सरकारी क्याम्पस उसै त पढाइ कम राजनीति धेरै हुन्छ। उनको र मेरो भेट पनि पहिलो वर्षको पहिलो क्लासमा भएको हो। उनी त्यति धेरै नबोल्ने अलि हाउभाउले मात्र कुराहरू पोख्ने गर्थिन्।
चिकित्सा पढ्न आएका हामी राजनीतिको 'र' पनि थाहा थिएन र राजनीति गर्दै नगर्ने प्रण पनि गरिबसेका थियौं क्लासका सबै जनाले।
कम्युनिस्ट पार्टीको भ्रातृसंगठनको क्याम्पस कमिटीको पिकनिकमा उनको र मेरो अलि लामै सामिप्यता रह्यो। म तरकारी काटिरहेको बेलामा उनी सघाउन आएकी थिइन्। सायद सहयोगहरूमा निर्भर रहन्छ प्रेम उब्जने भावनाका तत्त्वहरू।
अनौठो त! अझ के भयो भन्दा आँखा छोपेर घैंटो फोर्ने पिकनिककै कार्यक्रममा उनी घैंटोतिर नगएर म भएतिरै आइन् र झ्याप्प पट्टी खोलेर आँखा उघारिन्।मलाई अगाडि देखेर लाजले भुतुक्कै भइन्।
पिकनिकबाट फर्कंदा उनी बसको झ्यालतिर बसिन् अनि म उनको साइडमा। दोहोरी चल्यो मज्जैले बसमा। मैले गतिला टुक्का झिक्दा उनी गालाका डिम्पल देखाउँदै मुस्काउँथिन्। सायद अनौठोपनको कुतकुतीले त्यो दिनदेखि हामी धेरै नजिक भयौं। नजिकमात्र भएनौं, हामीबीच ज्यादा सामिप्यता बढाएको अवसरमा दुवै जना कम्युनिस्ट विद्यार्थी संगठनमा नै लाग्ने विचार गर्यौं। स्वतन्त्र रहने वाचाहरू हामी बीचको झांगिएको प्रेमका अघि निम्छरो बनेर तुहियो।
पहिलो वर्षमा पलाएको माया अन्तिम वर्षसम्म सम्हाल्यौं। हाम्रो सम्बन्धमा चिसोपना आएन। सम्बन्ध भावना हो, जो हर कसैसँग गाँस्न सकिएला तर गाँसी सकेपछि एउटा नीति त्यसले अंगाल्छ- त्यो भनेको यो सम्बन्ध रहुँन्जेल, यसकै निम्ति मलजल गर्ने, यसैलाई हुर्काउने। तर प्रेम वा भनूँ प्रेमिल सम्बन्धको नीतिका विपरीत रहेर एकै समयमा हामी अनेकौं सम्बन्ध गाँसिदिन्छौं।
एउटा सम्बन्धका पात्रका बारेमा अर्को पात्रका सामुन्ने गुपचुप राख्न सकिएला तर त्यो पनि कतिन्जेल? अझ सम्बन्ध बढीसँग गाँसिदा हुने समय अभाव, छलकपट व्यवहार र निर्जीवताले कुन सम्बन्ध कति खेर विच्छेद हुन्छ थाहा हुँदैन। अनेकौंसँग आत्मसमर्थन जुटाउन पनि मुश्किल नै हुन्छ। अनि सम्बन्धहरू अस्थिर नृत्य हुन्छन् र सम्बन्धका पात्रहरू समाजमा तल्लो दर्जाका मानिन्छन्। यस कुरामा हामी दुवै जना सचेत थियौंं।
पढाइ पनि सकियो अनि हामी इन्टर्नपश्चात् छात्रवृत्ति करारमा आ-आफ्नो कार्यक्षेत्रमा खट्टियौं। टाढा हुँदाखेरी सम्बन्धमा समस्याहरू आउन खोज्थे तर हामी ढंग पुर्याएर अघि बढ्थ्यौं।
