बलेसीमा घामका किरणहरू आउन नपाउँदै पल्लो घरकी दिदीका नजर आइपुग्छन्।
छटपटीमै बितेका उनका रातहरू। श्रीमान प्रदेश लागेपछि शान्ति एक्लै हुन्छिन्। घरमा दुई महिनाको छोरो छोडेर रामु प्रदेश गएका हुन्।
छिमेकी दिदीकी छोरी र शान्तिको छोरो सँगै जन्मेका हुन्। परिवारमा धेरै दिदी-बहिनीको एउटा भाइ शान्तिको छोरो थियो। उनीहरूको पहिलो सन्तान। घरमा एउटा रौनक छाएको थियो। आमाबुवाको नाम मिलाएर उसको नाम शान्तिराम राखेका थिए।
शान्तिराम सानैदेखि ज्ञानी थियो। अघाउने गरी खान पाएपछि ढुक्कले निदाउने गर्थ्यो। दिनदिनै समय बित्दै गयो। प्रसवको पीडा निको भैसकेको थियो। लामो प्रसव वेदनापछि औजारको सहयोगले शान्तिराम जन्मिएको थियो। गाउँमा स्वास्थ्यचौकी भए नि उनीहरूलाई गर्भपूर्व कुनै ज्ञान थिएन। आफ्नो स्वास्थ्य परीक्षण गराउनु पर्छ। आफू गर्भवती हुनु पूर्वको तयारी केही थाहा थिएन।
विवाह दर्ता गराउन जाँदा वडा कार्यालयबाट बधाई कार्ड पाउँदा निकै लजाएका थिए। जमाना अहिलेको थियो, समाज पहिलेकोमा हुर्किएकी शान्ति। त्यो कार्ड अरूले देख्लान् भनी आगो बालिदिन।
बिहेपछिका दिनहरू रमाइलै भएर बिते। आर्थिक अभाव भए नि मनमा शान्ति थियो। एकदिन शान्तिलाई बिहानै बान्ता होला झैँ भयो। उनले सम्झिन नयाँ घरमा मलाई ग्यास्ट्रिक बढ्यो। यो क्रम दिनदिनै बढ्दै गयो। आज निको हुन्छ छैन, भोलि निको हुन्छ छैन।
यसरी एक महिना बित्यो। एकदिन छिमेकी दिदीले देख्नु भएछ। शान्तिले आफ्नो गुनासो पोखिन्। आफू बिरामी भएको कुरा गरिन्।
छिमेकी दिदी पनि गर्भवती हुनुहुन्थ्यो। यो बेला फोलिक एसिड खाँदै हुनुहुन्थ्यो। एकदिन छिमेकी दिदीको सहयोगमा स्वास्थ्य चौकी गइन्। सबै कुरा बताएपछि उनको पिसाब परीक्षण गरियो।
शान्ति गर्भवती भएको प्रमाण आयो। उनी त्यही रोइन्। कराइन्। चिच्याइन्। यो उनको योजना बिना नै बसेको गर्भ थियो। नर्सको सल्लाहपछि उनी घर फर्किन्।
श्रीमानसँग गुनासो पोखिन्। जे भए नि फेरि खुसी हुन थालिन्।
उनले फोलिक एसिड खानुपर्ने अनि ९१ दिनदेखि आइरन, क्याल्सियम र जुकाको औषधि सबै सम्झिन्।
फोलिक एसिड गर्भपूर्व श्रीमान-श्रीमतीले नै तीन महिना खानुपर्ने रहेछ। गर्भपछि श्रीमतीले तीन महिना। यो ज्ञान उनले ढिलो पाइन्। आफूले बधाई कार्ड पूरै नपढी फालेको सम्झिन्। यी विगतका दिन सम्झिन्छिन्।
रामु विदेश गए। छोरो नि बढ्दै गयो। छिमेकी दिदीकी छोरी दगुर्ने भइन्। शान्तिराम ओल्टोकोल्टो फेर्दैन थियो। हिँड्ने कुनै चेष्टा गर्दैनथ्यो। घरीघरी बिरामी हुन्थ्यो। रामु सधैँ छोरो कुद्ने भयो होला भन्थे।
शान्ति दिनभर काममा व्यस्त भए नि रातमा निदाउन सक्दिन थिइन्। छिमेकीको एउटै प्रश्न- तिम्रो छोरो कहिले हिँड्छ?
यो प्रश्नको कुनै उत्तर थिएन। मौनताभित्र झन् मौनता खडा हुन्थ्यो।
आफूलाई कुन जुनीको पाप छोरामा सर्यो भन्थिन्। परिवारबाट रहनुको पीडा छँदै थियो। छोराको यो अवस्थाले आफै आकूल थिइन्।
दुई वर्ष भएपछि नाम चलेका बाल अस्पताल पुर्याइन्। अब उपचार गर्नैपर्छ सोचिन्। शान्तिरामलाई बाल मस्तिष्क पक्षघात भएको रहेछ।
यसलाई उपचारभन्दा नि कसरत गराउनु पर्ने रहेछ। आफूले फोलिक एसिड खाएको भए, अनि औजारको सहयोगले प्रसूति नभएको भए यस्तो नहुने रहेछ भन्ने बुझिन्।
सबै गल्ती आफूले नजानेर गरेको सम्झिन्। समाजले हेर्ने नजर, देख्ने यथार्थ अलग मानिन्। शान्तिराम पूर्ण रूपमा अरुजस्तै नहुने बुझिन्। आफूले आफूलाई सम्हाल्दै अघि बढिन्।
एकदिन उनलाई विदेशबाटै श्रीमानले फोन गरे। आफ्नो छोराको पनि अपाङ्गता परिचय पत्र बन्ने कुरा सुनाए। शान्तिले सबै प्रक्रिया पूरा गरिन्। शान्तिराम अब अपाङ्गता भएका व्यक्तिहरूमा गनिए। उनको छुट्टै पहिचान बन्यो।
अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम बारे शान्तिले थाहा पाइन्। अब उनको हरेक कुरामा चासो बढ्न थालेको थियो। शान्तिराम दिनदिनै बढ्दै गयो। उसले आमाको थप स्याहार पाउन थाल्यो।
शान्तिले स्वहेरचाह तालिम प्राप्त गरिन्। आफ्नो छोराको आवश्यकताअनुसार काम गर्न थालिन्। करिब एक वर्षको मेहनतपछि शान्तिराम सिपी चेयरमा बस्न थाले। शान्ति र रामुको खुसी पुन: आगमन भयो।