वर्तमान
घुम्तीमा रुमलिँदै छ
घरदेशभन्दा परदेशमा छ
तातो बालुवामा छटपटाउँदै छ
घाम फुटपाथमा सुतिरहँदा
सत्यमा छारो हालिन्छ
न्याय मन्दिर
बेचिन्छन्
जोखिन्छन्
पैसाको कालो तराजुमा
सत्य
क्यारेम बोर्डको गोटीजस्तै
ठोकिन्छ
बजारिन्छ
पछारिन्छ
हामीहरू
आँखामा पट्टी बाँधेर
उज्यालो मार्ग
ठम्याउन नसकी
अर्काको हातको रिमोट
पैतालामा जोडी
भौतारिरहन्छौँ
र अनिश्चित भविष्यमा होमिन्छौँ
बुद्धको पाइलामा
रगतको थोपा पोखिन्छ
समय लाटो बन्छ
मूर्तिजस्तै
खेदो खनिन्छ
शिर छेदन गरिन्छ
अनि शक्तिको शालिक बन्छ
वर्तमान घुम्तीमा रुमालिन्छ
विष रोपेर अमृत खोज्नेहरू
आगो तापेर
चिसो हिँउदमा शिर छोपेर
पहाडका कान्ला गरामा बगेका पसिना
घरदेशबाट ओरालो लाग्छन्
करेसाबारी थारो बनाउँदै
तितेपातीको गन्ध-गन्धमा
सुगन्ध थाहा नपाएकाहरू
माटोमा सुनको खेती नदेखेकाहरू
पराइको भूमि टेकेपछि थाहा पाउछौँ
पसिनाको मूल्य र
सङ्घर्षको वर्तमान।