समयले सबै-सबै परिवर्तन गरिदिने रहेछ। समयलाई रोक्न सकिएन, समयले आफ्नो गति छोडेन, बस् चलिरह्यो तर अपसोच हामी समयसँगै चल्न सकेनौँ।
ऊसँग मैले लामो यात्रा सँगै हिँडछु भन्ने सोचेकी पनि थिइनँ। उसलाई मैले धेरै परसम्म सँगै लैजाऊ पनि भनेकी थिइनँ। ऊसँगको यात्रामा मैले मेरो गन्तव्य उसको साथ रहुन्जेलसम्मको मात्र मानेकी न थिएँ। के थाहा उसले बेवारिसे अवस्थामा छोडिदिन्छ भन्ने।
यो परिस्थिति आउला कसले सोच्यो र? उसको मेरो सम्बन्ध कुनै नाम दिएर सुरु भएन। हामीले एकअर्कालाई प्रेम गर्यौं तर प्रेमी थिएनौं। हामीलाई एकअर्काको बानी लागेको थियो तर हामी एकदिन एकछिन पनि सँगै रहेनौँ।
के लाग्छ? व्याख्या नगरी, सम्बन्धको नाम नराखी, सम्बन्ध कायम गरी सम्बन्ध जोगाउन सकिन्छ? सकिँदो रहेछ। मैले जोगाएँ, उसले जोगायो। तर परिस्थितिले सम्बन्धको अस्तित्व निभाइदियो।
हामी बीचमा निकै प्रेम थियो। उसले कस्तो प्रेम गर्यो थाहा छैन, मैले सकेजति गरेँ। मैले त सर्वश्व अब उही हो भनी बसेँ। मैले कुनै पनि दिन उसलाई मन नपर्ने काम गरिनँ। उसलाई मन नपर्ने साथीको संगत गरिनँ। मन नपर्ने ठाउँ गइनँ। उसले भनेजस्तै गरी आफूसँग मात्र सीमित रहेँ।
उसले मलाई एउटा घेरोभित्र रहेर बस्न सिकायो। मैले सबै-सबै भुलेर ऊ मात्र देख्न थालेँ। मैले त उसको हातले सिउँदोसम्म सजाउने सपना देख्न थालेँ। उसले पनि रङ्गाउने सपना देख्न थाल्यो। उसले गर्ने मायालाई मैले मेरो तागत ठानेँ, उसले गर्ने सहयोगलाई मैले आफ्नो लक्ष्यको बलियो आधार मानेँ।
मैले जीवनमा धेरै कुरा ऊबाट पाएँ। मैले ऊबाट आफूलाई गलत संगतबाट बचाएँ। धेरै कुरा पाएँ तर मैले जुन कुरा उसलाई भेटेको दिनदेखि चाहेँ, त्यो मैले पाउन सकिनँ। मैले उसलाई अथाह प्रेम गरेकी थिएँ। मलाई त उसको अनुहारमा खुलेआम खुसीले प्रेम गरेको मन पर्थ्यो।
जुन खुसीमा म रमाउन सक्थेँ, यो प्रेम बढो अचम्मको चिज रहेछ! कसैको साथले संसार जित्न सकिने, त्यही साथले संसार समाप्तिमा समेत पुर्याइदिने! उसले मप्रतिको प्रेमलाई शब्दमा कहिल्यै पनि प्रस्तुत गरेन। उसको व्यवहारलाई प्रेम गरेको सम्झिरहेँ मैले।
उसले मलाई कहिल्यै खुला हृदय गरेर मेरो बयान गरेन। मेरा आँखामा हेरेर प्रेमका भावहरू छताछुल्ल हुने गरी भावना पोखेन। उसले मलाई कहिल्यै प्रेमिकाजस्तै गरेर प्रेम गरेन। उसले मलाई मात्र प्रेम गर्यो तर प्रेमको नाम दिएन।
