दसैं सकियो। तिहार आउन केही समय बाँकी थियो। रिपोर्टिङ र घुमघामको सिलसिला मिलाएर पोखरा यात्रामा निस्किएँ।
‘पोखरा, गोरखा, बुटवल, विराटनगर.....’ कलंकी चोकमा सहचालकको चर्को आवाज गुन्जियो। त्यसो त कलंकी चोकमा झोला बोकेर उभिनै हुँदैन। कहाँको यात्रामा हो भन्दै बार्गेनिङ गर्न आउनेको लाइन लाग्छ।
काउन्टरमा गएर पोखराको टिकट काटेँ। डिलक्स गाडी, फ्री वाइफाइ। यिनीहरूको देखाउने दाँत मात्रै हो बुझ्न धेरै समय लागेन।
‘पानी, निम्की, लेज, कुरमुरे, पुष्टकारी…’ चर्को आवाज कलंकी चोकभरि गुन्जियो। जबरजस्ती सामान बेच्न आउने र विजोग देखाएर सामान किन्न बाध्य बनाउने जमातलाई नियालिरहेँ।
मलाई केही किन्नु थिएन। आजको यात्रा कस्तो होला भन्ने कल्पना गर्दै झ्यालबाट बाहिरको दृश्य नियाल्दै थिएँ।
एउटी सात/ आठ वर्षकी फुच्ची पानीको बोतल बोकेर मेरो अगाडि देखा परी। आवश्यकताभन्दा पनि बढी उसको मायाले पचास रुपैयाँ दिएर एक बोतल पानी किनेँ।
फुच्ची मुसुक्क हाँसेर बाटो लागी। मेरा आँखाले उसलाई पछ्याइरहे। त्यतिकैमा मेरोछेऊ एउटी युवती देखा परी। कलेंटी परेका ओठ, रातो कुर्ता सुरूवाल, मैलो सल, महिनैदेखि नकोरेका कपाल। फुटेका पैताला हेर्दै माया लाग्दी देखिन्थी।
सिट खाली भए बस्छु भनेर अनुरोध गरेपछि मैले स्वीकृति जनाएँ। ऊ मूर्तिजसरी सिटमा बसी। म बाहिरको दृश्यमै हराइरहेँ।
केहीबेरमा गाडी ढुंगेअड्डा हुँदै थानकोटतिर बतासियो। नागढुंगाको ओरालो झर्दै गर्दा मिठो लोकदोहोरी बज्न थाल्यो ‘मौरी घुम्यो फूलको रसैमा म त हिँडे पोखरा माया हिँड्यो दाङको बसैमा....’
थानकोटको ओरालो झरेपछि मनमा एक थुंगा गुराँस फुल्यो। आकाशमा देखिएका सेता बादलको थुम्कासँगै नौबिसेका हरिया फाँटहरू साँच्चै मनमोहक र सुन्दर देखिन्थे। पूर्व पश्चिमबाट आउने गाडीको रप्तार उस्तै थियो। यतिबेला लाग्यो म जीवनको सबैभन्दा ठूलो आनन्द भोग गरिरहेकी छु।
सँगै सिटमा बसेकी महिलाको अनुहारमा न उल्लास छ न चन्चलता। ऊ मलाई छोइन्छ कि जसरी बसेकी छे। पीडा र बेचैनी स्पष्टसँग उसको अनुहारमा झल्किन्छ।
मलाई ऊसँग बोल्न मन नलागेको पनि होइन तर उसले के सोच्ने हो भन्ने भयले धेरैपटकको प्रयास असफल भए।
गाडी नौबिसे पुगेपछि एकछिन रोकियो। एकपटक मेरो नजर पनि उतिरै गएछ। उसले आफ्नो मोबाइलमा लामै मेसेज टाइप गरी फेरि डिलिट गरी। फेरि टाइप गरी। मैले नजानिँदो पारामा उसलाई हेरिरहेँ।
उसले यो हर्कत धेरै पटक दोहोर्याई। एकैछिन अगाडिको मेरो उल्लास गायब भयो। बाहिरको दृश्यभन्दा उसको हर्कतले म ऊतिर तानिएँ। मलेखु पुगेपछि उसले सोधी ‘कहाँ पुगियो?’
