ब्रेक रुममा आएपछि मिस्कल गरूँ जस्तो लाग्यो, म फ्री भएँ भन्ने जानकारीका लागि तर एकछिन अकमकिएँ। मिस्कल गरेँ भने ब्युँझेर अनलाइन आउँछिन्। कुरा गरिन्छ।
हुन त उनको आवाज सुनेर चरी चिर्बिराउँछ। उनको तस्बिर हेरेर घाम उदाउँछ। मेरो सम्पूर्ण दिनको उदय उनको मुस्कानबाट हुन्छ तर यो मोह जालको संसारमा उभिएको मानिस हुँ। भित्र कहीँ न कतै लोभ छ। मोह छ। ईर्ष्या छ। त्यसैले मिस्कल नगरी एकछिन सञ्जालतिर चियोचर्चो गर्छु भनी फेसबुक खोलेँ।
फेसबुकको वालमा त उनी नै रहिछन्।
'गुड मर्निङ' भनेर लेखिएको स्ट्याटस थियो। २७ मिनेटअघि पोस्ट गरिएको स्ट्याटसलाई रिफ्रेस गरेर हेरेँ। लाइक कमेन्ट गर्ने कोही थिएनन्। होउन् पनि कसरी? पहिलो लाइककर्ता, पहिलो कमेन्टकर्ता, उसको जीवनको हककर्ता कामबाट आइपुगेको छ ब्रेक रुममा।
आफ्नाहरूका फोटो र स्ट्याटसमुनि 'आई लभ यू' भन्ने जोडीहरू कति देखिन्छन् कति सञ्जालमा तर उनलाई र मलाई यो देखाउनु छैन। स्ट्याटस पढेर खुसी-खुसी हुँदै उनलाई खोजेँ। झुक्किएर पुनः नाममा थिचेँ। वाल खुल्यो। मेसेजको बटनमा थिचेँ र लेखेँ- 'गुड मर्निङ क्युटी।'
आहार पर्खेर बसेको सिंहले आहार झम्टेजस्तो गरी उनले पनि रिप्लाई लेखिन्- 'मर्निङ हिरो।'
बिहानै हो, कामबाट थाकेर ब्रेक आएको हुँ तर क्या रोमान्टिक मोडमा अडेस लाइयो।
फेरि लेखिन्, 'आराम होइसिन्छ?'
मानौँ छुटेको वर्षौं भएको हो। यस्तै लाग्ने गरी लेखिन्। पहिलो ब्रेकमै हो 'सुत्छु, निद लाग्यो' भनेपछि डिजिटल स्टिकरले थपथपाएर सुताएको। चार घण्टा मात्रै भएको हो टाढा रहेको। यस बीचमा थुप्रै प्रगति भएका थिए जसरी उनले सोधिन्।
प्रश्नोत्तरको प्रतिप्रश्न गरेँ।
बाबा, आराम हुनुहुन्छ नि?
यति चाँडो निद खुलेको त? सुत्नु नि।
पुनः लेखेँ, 'म त एकदम ठिक छु। काममा छु। ब्रेकमा भर्खर आएँ।'
टकटकटक कराइरहेको थियो मेसेन्जर एप्लिकेसन फ्याट्ट मेसेज आयो, 'आज भतिज पनि छ है!'
मैले उनको मेसेजको इसारा बुझेँ र लेखेँ, 'ओके।'
लेखिन्, 'खाजा/खाना?'
अचेल कोठा पुग्ने बित्तिकै 'पानी कि सर्बत' भनेर मेसेज लेख्छिन्। थाकेँ भनुँ भने 'मालिस गरिदिऊँ?' भन्छिन्। निद लाग्यो भनुँ भने 'काख पर्खिराछ' भन्छिन्।
मलाई थाहा छ, यति धेरै प्रेमिल बनाउनु र बन्नुको राज।
मङ्सिर आउँदो छ। डर आ-आफ्नो ठाउँमा दुवैलाई छ। र पनि हिँड्नु छ सैंसाथेको विवाहमा। त्यसका लागि चाहिन्छ परदेशी दक्षिणा। उनी दक्षिणा लिने वर्गकी त हैनन् तर उनी मेरो जीवनकै बैंक खाता भने हुन्।
१८ हजार कमाएर सत्र हजारको मेरो बैंक लोन तिर्छिन्। सत्र हजार तिरिदिए बापत फेरि मैले तीन बिसा बुझाउनुपर्छ। त्यो उनको सूत्र हो। कहिलेकाहीँ त खानाको पैसा म्यानेज गर्नुपर्छ।
लेखेँ, 'हजुर सुत्नू। तिमीलाई सुताएपछि खाना खाएर निस्केको हुँ। थ्यांक यू है रोजाइ, स्वीट एण्ड टेस्टी करीको लागि!'