उनको घरमा यही सालको दसैंपछि बिहेको कुरा घनिभूत चलेछ। उनले पनि आफ्नो केटा साथी रहेको स्पष्ट जानकारी दिइछन्। एउटै क्षेत्र एक अर्कालाई बुझेका अनि मन खाएका भएपछि उनको घरबाट पनि नाइँ नास्ती गर्ने अवस्था नै थिएन। मेरो घरतिर पनि मैले सबै व्यवस्था मिलाएको थिएँ। यही सालको मंसिरको चुनावपश्चात बिहे गर्ने निचोडमा हामी दुवै परिवार पुगेका थियौं। तर कुरा विस्तारै अन्तै मोडियो र लामो हाम्रो सम्बन्ध, राजनीतिकै कारण लगभग तोडियो।
हुनेवाला ससुरा बा अस्ति भर्खरको स्थानीय तहको चुनावमा कांग्रेसबाट उठेर मेयर पदमा हार्नुभाको रैछ। कांग्रेस भनेपछि ज्यान जाला केही नछोड्ने। अनि एमालेकै कारण हारेका ससुराबाले मेरो घरमा एमाले हुन् भन्ने थाहा पाउनुभएछ। उनको र मेरो यति लामो प्रेम सम्बन्धको चौडाइले कहिले पनि घरको राजनीति सोधेन। सायद त्यसले के नै फरक पार्छ र? भनेर इग्नोर नै गरियो होला भनम् न। तर हुनेवाला ससुराबाको कट्टर कांग्रेस प्रेमले हाम्रो सम्बन्धलाई मज्जाले गिज्यायो।
उनकै घरमा तिहारपछि भएको चियापान कार्यक्रममा त मुखै फोरेर हुनेवाला ससुरा बाले भने,' हेर्नुस्, एमालेको घरमा त म मरिगए पनि छोरी दिन्नँ, बरू तपाईं र घरका सबैले पार्टी बदल्नुस्! अस्ति भर्खर बेहोरेको घात त म कहाँ भुल्न सक्छु र?'
म त्यो दिन अचम्ममा परेको थिएँ। जुन विश्वासको पूर्वस्थिति थियो उनी र मबीच त्यो दिनदेखि शंकाको नजरले हेरिन थालियो। नचाहँदा नचाहँदै पनि मैले उनलाई कांग्रेस र उनले मलाई एमाले देख्न थालिन्। एक अर्कालाई गर्न सकिने हदै सम्मको विरोधको नजरले आफूभित्र नै विश्वभ्रमण गर्यो। छर्लंग हेर्दा हुनेवाला ससुरा बाको त्यो अन्धो ढिपी थियो तर त्यसैले प्रधानता लियो र हामी बीचको सम्बन्ध टुट्यो।
मलाई त कांग्रेस एमालेसँग मतलब थिएन, सायद उनलाई पनि थिएन। तर मैले आफ्नो घर परिवारलाई वर्षौं आस्था राखेको पार्टी तत्कालै छाडेर अर्को पार्टी रोज्नुस् भनेर भन्न पनि सुहाउने अवस्था थिएन।
मंसिर ४ मा विभिन्न पार्टीका बीच भीडन्त रोचक हुेनवाला छ। मंसिरमा नै फुटबलको महाकुम्भमा, को विश्वविजेता बन्ने? भनेर कतारमा विश्वकप पनि हुँदैछ।यिनै संयोगहरूमा हामी बीच पनि बिहे हुने पूर्व लक्षणहरू थिए जो फेल खाए र त आजकाल मलाई चुनावमा आएका नारा र भोट माग्न आउने नेताहरू देखेर पनि दिक्क लाग्छ।
माथि माथिका टाउकेहरू आफ्नो जीत सुनिश्चित गर्न कमजोर प्रतिस्पर्धी उठाएर अदृश्य सहयोग गरिरहेका बेला, ग्राउण्डमा भएका नेता कार्यकर्तालाई चाहिँ हुँदा न खाँदाको राजनीति लाग्छ। अनि त्यही दुषित राजनीतिले वर्षौको प्रेम सम्बन्धलाई मैजारो गर्छ।
फरक पार्टीसँग आस्था छ भन्दैमा विरोध गर्नु, यो कस्तो प्रकृतिको विरोध हो? राजनीतिमा स्वतन्त्रको बाढी पसेको बेलामा समेत हामीमा उही पुराना दलको भूत सवार छ।