‘हजुर कहाँसम्म पुग्ने?’ उसका आँखामा आशा र कौतुहलताको बादल मडारिएको थियो।
‘पोखरा’ मैले भनेँ।
‘आफन्तकोमा कि घुम्न?’
‘घुम्न हिँडेको।’ छोटो जवाफ दिएँ।
‘म पनि पोखरा हिँडेको तर पहिलो पटक यो बाटो हिँड्दै छु। अपरिचित बाटो अपरिचित यात्रा बडो गाह्रो हुँदो रैछ।’ उसका कुरा गम्भीर र यथार्थ मिश्रित थिए। ऊ बेलाबेलामा गफ गर्थी एकछिन अगाडि असामान्य अवस्थामा देखिएकी केटी कुरा गर्दा कुनै महान् दार्शनिक जस्तै लाग्थी।
मुग्लिन पुग्न केही किलोमिटर बाँकी थियो। चितवनतिरबाट आएको एउटा माइक्रो त्रिशूलीमा खस्यो। हेर्दाहेर्दै ९ जना त्रिशूलीमा बेपत्ता भए। एकैछिन ठूलै कोलाहाल र भीड जम्मा भयो। संसार र समय जति क्रुर भए पनि जिउँदाहरू मृत्युलाई बिर्सेर कर्मको बाटो छाड्न नपाइने रहेछ। सुरक्षित यात्राको कामना गरेर हामी गन्तव्यतिर लाग्यौँ।
गाडी तीव्र गतिले दौडदा अघिको दृश्य सम्झेर म बेलाबेलामा उसको हात समाउन पुग्थेँ। तर त्यो दृश्यले उसलाई कुनै फरक पारेन। अगाडि जस्तो थिई अहिले पनि उस्तै देखिन्थी। मेरो मन भने बेलाबेला चिसो हुन्थ्यो। बग्दै गरेको त्रिशूली देखेर घरीघरी अतालिन्थेँ।
‘तपाईं के गर्नुहुन्छ?’
‘पत्रकारिता’ छोटो उत्तर दिएँ।
‘कति पढ्नुभएको छ ?’
‘भर्खरै एमएमको परीक्षा दिएको, रिजल्ट हुन बाँकी नै छ।’
‘अनि तपाईंले कति पढ्नुभएको छ नि ?’
‘नर्स बन्ने सपना थियो पूरा भएन। फस्ट डिभिजनमा एस.एल.सी पास गरेको।’
उसका गह भरिए। म भावुक बनेर कुरा सुनिरहेँ।
‘हाम्रोतिर त छोरी मान्छेले धेरै पढ्नु हुँदैन भन्छन्। छोरी मान्छेले पढे पनि नपढे पनि चुलो चौको गर्नुपर्छ रे। बच्चा पाउनुपर्छ रे, अनि बच्चा पाउनका लागि किन पढ्नु भन्छन्। एलएलसी दिएपछि विवाह गरिदिने चलन छ। म पनि यही समाजको सिकार भएँ।
अझ हाम्रोतिर त आफ्नी छोरीको योग्यता जस्तो होस् विवाह गर्दा चाहिँ सम्पन्न परिवार खोजिदिने चलन छ। मेरा कति साथीहरूको काठमाडौंमा घर छ। सम्पन्न घरमा विवाह गरिदिए बाआमा निकै खुसी हुन्छन्। तर त्यस घरमा उसकी छोरी कसरी बाँचेकी छे भन्ने कुरा कसैले न खोज्छन् न सोध्न चाहन्छन्। धनी घरमा विवाह गरिदिए गाउँतिर उनीहरूको इज्जत बेग्लै हुन्छ। तर सहरमा बुहारी भएर आएकाहरूलाई काम गर्न, हिँड्न, डुल्न सबै बन्देज हुन्छ। तपाईं एक्लो छोरी मान्छे पनि क्यासँग हिँड्नुभएको कसैको डर लाग्दैन?’ उसले सोधी ।