मैले ऊसँग जीवनको अमूल्य ५ वर्ष बिताएँ। ऊ मलाई कहिल्यै खुला आकाशमुनि राखेर प्रेमका, भावनाका कुरा गरेन। ऊ व्यवहारिक थियो, जिम्मेवार छोरो थियो तर ऊ जिम्मेवार प्रेमी थिएन।
उसले मलाई कहिल्यै हात समातेर छातीमा टाँसेर प्रेमका कथा सुनाएन। उसले कहिल्यै मेरो कपाल सुमसुमाएन। प्रेमिल भाषामा कहिल्यै मलाई प्रेमका शब्दले सम्बोधन गरेन। तर यति हुँदाहुँदै दुवैमा औधी प्रेम थियो भन्न मिल्छ? मिल्दो रहेछ, हो हामीमा थियो। हामी एकअर्कालाई कहिल्यै प्रेमी-प्रेमिकाको नाम दिएनौँ तर हामी असाध्यै प्रेममा थियौँ।
उसको साना कुराहरूमा, उसको सानो सन्देशमा प्रेम पाउँथेँ भन्ने म भ्रममा थिएँ? होइन, पर्खनुस्। म वास्तविकताको कथामा बल्ल पुगेँ। हामी एउटै पाठशालाका विद्यार्थी थियौँ। मलाई कसैको मन नदुखाउँ भनेर नैतिक ज्ञान दिने किताबले किन उसलाई दिन सकेन होला?
धोका दिँदा धोका पाइन्छ भन्ने ज्ञान किन पाएन होला उसले? सामाजिक सञ्जालले हामीमा निकटता ल्याउनमा ठूलो भूमिका निभाइरहेको थियो। मैले उसलाई किन विश्वास गरेँ? दुवैको आमाको आशीर्वाद र संस्कारले धोका दिन सिकाएको छैन भन्ने मैले विश्वास गरेँ। त्यसैले उसलाई मैले पनि विश्वास गरेँ।
विस्तारै चिन्दै गयौँ, एकअर्काप्रति प्रेम बढ्दै गयो। म भर्खर ११ पढेकी थिएँ, ऊ १२। हामी बिर्गाने, सप्रिने, संगतको असर पर्ने, सबै यही उमेरमा हुने रहेछ। हामी एअर्कालाई भेट्न डराउँथ्यौं। हामी टाढाबाट हेरेरै भाव बुझेर आफ्नो भावना शब्दमा पोख्थ्यौँ।
हामीले एअर्कालाई कहिल्यै नजिक बसेर स्पर्श गरेनौँ। हामी प्रेमका कुरा कम, घरको व्यवहारिक कुरा ज्यादा गर्थ्यौं। मैले फेरि दोहोर्याएँ, ऊ जिम्मेवार छोरा, दाजु थियो तर जिम्मेवार प्रेमी थिएन। मैले ऊबाट धेरै आशा गर्दिन थिएँ।
मैले मेरा र उसका जीवनका अप्ठ्यारा यात्रामा सहयात्री भई गन्तव्यमा पुग्न सहयोग होस् चाहन्थेँ तर त्यो आशा निराशामा परिणत भयो। म चाहन्थेँ कि केही फरक गर्न सकुँ र दुवैलाई उदाहरणका रूपमा दुनियाँले चिनून्। म उसको साथले संसार जित्न सक्ने क्षमता राख्थेँ।
मैले आफ्नो मात्र बारेमा कहिल्यै सोचिनँ, दुवैको सन्तुलित भविष्य होस् चाहन्थेँ। मैले मेरा रहरहरू फेरेँ। आफ्नो सहरलाई सपनाको सहर मान्न सकिन्न। मैले रहरका खेती गर्न थालेँ, मैले सहर फेरेँ तर उसलाई गर्ने यो प्रेम र ऊप्रतिको भावना उसलाई गर्ने विश्वास फेर्न सकिनँ।
