म आफ्नै काममा व्यस्त थिएँ, अचानक चर्को होहल्ला सुनेँ। म ढोकामा उभिन पुगेँ। उनी रुँदै विस्तारै झरिन् र 'म गाको ल, अब कहिल्यै आउदिनँ' भनिन्।
मेरा आँखाबाट अचानक असिना बर्सिए झैँ आँसुका ढिका खस्न थालिसकेछन्। मैले 'हस्' सम्म भन्न सकिनँ।
भक्कानिँदै भनेँ, 'मसँग नरिसाउनू है कहिल्यै पनि!'
उनले मेरो प्रश्नको प्रत्युत्तरमा 'हस्, तिमी पनि नरिसाऊ ल अनि मैले तिमीलाई केही भनेकी छैन। यहाँ कसैको कुरा सुनेर मलाई नराम्रो नभन्नू है!'
यत्तिकैमा म बोल्न सकिनँ, उनी विस्तारै आफ्नी बहिनीको हात समाएर गेटबाट बाहिर गइन्। म उनी गएको हेरिरहेँ। जब उनलाई देखिनँ, आँखा चिम्लिएर एकैछिन बेहोस भए झैँ भएँ।
काठमाडौंमा बसोबास गर्न थालेको झण्डै तीन वर्ष पूरा भएछ। तीन वर्षमा करिब दुई ठाउँमा बसोबास गरेँ। पेप्सिकोलामा बस्दा विभिन्न समस्याका कारण म कोठा सर्न बाध्य भएकी थिएँ।
पढ्ने योजना बुनिरहेकी म कलेज भर्ना गरिसकेकी थिएँ। नयाँ घरमा मलाई त्यहाँका मान्छेको चालचलन, रीतिथीति र सम्पूर्ण अवस्थाको बारेमा केही थाहा थिएन। दाइ, भाउजू र म हामीसँगै बस्थ्यौं। जहाँ बसोबास गरे पनि बाहिरी मान्छेसँग म खासै धेरै नबोल्ने हुनाले करिब एक हप्तासम्म त घरबेटी चिन्नै सकेको थिइनँ।
एकदिन कपडा सुकाउन छतमा गएकी थिएँ। त्यहाँ बसेकी थिइन् घरबेटीकी बुहारी अर्थात् रमिता दिदी। उनलाई म दिदी भनेर सम्बोधन गर्थे|। घरबेटी अंकल, अन्टी अनि उनका श्रीमानलाई चाहिँ अमित दाइ भनेर बोल्ने गर्थें म।
उनी र मबीच परिचय भयो। उनकी सासू र श्रीमान जागिरे हुनुहुँदो रहेछ। ससुरा र बुहारी घरमै बस्नु हुँदो रहेछ। उनी पनि जागिर खोजेर गर्ने सोचमा रहेछिन्।
यसो बाहिरबाट हेर्दा साह्रै राम्रो परिवारजस्तो लाग्ने अनि शिक्षित पनि। 'सानो परिवार सुखी, खुसी र शिक्षित परिवार रहेछ नि है?' मैले एकदिन उनीसँग भनेकी थिएँ।
उनले यो प्रश्नको उत्तर फरक तरिकाले दिएकी थिइन्- 'बाहिर जे देखिन्छ त्यो भित्र देखिन गाह्रो हुन्छ नानी।'
मैले शङ्कास्पद प्रश्न गरेँ, 'किन सन्तुष्ट देखिनुहुन्न नि तपाईं?'
'म कसरी भनौं? विस्तारै भनौंला। बरु एउटा कुरा भन्छु नि ल?'
मैले हुन्छ भनेँ।
'म दिनभर एक्लै हुन्छु, तिमी मेरो साथी बन है!'
मेरो पनि खासै साथी थिएनन्। मलाई उनको प्रस्ताव राम्रो लाग्यो। मैले नम्र स्वरमा हस् भनेकी थिएँ।
त्यसपछि हामी साथी-साथी जस्तै भयौं। म कलेजबाट कोठामा जान्थेँ। उनी पनि फुर्सदमै हुन्थिन्। कहिले उनकोमा बस्ने, कहिले मेरै रुममा बस्ने हामी एकार्काको राम्रो साथी भैसकेका थियौँ।
विस्तारै मैले थाहा पाएँ, उनी र उनका श्रीमानबीच रुचि, अभिरुचि, लक्ष्य, खानपान र व्यवहार नै मिल्दोरहेनछ। विवाह भएको करिब छ महिनामै सम्बन्धमा दरार आउन थालिसकेको रहेछ। उनीहरूको घरपरिवारको सल्लाहअनुसार मागी विवाह भएको रहेछ।
बाहिरबाट हेर्दा शारीरिक रुपमा तन्दुरुस्त अनि असल देखिने अमित दाइ आफ्नी श्रीमतीसँग भने आफ्नो पुरुषत्व गलत रुपमा प्रयोग गर्दा रहेछन्। बिएड गर्दै गरेकी रमिता दिदीको हरेक क्रियाकलापसँग उनी सन्तुष्ट रहेनछन्।
पढ्दै गरेकी उनी कोही साथीसँग बोल्न नहुने। कसैको फोन, मेसेज आउन नहुने। सामाजिक संजालमा कसैको फोटो हाल्न नहुने, साथीभाइबीच रामाइलो गर्न नहुने ओहो! अमित दाइ ढुङ्गे युगकै हुनुपर्छ जस्तो व्यवहार गर्ने रहेछन्।
भनिन्छ नि, कोही मान्छे मन नपर्ने बित्तिकै उसका जतिसुकै राम्रा कामहरू पनि चित्त बुझ्न गाह्रो हुन्छ भनेर। आखिर त्यही थियो त्यहाँ पनि। अमित दाइलाई रमिता दिदीले न बोलेको मनपर्छ न हिँडेको, खाएको, बसेको, हाँसेको। केही मन नपर्ने!
अमित दाइ र रमिता दिदीको दिनदिनै झगडा पर्दोरहेछ। मानौं कि उनीहरू एक दम्पती होइनन्। उनीहरू एक प्रतिस्पर्धि हुन्, दुश्मन हुन्। विवाद मात्र होइन, अनावश्यक कुरामा अमित दाइले दिदीलाई कुटपिट पनि गर्नुहुँदो रहेछ! फुर्सदको समयमा साथीहरूसँग बोलेकै भरमा दाइले त्यो रात मरनासन्न हुने गरी दिदीलाइ कुट्नुभएको रहेछ।
दिदीले बेलुका नै आफ्नी बहिनीलाई बोलाउन खोज्दा मोबाइल खोसेर ढोका थुनेर राखिएको रहेछ। बिहान उज्यालो भएपछि मोबाइल दिनुभएछ। उनले फोन गरेपछि उनकी बहिनी एकाबिहानै त्यहाँ आएकी रहेछिन्। घटनाले तीव्र रुप लिएपछि उनीहरू सम्भवत डिभोर्स गरेर अलग्गिने निर्णय गर्न बाध्य भएका थिए।