‘मलाई त कसैको डर लाग्दैन आफ्नो बारेमा अरूले के भन्छन् सोच्न छाडेको दिनदेखि डर भन्ने कुरा नै नहुँदो रैछ,’ मैले भनेँ।
यसबीचमा उसले थुप्रै कहानी सुनाई।
ग्रामीण भेगका महिलाले पाएको कष्ट, सास्ती, सामाजिक बन्धन सबै नजिकैबाट बुझ्ने अवसर मिल्यो। मलाई उसका कुरा र त्रिशूलीको गहिराइ उस्तै लाग्यो। सामान्य देखिने महिलाले धेरै असामान्य कुरा गरी। कुरैकुरामा हामी आवु खैरेनी पुगिसकेछौँ।
आँबु खैरेनी पुगेपछि मैले तीन किलो सुन्तला किनेँ। दुवैले घित मरुन्जेल सुन्तला खायौँ। उसको हात अन्य महिलाको तुलनामा मसिना थिए। बेलाबेलामा उसको अनुहार हेर्थेँ। ऊ सुन्तलाको क्रेसाजस्तै देखिन्थी।
मोबाइलमा धेरै पटक फोनको घन्टी बज्यो तर कुनै पनि फोन उठाइन। म घरी उसको मोबाइल नियाल्थेँ घरी उसको अनुहार। जतिपटक फोनको घन्टी बज्थ्यो ऊ त्यति नै पटक त्रसित र आतंकित देखिन्थी।
‘छोरीहरू न गर्भमा सुरक्षित छन् न धर्तीमा। जति संघर्ष र मेहनत गरे पनि सामाजिक बन्धनले उठ्न नदिँदो रैछ। घरको पुर्ख्यौली सम्पत्ति चाहिँ छोराका लागि जोगाउने र घरपरिवार र आफन्तको इज्जतचाहिँ हामीले जोगाइदिनुपर्ने रैछ।
उनीहरूको सम्पतिको अधिकार न घरमा छ न माइतीमा। दुवै ठाउँबाट लखेटिएपछि जाने ठाउँ पनि कतै नहुँदो रहेछ। मलाई यो अधिकार र स्वतन्त्रताका कुरा त नारामा मात्रै सीमित छ जस्तो लाग्छ। अझ पनि कानूनको पहुँच र अधिकारका कुरा सम्बन्धित स्थानमा पुगेकै छैन।’
उसको कुरा रेडियो अन्तर्वार्ताका लागि निकै महत्वपूर्ण थिए। रेकर्डर झिकेर सबै कुरा रेकर्ड गरेँ। पत्तै नपाई हामी पोखरा पुगिसकेछौँ।
अपरिचित युवतीसँग परिचयपछिको यात्रा रमाइलो भयो। म न्युरोड झरेर लेकसाइडतिर जाने विचार गरेँ। छुट्ने बेलामा उसले पनि मसँग बस्ने इच्छा व्यक्त गरी।
एकमनले अपरिचित महिलासँग बस्न इन्कार गरिरह्यो अर्को मनले फेरि उसको चित दुखाउन सकिनँ।