उसले मलाई मेरो रहरको सहरसम्म पुग्न रोकेन। उसले मलाई गह्रुंगो मन र रसिला आँखाले बिदाइ पक्कै गरेको थियो तर ती रसिला आँखाका पानी र गह्रुंगो मनको बोझ बिसाउन अरु कसैको सहारा लिएर मेरो स्थान परिवर्तन गर्ला, मैले कहिल्यै कल्पना समेत गरिनँ।
सोचेको जस्तो नहुँदो रहेछ सपनाको सहर। अझ सपनालाई हकिगतमा बदल्न आँट दिनेले लत्याइदिएपछि यात्रा निकै कष्टकर बन्दै जाँदो रहेछ।
हिम्मत थियो ममा एक्लै गन्तव्यमा पुग्ने र पुगेँ। मैले यो यात्रामा के-के पाएँ, के-के गुमाएँ भन्ने त लेखाजोखा नै रहेन। मैले पाएका चीजहरू गुमाएका भन्दा कम मूल्यका छैनन्।
उसले मलाई बढो अचम्मसँग जीवन यात्राको प्रस्ताव गर्यो। मैले रहरका सहरमा भौतरिरहँदा सँगै जीवन जिउने प्रस्तावलाई तत्कालै स्वीकार्न नसक्ने अवस्थामा थिएँ। दुई-दुई वटा गन्तव्य एकै पटक बिल्कुल सम्भव थिएन।
मैले उसलाई केही वर्षको समय माग गरेँ तर त्यो व्यर्थ रह्यो। उसले मलाई पर्खन सकेन, मैले उसलाई पछ्याउन सकिनँ। मैले रहरका सहरमा एक्लै संघर्ष गरिरहेँ। मैले मेरो लागि मात्र बिल्कुल गरेकी थिइनँ, मैले त दुई परिवारको नाम राख्छु भन्ने सम्मको आँट विश्वास लिएर अगाडि बढिरहेँ।
उसलाई मेरो संघर्षको यात्रामा किन साथ रहन मन लागेन, मैले बुझिनँ। उसले रहर फेर्यो, मैले लेख्ने शब्दले अब उसलाई भाव दिँदैन थियो। मेरा आवाजमा मिठास भेट्दैन थियो। मेरो साथले उसलाई अब अघिसम्म जाने हिममत दिँदैनथ्यो।
हामीबीच मनमुटाव कहाँबाट सुरु भयो मैले थाहै पाइनँ। उसलाई चाहना नै थिएन या ऊ बहाना खोजिरहेको थियो, मैले जानिनँ। हामीमा शंका उपशंकाको ठूलो भूमरीमा पर्यौं। उसले मलाई अब विश्वास गरेन, न मैले उसलाई।
उसले मलाई अचानक भन्यो- 'घरमा आमालाई भन्नू बिहे गर्दिनू भनेर! मेरो घरमा विवाहको कुरा चलिरहेको छ, अब मैले परिवारलाई रोक्न सक्दिनँ।'
अचम्ममा परेँ। म त भर्खरै रहरको गन्तव्यमा पाइला राखेकी थिएँ। सानो संघर्षले आएकी थिइनँ। मलाई यस सहरमा पाइला राख्न निकै चुनौति थियो। मैले आफूले रोजेको गन्तब्यमा परिवारले विश्वास नगरेर मेरा पाइला परिवारदेखि नै रोक्न कोसिस गरिएको थियो तर पनि मैले आफ्नो जिद्दीपनले पाइला अगाडि बढाइरहेँ।
मलाई मेरो गन्तब्यको अन्तिम बिन्दुमा नपुगी ऊसँगको जीवन यात्रा बिल्कुल मन्जुर थिएन। मैले उसलाई तिम्रो प्रस्तावभन्दा मेरो रहरको गन्तव्यमा पुग्नु जरुरी छ भनेर वाक्य टुङगाएँ। मलाई उसका कुनै पनि कुरा ले फरक नपर्ने भनि उसलाई सहज बिदा गरिदिएँ।
