थाहा छैन गुमाउन लायक
त्यस्तो के चाहिँ चिज मसँग छ
फेरि पनि एक मुठ्ठी सपना
आफ्नो खोकिलोभित्र लुकाउने
सधैं निम्छरो प्रयास गरिरहेकै हुन्छु
यी जुनकिरीजस्तै सपनाहरू
न कतै अपहरणमा पर्ने हुन् कि
या कुनै पापीले चोरिदिने हो
न यसको कसैले हत्या गरिदिन्छ कि
वा कुनै षड्यन्त्रको भूमरीमा पो जाकिदिने हो
कल्पनाहरू पनि आफै कल्पनाभित्र रुमल्लिरहे जस्तै
विचारहरूले डरको रुप धारण गरी
हरवक्त मस्तिष्कभित्र घुमिरहेकै हुन्छ
कहिलेकाहीँ यात्रा गरिरहँदा
टाढा, धेरै टाढा कुनै विशाल फाँटमा उभिएर
नियालिरहेको हुन्छु यस अस्तित्वलाई
आँखाले देख्नेभन्दा पनि धेरै पर
देखिरहेको हुन्छु एकसाथ घुमिरहेका खर्बौं पृथ्वीहरूलाई
यस पृथ्वीमा मान्छेहरू जुधेजस्तै
उनीहरू पनि जुधिरहेका हुन्छन् एकअर्कासँग
कहिले एकले अर्कोलाई सलक्क निलिदिन्छ
कहिलेकाहीँ एकले अर्कोको शरीर कोपरिदिन्छ
कोही-कोही त झगडा गरेर वर्षौं बोलचाल बन्द गर्छन्
कोही एकअर्का विरुद्ध षड्यन्त्र रचेर
महाभूमरीमा फसाउने प्रयास गरिरहेका हुन्छन्
अनि म हाँस्छु, खित्का छाडेर हाँस्छु
लाग्छ सारा अस्तित्व त्यहीँ खेल खेलिरहेछ
म त जाबो मान्छे।