मैले स्वीकृत जनाएपछि हामीले लेकसाइड पुगेर होटल फेवाको १०२ नम्बर बुक गर्यौँ। जहाँबाट सरांकोट र फेवाताल तालमा पौडी खेलिरहेको माछापुच्छ्रे निकै सुन्दर र स्पष्टसँग देखिन्थ्यो।
दुवै जना फ्रेस भएर फेवातालको किनारमा निस्कियौँ। जहाँ नेपाली र विदेशी पर्यटकको भीडभाड देखिन्थ्यो। फेवातालमा पौडी खेलिरहेको माछापुच्छ्रेमा म प्रकृतिको सुन्दर विम्व देख्थेँ। फेवातालको किनारमा विदेशी पर्यटकको रोमाञ्चकता निकै आकर्षक देखिन्थ्यो। त्यतिबेला लाग्यो बाँच्न त विदेशीबाट पो सिक्नुपर्ने रहेछ। सोचविचार, दृष्टिकोण सबै फराकिलो। बृहत् सोचाइ र कर्मका कारण आज विश्वलाई नै एउटा कोठाभित्र कैद गर्न सफल छन्।
पूर्वतिरका मानिसले आफन्त, परिवार र समाजले के सोच्ला भन्ने मानसिकता बोकेर खुसीले आफ्नो जीवन पनि बिताउन पाउँदैनन्।
निकैबेर त्यहाँको दृश्य नियालेपछि एउटा कफी सपमा पसेर २ कप कफी मगायौँ। उसका आँखा बारम्बार मोबाइलतिर पर्थे म भने नजानिँदो पारामा उसलाई नियाल्थेँ। बेलाबेलामा मोबाइलको स्क्रिनमा औंला खेलाउँदै भावुक बन्थी।
३ घन्टाको अवधिमा उसको मोबाइलमा तीस पटकभन्दा फोन आयो। त्यसै क्रममा उसले आफ्नो परिचय दिई। नाम, कला बराल। घर रामेछाप मन्थली। उमेर २६ वर्ष।
उसले गाउँका माहिला र सहरिया महिलाबीचको भिन्नताको कुरा गरी। अचेलका छोरीहरू उच्च स्थानमा पुगेको देखेर रमाइलो लाग्ने। आफू उच्च स्थानमा पुग्न नसके पनि उच्च स्थानमा पुगेका छोरीलाई र आफूमा राखेर हेर्ने गरेको कुरा सुनाई।
खाना खाएर निकैबेर हामीले दुःख सुखका कुरा गरिह्यौँ। उसले मलाई आफू ठूलो समस्यामा रहेको र एउटा सहयोग गर्नुपर्ने आग्रह गरी। तर अर्को दिनमा भन्ने शर्तमा गुटनाइट भनी। दिनभरिको यात्राले शरीर थाकेको थियो म पनि भुसुक्कै निदाएछु।
अर्को बिहान कला ओछ्यानमा थिइन। उसलाई नदेखेपछि मन मुटु चिसो भयो। सबैतिर खोज्दा पनि ऊ देखिइन। अपरिचित मान्छेलाई साथ दिएकोमा म निकैबेर पछुताएँ। उसले केही सामान चोरेर भागी कि भन्ने शंका नलागेको पनि हैन। तर हरेक सामान यथावत् अवस्थामा थिए। धेरै समय खोजेपछि उसको सिरानमा एउटा डायरी भेटेँ। डायरीको बीच भागमा उसले मलाई सम्बोधन गरेर चिठी लेखेकी रहिछे।
पत्रकार बहिनी,
