पीरको तीरले पिरेर
बसिरहँदा अभावको पिर्कामा
म तिमीसँगै छु भन्नु
तिम्रा लागि केही शब्द मात्र होलान्
मेरा लागि पैतालाको काँडा
झिकिनु जस्तै हो
मेरो विश्वास टुटेका बेला
आफैसँग हारेका बेला
म तिमीसँगै छु भन्नु
तिम्रा लागि केही शब्द मात्र होलान्
मेरा लागि गलामा परिसकेको पासो
चुँडिनु जस्तै हो
उड्दा-उड्दै फतक्क
मन गलेर भुइँमा पछारिँदा
म तिमीसँगै छु भन्नु
तिम्रा लागि केही शब्द मात्र होलान्
मेरा लागि फेरि उडान भर्ने
तागत भरिनु जस्तै हो
म आफ्नै पीडामा
उदास बनी बस्दा समस्याको पिँढीमा
म तिमीसँगै छु भन्नु
तिम्रा लागि केही शब्द मात्र होलान्
मेरा लागि पिँजडाको चरा
बाहिर निस्कन पाउनु जस्तै हो।