परिवर्तनमा हामीलाई त्रास छ। मनुष्य जाति यसरी पनि कट्टर हुँदो रैछ कि एउटा पार्टीले अर्को पार्टीसँग सम्बन्ध राख्नै नहुने रे! हाई हाई फोहोरी राजनीति र बिचरा हामी पिल्सिएका नव जोडी।
उनी र म अर्थात् 'हामी' ५ वर्ष सँगै पढ्दा घरको राजनीतिलाई लिएर कहिल्यै द्वेष निम्त्याएनौं। कम्युनिस्ट विद्यार्थी संगठनमा नै लाग्यौं, नामहरू लेटेर प्याडमा छापिए तर झण्डा नै बोकेर हिँडेनौं। हाम्रो निदीखुदी गर्दै कोही घरसम्म पनि पुगेनन्। संगठनका कार्यक्रमहरूमा उनी र म सँगै मिलेर उद्घोषण पनि गर्यौं।विचारको राजनीति र सिद्धान्तसँग कहिले पनि ठेस खाएन। उनलाई आफ्नो घरमा हुने बिपीको समाजवादको राजनीति मज्जैले थाहा थियो। मेरो घरको मार्क्सवादको राजनीति मलाई मज्जैले थाहा थियो। मेरा लागि अनुकूल भएको विद्यार्थी संगठन उनका लागि घरको पृष्ठभूमि अनुसार प्रतिकूल भए पनि रमाइलो गरेरै बित्यो विद्यार्थी जीवनकाल।
हृदयको विस्तृत उदारता भएपछि प्रेममा अरू के नै चाहिँदो रै छ र? अझ घरकाले थाहा पाउँछन् कि भन्दै संगठनका कार्यक्रमहरूका फोटा फेसबुकमा राख्दा आफूलाई ट्याग नगर्न सबैलाई सुझाव दिन्थिन् उनी।
तर आज कात्तिक सकिएर मंसिर लाग्दै गर्दा घरमा चाहिने ज्वाइँ उहाँ नै हो भनेर मेरो नाम उच्चारण गर्ने अवस्था, सुझाव दिने अवस्था उनको छैन। के हामीले भूल गरेकै हौं त?
पारिवारिक फरक राजनीतिक पृष्ठभूमि भएपछि हामी गाँसिनु नै हुँदैन्थ्यो हो? के हाम्ले देखेका ठूला ठूला नेताका छोरा-छोरीको अन्तर पार्टी बिहे दुष्स्वप्न मात्र हुन् त?
बिहेमा पण्डितले मन्त्र पढ्लान् नि, पार्टीको घोषणा पत्र पढ्ने हुन् र? यति धेरै विभेद गर्नलाई। यी राजनीतिमा देखिने पारिवारिक मूर्खताहरूलाई कति प्रेमिल जोडीको बन्धन टुटेपछि मात्र उपहास गर्न सकिएला?
टिकट पाउने लोभमा र चुनावै जित्ने आशामा छिनकोछिनैमा पार्टी बदल्नेहरूले पारिवारिक नाता गाँस्दा चाहिँ संकीर्ण बन्नुपर्ने कारण के छ?
३-४ वर्षअघि क्याम्पसकै चौरमा सुन्तला खाँदै बस्दा उनले हाँसो गरेरै भन्थिन्,'सुन न! हाम्रो बिहेपछि छोरा जन्मियो भने नाम 'विरोध' राख्ने र छोरी जन्मी भने नाम 'क्रान्ति' राख्ने ल।'
तर आज राजनीतिको असंहिष्णु अन्तरघुलनमा पर्दा वा भनूँ परिवार भित्रै आफ्नो प्रेमका लागि विरोध र क्रान्ति गर्न नसक्दा हाम्रो नाम नभएको निश्छल जोडी आज कांग्रेस र एमाले भएर दुई फ्याँक परेको छ। मासुभातको जोशमा पार्टीको अन्धभक्त भएर नारा लगाएका लावालस्कर झ्यालबाट हेर्दै गर्दा, मनमनै कामना गर्छु' बिन्ती भगवान्! यिनका छोराछोरीको अर्को पार्टीका छोराछोरीसँग लभ नपरोस्।'