आमा भन्नुहुन्थ्यो सधैं बग्नुपर्छ तालबाट नदी, नदीबाट समुन्द्र। त्यही महान् वाणीलाई आत्मसात् गरेर बगिरहेँ तर मभन्दा पनि बढी बगे मेरा आँखाका डिलबाट आँसुका धाराहरू।
धेरैले भन्थे मध्यम वर्गीय परिवारमा जन्मनु अभिशाप हो मैले यथार्थमा भोगेँ।
खासमा म जिन्दगीदेखि विचलित भएर हिँडेकी थिएँ, सम्हाल्ने तपाईं भेटिनुभयो। तपाईं यात्रामा जति उत्साहित र रोमाञ्चक देखिनुहुन्थ्यो तपाईंलाई देखेर म तपाईंभन्दा बढी उत्साहित थिएँ।
छोरी मान्छेको संसार फराकिलो र उज्यालो देख्दा छानामाथि चन्द्रमा फूलजस्तो लाग्छ। हुन त हाम्रो उमेरमा खासै भिन्नता छैन। तर तपाईंसँग तुलना गर्न मिल्ने महिलामा गनिन सक्दिनँ।
जीवनमा धेरै मीठो सपना देखेथेँ। पारिवारिक विघटन र निम्न आर्थिक अवस्थाका कारण सपनै भए। आज आएर महसुस गरेँ छोरी मान्छेलाई त कल्पना गर्न र सपना देख्न पनि छुट रहेनछ।
रामेछापको मन्थलीमा जन्मिएकी थिएँ म। आमा ४३ वर्षको हुँदा म जन्मिएकी रे रहर हो कि बाध्यता थाहा छैन। कहिलेकाहीँ त जन्मसँगै प्रश्न उठ्छ।
चार छोरापछि जन्मिएकी छोरी भए पनि हुर्काइमा कमी गरेको सम्झना छैन।
पाँच वर्षको उमेरदेखि स्कुल जान थालेँ। कक्षा १० सम्म दोस्रो हुन परेन।
म कक्षा पाँचमा पढ्ने बेलासम्म सबै दाइहरूको विवाह भइसकेको थियो। घुम्टोभित्र सजिएर आएकी आएकी नयाँ मान्छेलाई भाउजू सम्बोधन गर्न आमाले नै सिकाउनुभयो। भाउजू सम्बोधन निकै प्रिय र आदर्श लाग्थ्यो। म उहाँहरूको अनुहारमा आमाको रूप देख्थेँ। भाउजूले आगमनले दाइको जिन्दगीमात्रै होइन हाम्रो घर पनि उज्यालो होला जस्तो लाग्थ्यो। यथार्थमा त्यस्तो भएन। उहाँहरूको आगमनपछि आशाका किरणहरू निभे। सम्झौताका दीप बालेर जिउनुपर्ने दिन सुरू भए। प्रत्येक दिन महाभारत हुन्थ्यो। सामान्य कुरा असामान्य हुँदै गए। मन्दिरजस्तो घर मसानघाट भयो। बाबाआमा र म जिउँदै जल्यौँ।
दसैंको महाअष्टमीको दिन थियो। ठूल्दाइ र साइलो दाइबीच खुकुरी हानाहान भयो। म सानी थिएँ धेरै कुरा बुझिनँ। बाबाआमा बार्दलीमा बसेर रून थाल्नुभयो। आफ्नै कोखमा हुर्किएका सन्तानको यस्तो अवस्था उहाँहरूले कसरी हेर्न सक्नुहुन्थ्यो र?