ए साँच्ची सानी हैन तर आफ्नीलाई सानै लाग्ने।
'भिडभाडमा जमघट कम गर्नू है, फुर्सदमा मजाले घरमै बसेर लेखपढ गर्नू।'
यसपालि रोमनमा मेसेज आयो, 'म एउटा आर्टिकल लेखौँ भनेर।'
अध्ययन र तर्क बलियो छ उनको। लेख्न हौसला दिइरहन्छु तर मैले भनेको काम उल्टो गर्नु या नगर्नु उनको यो जन्मको धर्म हो। लेख्नू भनेपछि सिधैँ लेख्दिनँ भन्छिन्। लेख्ने मान्छे हुँ आज कविता लेखेँ सुनाऊँ भन्दा सुन्दिनँ भन्छिन्। तर उनी नै हुन् पहिलो श्रोता। उनले नै सोध्छिन्- 'खै त कविता?'
साह्रै केयर गर्न मन लाग्ने मान्छे। फेरि लेखेँ, 'उठी हाल्नु भो, नसुत्नोस् अब। यस्तो समयमा उठ्नु गज्जब हो। यसो गर्नु मजाले ध्यानमा करिब बिस मिनट मोर डुबेर लेख्न थाल्नू!'
खङ्ग्रङ्ग तर्से झैँ गरी लेखिन्, 'मलाई नै भनिसेको?'
लेखेँ, 'नाइँ एउटा मानिसलाई।'
एकछिन दुवै चुप रह्यौँ। मेसेन्जरमा टकटकटक आवाज नआइकन मेसेज आयो। मेसेजमा फोटो थियो।
('डियर,
यस्तै क्युट, बौद्धिक, निडर र लेखकीय रहनू।
महिलाको सुन्दरताको प्रशंसा गरिनुलाई फरक वा गलत अर्थबाट बुझिन्छ हाम्रो समाजमा। म पनि यही समाजको एक सदस्य हुँ।
डियर!
यस्तै क्युट, बौद्धिक, निडर र लेखकीय रहनू। क्या क्युट के!')
उनको तस्बिर बिहानै दर्शन पाएपछि पहिलोपटक भेटमा तारिफ गरेका शब्दहरू उसैगरी नै सम्झेँ।
कम्प्युटरको स्क्रीनको फोटो पनि पठाइन्। लेखको शीर्षक थियो।
भए गरेका तत्कालको कामको फोटो पठाउन, स्क्रीनसट पठाउन उनी माहिर हुन्। मलाई श्रीमान्-श्रीमती नै भइकन पनि आआफ्नो गोपनीयता सुरक्षित राखेको मनपर्छ तर हामीमै यो कुरा लागु हुन्न। म उस्तै, उनी उस्तै।
लेखेँ, 'अल द बेस्ट डियर, ल नरोकिइकन लेखिसक्नू र पढ्ने।'
वाह! गलबन्दी।
उनको ताजा तस्बिर एकनास हेरेँ।
कस्तो जाडो छ है भन्दै अँगालोमा बेस्सरी कसूँ लाग्ने। अङ्कमाल गरेको स्टिकर पठाएँ। लेखेँ, 'मैले तस्बिरमा दुई जना देखेँ। एउटा मानिस अर्को मानिस भित्रको अर्को मानिस अर्थात् 'म'।
बज्यैलाई पुछार घरकी चस्मे बुडी भन्थे। उस्तै लाग्ने ठूला-ठूला चस्मा, गलबन्दीले बेरेकी, लुकी-लुकी हेरे झैँ लाग्ने तस्बिरले मोहित बनायो बिहानै। उसो पुछार घरको बुहारी भनेर चिनिइन् आमा। अब उनको पालो हो पुछार घरे नातिनी बुहारी। समय ब्रह्म मूर्हुतको हो, वैराग्यताको हो, शून्यताको हो, गहिरो ध्यान साधनाको हो तर म रोमान्टिक बनिरहेँ।
उनी लेख्न थालिन्। म पनि उनीसँगको यही संवाद लेख्न थालेँ।
मलाई उनको शीर्षकले तानेको छ। हेरौँ उनको लेख कस्तो आउँछ। जे आउँछ, म आउँछु, उनी आउँछिन्, हामी र हाम्रो अनुभूति आउँछ।
मैले स्ट्याटस लेखिसकेँ, पोस्ट गरेँ।
उनले पनि आर्टिकल लेखिसकेँ भनेर डकुमेन्ट फाइल पठाइन्।
उनी मेरो लेख पढ्दै छिन्, म उनको। जे होस् चाहे सुख, चाहे दुःख दुवैलाई एकै होस्। जीवनमा यस्तै बुझाइ होस्। सहकार्य होस्। यस्तै प्रेम होस्। जीवनमा केही नभएर नि बेहद आनन्द होस्।
लभ यू प्रिय नू, लब यू महारानी।