मलाई थाहा थिएन त्यो विदाइले मलाई यति धेरै फरक पार्छ भनेर। बाँच्नलाई सास मात्र काफी रहेनछ। रहर, साथ र आँट समेत चाहिने रहेछ। उसले नयाँ जीवन सुरु गर्यो, उसले जीवन जिएको छ/छैन मलाई थाहा छैन तर मैले जीवन जिउन बिर्सेकी थिएँ केही समय। अहिले म जीवन बढो सन्तुष्टिका साथ बिताइरहेकी छु।
आज मेरो रहरको गन्तव्यमा छु, ऊ कसैको साथमा जीवनको गन्तव्यमा। ऊ आज कसैको सिउँदोमा सजिएको छ, म आफ्नो लक्ष्यको आँगनमा रंगहरू छरिरहेकी छु। ऊ कसैको श्रृंगार बनेको छ, कसैको शिरमा सजिएको छ। म आफूले आफैलाई रंगाइरहेकी छु।
विश्वास गर, तिमीले अरु कसैलाई लगाइदिएको सिन्दुरको इज्जत गर्न मैले जनेकी छु। त्यो तिमीले लगाइदिएको सिन्दुरमा मेरा आँखा पर्ने छैनन। मैले तिमीलाई बेहिसाबले माया गर्छु तर त्योभन्दा बढी तिमी सजिएको त्यो सिउँदोको।
तिमीले गन्तव्य मोडेपछि, म पनि मोडिन बाध्य भएँ। आज पनि मैले तिम्रो लागि सधैँ खुसी, सुख र सन्तुष्टिको जीवन रहोस् भनेर कामना गर्छु। जीवनमा छोडिएका बहुमूल्य कुराहरू मध्ये असाध्यै बहुमूल्य तिमी थियौ तर मलाई अब तिमी छोडिनुमा कुनै गुनासो छैन। मैले अब तिमीबिना जीवन सजाउन जानेकी छु।
मैले पहिले भनेकी छु, तिमीसँग मैले लामो यात्राको आश गरेकी होइनँ। तिम्रो साथ जहाँ सकिन्छ, उही मेरो गन्तव्य रहन्छ भनेर। मलाई गुनासो छैन तिमी अरूमा सजिनुमा, मलाई त बढो खुसी छ तिमी कसैको श्रृङ्गार बनेर बाँचिरहेछौ।
आज मैले नयाँ जीवन सुरु गर्न केहीले रोक्ने छैन। म आजाद छु। म आफूले रोजेको गन्तव्यमा छु। मेरा लागि त्योभन्दा ठूलो उपलब्धि अरु हुनै सक्दैन। म आफूले आफूलाई रङ्गाउने सामर्थ्य राख्छु भने योभन्दा ठूलो उपलब्धि अरु के हुन सक्ला?
तिमीले कुर्न नसकेका वर्षहरूले मलाई मेरो गन्तव्यमा पुग्न अझ बढी हिम्मत दियो। म तिम्रो अभावले कति पनि ढलपल गरिनँ। मेरा पाइला पक्कै डगमगाए तर म लडिनँ। मेरा रहरहरू तिम्रो साथभन्दा बलिया रहेछन्। तिम्रो हातबाट रङ्गिएको सिउँदोजस्तै बलियो छ मेरो रहरको सहर।
तिमी तिमीले सजाएको सिउँदोको कदर गर्नू, म मेरो रहर र उपलब्धिको कदर गर्छु। तिमीलाई मैले प्रेम गर्न म तिम्रो प्रेमी बन्नु पर्दैन न तिमीलाई बन्नुपर्छ।
तिमीले तिम्रो सिमाना बुझ्नू, म नैतिकताको घेरामा बस्छु। अथाह प्रेम अझै गर्छु तर अब तिमीलाई होइन, म मेरो सहयात्रीलाई गर्छु। तिमी पनि उस्तै प्रेम गर्नू। मलाई होइन, तिमीले रङ्गाएको सिउँदोलाई।