पछि थाहा पाएँ यो झगडा त अंशको कारणले पो भएको रहेछ। अर्को दिन गाउँका पञ्चहरू भेला भएर बाबाआमाले दु:खले जोडेको सम्पत्ति पाँच चिरा लाग्यो। दु:खको न मूल्य तोकियो न हिसाब लाग्यो। म छोरी भएकाले मेरो भागमा केही परेन। त्यसैदिनदेखि मलाई त्यो घर आफ्नो लागेन।
घरबारी चिरा पारेर छोराहरू टाढिए। बालख छोरी र वृद्ध शरीर लिएर बाआमा एकातिर बस्नुभयो।
आमा प्रायजसो बिरामी भैरहनुहुन्थ्यो। एकरात कहिल्यै नउठ्ने गरेर निदाउनुभयो। त्यसको ६ महिनापछि बाबाले पनि संसार छाड्नुभयो। मैले आफू फस्ट डिभिजनमा एसएलसी पास गरेको र नर्स बन्ने सपना आमाबालाई कहिल्यै सुनाउन पाइनँ।
मनमा दुःखको सागर बोकेर म ठूलो दाइकोमा आश्रय लिएर बस्न थालेँ। पढ्ने, लेख्ने त कहाँ हो कहाँ घरको काम नै मलाई सास फेर्ने समय हुँदैनथ्यो।
त्यसैमाथि घरमा दिनप्रतिदिन नयाँ अनुहार देखा पर्थे। तिनीहरूमध्ये कतिको नजर मेरो पढाइमा पर्थे भने कतिको जवानी।
दाइभाउजूलाई मेरो विवाह गरिदिन निकै हतार थियो। बाबा आमाको वर्खान्त सकिएको एक महिनापछि भाउजूको आफन्तसँग मेरो विवाह पक्का भयो। म चाहेर पनि बोल्न सकिनँ।
मन गाँठो पारेर कर्मघरको यात्रा सुरू गरेँ। एउटी १७ वर्षकी किशोरी पहिलो पटक २८ वर्षको युवकसँग एउटा ओछ्यानमा निदाउँदाको पीडा तपाईं कल्पना गर्न सक्नुहुन्न।
विवाहपछि धेरै रहस्य खुल्दै गए। कुलतमा फसेर सुधार गृहमा राखिएको यथार्थ थाहा पाएपछि म आठ तलाबाट एकैपटक भुइँ तलामा बजारिएँ। बारम्बार ड्रग्स काण्डमा मुछिएको यथार्थ बुझ्न धेरै समय लागेन।
हरेक दिन शरीरको माथिल्लो भाग रक्तमुछेल हुन्थे। चितुवाले बाख्राको बच्चा लुछेजस्तै शरीरका कोमल अंग हरेक दिन लुछिँदा निरीह भए सहनुपथ्र्यो। त्यसो त मेरा लागि सहानुभूतिको आँसु बगाउने एक जोर आँखा पनि थिएनन्। घरका अन्य सदस्यले मैले श्रीमान तह लगाउन नसकेको आरोप लगाउथे। उमेरमा उनी मभन्दा १२ वर्ष जेठा थिए। म आफ्नो शरीर त सम्हाल्न नसक्ने उमेरको थिएँ, उनलाई कसरी सम्हाल्नु?
यातना र कुटाइ सामान्य लाग्थ्यो। २ वर्षको अन्तरालमा ३ वटा बच्चा खेर गए। चौथो पटकको गर्भमा मुना पलाएको थाहा भएपछि भिडिओ एक्स रे गर्न अस्पताल लगियो। गर्भमा छोरी रहिछे। अर्को महाभारत सुरू भयो।
प्रत्येक दिन गर्भपतन गराउन आदेश आउँथ्यो। तर गर्भपतन गर्नुभन्दा ज्यान फाल्ने पक्षमा थिएँ। गर्भमा छोरी बोकेर हिँड्दा सुरक्षित गर्भपतन सेन्टर नजिक पुग्दा मन र शरीर दुवै काप्थ्यो।
घरमा भएका अरू छोरी मान्छेले समेत छोरीको विरोध गर्थे। यो समाजले छोरीहरूलाई हेर्ने संकुचित धारणले घरीघरी भावुक बन्थेँ। यो ज्यानमारा समाजमा आफ्नो छोरीको सुरक्षित भविष्य कसैगरी भेट्दैनथेँ। गर्भपतन सेन्टर अगाडि म कलिला छोरीहरूको चित्कार मात्रै सुन्थेँ।
बडो दुःख र संघर्षले ९ महिना पेटमा हुर्केपछि थापाथलीको प्रसूति गृहमा छोरीलाई जन्म दिएँ। तर विडम्बना! छोरी जन्मेको एक घन्टा नबित्दै उहाँ प्रसूति गृहबाट हामफाल्नुभएछ। यो खबर विभिन्न संचार माध्यममा फैलन थाल्यो। यसपछि मलाई झन् सृष्टिको सुन्दर उपहार यी मान्छेहरूप्रति नै घृणा लाग्न थाल्यो। हामफालेर उहाँको खुट्टा भाँचियो मेरो मन।
मेरी छोरीले बाबाको तातो अँगालो र न्यानो चुम्बन कहिल्यै पाइन। दिनहरू असहज हुँदै गए। म हरेक रात नरक जस्तो जिन्दगी बिताउँदै गएँ।
एकातिरको छाती छोरीले थिलथिलो बनाउथी अर्कोतिरको श्रीमानले। दिनभरि घरको काम रातभरि उहाँको प्यास मेटाउने साधन। साँच्चै छोरी मान्छेलाई त एउटा मान्छे भएर बाँच्ने समेत अधिकार नहुँदो रहेछ।
बहिनी!
