अब फेरि हाम्रो आँगन र गल्लीहरूमा
'धृतराष्ट्र'हरू बेशरम आउनेछन्।
ख्याल गर्नु
उनीहरू एक्लै आउने छैनन्।
उनीहरू 'दूर्योधन'हरूको लर्को लिएर आउन सक्छन्
दुशासन र शकुनीहरू लिएर आउन सक्छन्।
उनीहरूले अवश्य भन्नेछन्
हामी काविलको हातमा सत्ताको साँचो दिनेछौं
हाम्रो राज्यमा पट्टकै छलकपट हुने छैन
सबैको शिर सदैव उँचो हुनेछ
हामी हरेकको अस्मिताको रक्षा गर्नेछौं।
उनीहरूलाई पटक-पटक
'भरत'को इतिहास सोध्न नभुल्नू
जुवाखाल र द्रौपदीको चीरहरण कसले गर्यो?
'पाण्डु'हरूको अधिकार खोसिने उनीहरूको राज्यमा
भुइँमान्छेहरूको शिर कसरी उँचो हुन्छ?
सोध्न पट्टकै नडराउनू।
उनीहरूको शासनकालमा 'लाक्ष्यगृह'मा मान्छे जलेको
एक्लो 'अभिमन्यू'माथि सेनाहरू खनिएको
निर्दोष गुरू/आचार्यवरहरू मारिएको
सबैको कारण खोज्नू
दोषीले कति सजाय भुक्तान गर्यो?
सबैको उत्तर खोज्नू।
'महाराज'हरू सधैं
किन 'दूर्योधन'हरूलाई काखी च्याप्छन्?
'शकुनी'हरूलाई सुन्छन्?
'दुशासन'हरूका गल्तीमा आँखा चिम्लिन्छन्?
सबैको उत्तर मागेरै छोड्नू।
तिम्रा प्रश्नहरू सुनेर
उनीहरू अवश्य क्रोधित हुनेछन्।
र, सायद बोल्ने छन् बन्दुकको भाषा।
त्यो भीडमा तिम्रो आवाज बोल्ने
'विदुर'हरू नभेटिएलान्
छेउमा उभिएका 'भिष्म पितामह'हरू निरीह देखिएलान्
लज्जित 'द्रोणाचार्य'हरूको आँखा भुइँमा गाडिएको हुँदो हो।
आफ्नै आँखाबाट खसेर
'महाराज'हरूसँग आत्मसमर्पण गर्नु अघि
'दूर्योधन'को जत्थासँग मिसिएर हिँड्नु अघि
एकपटक चारै दिशा हेर्नू
तिम्रो रक्षाको लागि 'कृष्ण'को साथमा
कतै 'पाण्डव'हरू तिमी तिरै आइरहेका त छैनन्?