नुभयो। मैले मनमनै सोचेँ, अब उहाँले पक्कै कुनै प्रस्ताव राख्नुहुने होला।
मन चङ्गा जस्तो भयो। जे प्रस्ताव राखे पनि सहजै स्वीकार गरिदिउँ जस्तो भान भयो। तर मन सम्हालेर राखेँ। हतार देखाउन मन लागेन। सोअनुसार हामी बाहिर हिँड्दै-हिँड्दै गफ गर्ने भयौँ। तर कुराकानीको सुरुमै उहाँले आफ्नो अर्को एक अविवाहित केटीसँग प्रेम सम्बन्ध भएको जानकारी गराउनुभयो र दुवै जना बिहे गर्न तयार भएको तर छोरी नमानेको कुरा प्रष्ट पार्नुभयो।
म निशब्द भएँ। के भन्ने के, आँखाभरि आसु भरिएर आयो।
'प्लिज छोरीलाई सम्झाइदेऊ, तिमी बाहेक अरु कसैले सक्दैसक्दैन' भनेर बिन्ती बिसाउनुभयो।
मेरो मन अमिलो भयो। कता-कता मैले भित्रदेखि नै उहाँलाई एकोहोरो माया गरेको रहेछु जस्तो लाग्यो। नत्र किन मन अमिलिन पर्थ्यो र! सामान्य कुरा त हो। म टोलाइरहेँ, केही भन्न नै सकिनँ। उहाँले बेलिविस्तार लगाउनुभयो तर म केही थाहा नपाएजस्तो कुन संसारमा हराएछु।
उहाँले 'यति त गर्छेऊ नै है' भनि अलि चर्को स्वरमा भनेपछि भने झस्किएछु। हुन्छ निको भावमा मुन्टो हल्लाएँ। त्यो रात मलाई निद्रानै लागेन, छटपटी मात्र भयो। कता-कता के छुटेजस्तो अनि छोड्नुपरे जस्तो भयो। छिटो उज्यालो भए हुन्थयो जस्तो भयो।
उज्यालोसँगै हामी फर्किनेवाला थियौँ। बाटोभरि मेरो मूड अफ देखेर उपमाले भनी, 'मामु, किन तपाईंको अनुहारमा बादल लागेको? हामीसँगै हुँदा रमाइलो भएन कि मैले चित्त दुखाएँ? कि बाबाले केही भन्नुभयो? भन्नुस्।'
निकै कर गरेपछि भनेँ, 'छोरी, तिमी ज्ञानी छौ। निकै प्यारी पनि छौ। बाबाले भनेको सबै मान है!'
उसले एकै सासमा भनी, 'सबै कुरा मान्छु, एक कुरा म मरे पनि मान्दिनँ।'
सायद उसको एक कुरा त्यही थियो जुन मलाई समाधानको लागि उहाँले दिनुभएको थियो।
उपमा निकै घमण्ड देखाउँदै बाबासँग भनि, 'तपाईंले मामुलाई भनिसक्नु भयो होला बाबा यो कुरा है? तर म कहिले पनि यो कुरामा सहमत नै हुँदिनँ। मेरो इच्छा विपरीत तपाईं जाने भए जानू, म बरु कुनै अनाथ आश्रममा बसौँला तर त्यो केटीलाई मामु ज्यानजाला भन्दिनँ।
मामु कस्तो हुनुपर्छ, कसरी माया गर्नुपर्छ उपदेशको मामुसँग सिकिसकेँ मैले र अब उप्रान्त उहाँलाई नै मामु भन्छु बरु। अरु मेरो कुनै कुरा नसोध्नुस् र अरु कसैलाई छोरी सम्झाइदे भन्न पनि नजानू।'
उसको कुरा सुनेर मेरो एक मन खुसीले प्रफुल्ल भयो भने अर्को मन नैराश्यताले भरियो। उहाँको अनुहारका उही कालो बादल देखिरहेँ। अब हँसिलो मुहार त्यही केटीसँग बिहे भए मात्र देख्छु होला जस्तो लाग्यो।
उपदेश केही नबोली जो बोल्छ उसको मुखमा हेरिरह्यो। मैले घर फर्केपछि उनै नानीसँग भेटेर केही कुरा गर्छु अनि तपाईंलाई खबर गरौँला भनी उनको फोन नम्बर लिएर छुट्टियौँ हामी।
अर्को दिनमा उनलाई निकै समय फोन वार्तालापपछि मसँग भेट्न राजी बनाएँ। हामी एक क्याफेमा भेट्यौँ। उनी रिसाउँदो अनुहार लिएर आइन् अनि कर्कश आवाजमा भनिन्, 'भन्नुस् अव हजुरले म के-के गर्नुपर्छ? को-कोसँग भेट्नुपर्छ?' उल्टो मतिर नै प्रश्न तेर्साइन्।
मैलै विस्तारै सम्झाउँदै भनेँ, 'तिमी हेर्दा २५/२६ वर्षकी जस्ती छौ। उहाँको उमेर अलि बढी छ। त्यसमाथि छोरी पनि छ। तिमी अविवाहित, तिम्रो घरमा सहमत हुनुहुन्छ त?'