दुःख गर्दागर्दै छोरी ८ वर्षको पुगी। त्यो घरमा ऊ कहिल्यै सुरक्षित भइन। १८ महिनाकी बालिका बलात्कारपछि हत्या हुने यो देशमा उनको सुरक्षित स्थान कहाँ छ? म अहिले उनको सुरक्षित भविष्यको खोजी गर्दै हिँडेकी छु।
अति भएपछि एक रात एउटा ढुंगो श्रीमानको टाउको प्रहार गरेँ। उनी अहिले अस्पतालमा भर्ना छन्। म जुनसुकै बेला उनका आफन्तबाट पक्राउ पर्न सक्छु। मेरी छोरी काठमाडौंको एक होस्टलमा छे। म नआउन्जेल तपाईंले उसको ख्याल गरिदिनुहोला।
उसले तल छोरीको नाम, फोटो र होस्टलको नम्बर छाडेकी रहिछे।
पत्रकार बहिनी।
अबको लडाइँ सहर हैन गाउँ केन्द्रित हुनुपर्छ। पाँचतारे होटलमा महिला अधिकारको कुरा गरेर एकदिन उच्च तहका महिला भेला जम्मा पार्दैमा कसरी आन्दोलन सफल हुन्छ र? गाउँ केन्द्रित भए ग्रामीण भेगका महिलालाई आफ्नो हक अधिकारको चेतना दिलाउनुपर्छ।
बलात्कारीलाई मृत्युदण्ड हुने कानुन बनाउनुपर्छ। तपाईं यो देशको चौथो अंग हुनुहुन्छ त्यसमाथि नारी। अबको क्रान्तिपछि हरेक छोरीहरूको पनि छोरासरह पढ्न, लेख्न र आफूले मन परेको मान्छेसँग विवाह गर्न छुट हुुनुपर्छ। नत्र भने सदियौं वर्षसमम्म पनि छोरीहरूमाथि यस्तै दमन, उत्पीडन र शोषण भैरहन्छ।
आफ्नो छोरालाई गतिली बुहारीको कल्पना गर्ने यो समाज किन छोरीहरूलाई गर्भमा निमोट्न चाहन्छ? अब मेरी छोरीलाई यो देशको शक्तिशाली महिला बनाउन चाहन्छु तपाईंले सहयोग गरिदिनुहोला...
उसको पत्र पढेपछि म सोचमग्न भएँ। नेपालको अधिकांश भू-भागमा अझै पनि छोरीहरूलाई आफ्नो अधिकार कसरी लिने भन्ने थाहा छैन। समाज परिवार आफन्तको डरका कारण उनीहरू आफ्ना रहर मारेर बाँच्न विवश छन्। सहरमा बसेका दुई चार जना सम्पन्न महिलाहरू कानूनको पहुँचमा छन् भन्दैमा सबै महिलाहरू अधिकार र कानुनको पहुँचमा छन् भन्न मिल्दैन। छोरीहरूलाई पनि छोरा समान शिक्षा र माया दिन जरूरी छ। मैले पनि अब यही कान्तिमा सामेल हुने दृढ संकल्प गरेँ।