उनले भनिन्, 'मेरो निर्णय मैले नै गर्ने हो, अरु कोही पनि छैन अनि उहाँको पनि कोही नभएको भएर माया लागेर हो तर छोरीको कारणले छोड्नु पर्ला जस्तो छ।'
फेरि मैले भनेँ, 'उसो भए उहाँलाई नै बोलाएर सल्लाह गर्नुपर्यो। मैले पनि के भन्न सक्छु र?'
दुवैको निर्णयअनुसार उहाँ आउनुभयो र उनले उहाँलाई कि त छोरी कि त म रोज्नुस् भनिन्। मैले उहाँको मुख र उनको मुखमा हेरिरहेँ। एक बाबुको नाताले छोरी नै रोजे हुन्थ्यो जस्तो लाग्यो। तैपनि उहाँको स्वतन्त्रतालाई मैले चाहेर पनि केही गर्न सक्दिन थिएँ।
मेरो मनको कुरा सुनेझैँ नै उहाँले 'माफ गर मलाई, म छोरी छोड्न सक्दिनँ' भनि उनको मुखमा नहेरिकन सरासर बाटो लाग्नुभयो।
म के गरुँ, के भएँ। उनी छटपटाउँदै घरी मोबाइल थिच्थिन् त घरी आँखाभरि आँसु लिन्थिन्। मैले उनलाई सम्झाउन कोसिस गर्दै भनेँ, 'हेर, जीवनमा जो कोहीलाई माया गरिन्छ नि उसको हरेक दुःख, सुख, खुसी, हाँसो, परिवार, नाता सम्बन्ध सबैसँग उत्तिकै प्रेम हुनुपर्छ अनि विश्वास पनि उत्तिकै हुनुपर्छ।'
उनी रिसाउँदै उठेर गइन्। म पनि गह्रौ मन लिएर घर फर्किएँ। हिँडिरहेको बाटो नै फेर्नु परे जस्तो भयो। मन त आखिर मन थियो। माया र सम्मान उहाँलाई नै गरेको थिएँ, चाहेर पनि मनबाट हटाउन सकिनँ अनि चाहेर पनि मुख फोरेर भन्न सकिनँ। मनको कुरा मनमै रह्यो। अधुरै रह्यो।
उहाँ फेरि पहिलेको जस्तो बोल्न नै छाडिदिनु भयो। उपमाले मामु भन्थी, आन्टी भन भन्नु भएछ। ऊ पनि विस्तारै बदलिँदै गई। बाबाको निर्णयमा एकदमै रमाएकी ऊ मसँग पनि निकै रमाउँदै कुरा गर्छे। उसको मुहार सधैं यस्तै खुसी देख्न पाइयोस्, उपमा र उपदेशको सम्बन्ध सधैं एकनासको भइरहोस्।
यो पनि-
अस्पतालमा अंकुराएर अधुरो बनेको प्रेम