असरल्ल छरिएका किताब, नमिलेको जिङ्ग्रिङ्ग कपाल र कच्याककुचुक्क परेको पहिरनमा ऊ बेन्चमा टुसुक्क न्याउरिएर बस्छे।
एघार कक्षाका सुरुका दिनहरूमा ऊ असाध्यै मेहनती थिई। गरिबीको चेपुवामा पनि परिश्रमी थिई। शिक्षकहरूले पनि उसलाई राम्रो दृष्टिले हेर्थे। तर अहिले आएर ऊ सधैँ किन ठसक्क परेर बसिरहन्छे? पढाइ पनि खस्किँदै गएको छ। मलाई उत्सुकताले पोल्यो।
चुपचाप कक्षाकोठामा घोप्टो मुन्टो लाएर बसिरहेकी निमाले पढाएको कुरा सुनिनन्।
मैले भनेँ- तिमीले आज पनि गृहकार्य ल्याइनौ?
कापी लिएर यहाँ आऊ त। केही गाह्रो परेको छ?
हेडमास्टर कहाँ जाने?
'म्-याम… म्-याम' बोल्दा अनुहारमा गाढा अँध्यारो छाएको पाएँ। बोलेको केही पनि बुझिनँ।
केही समयदेखि उसको व्यवहारमा अचानक परिवर्तन आएको थियो। ऊ कहिले हिच्चकिचाउँथी त कहिले बीचैमा डराएर रोकिन्थी।
त्यो रहस्यको पोको खोतल्न म विद्यालय छेउको उसको बाबुको चिया पसलतिर लागेँ। आमा ग्राहकलाई अरु के-के दिउँ सोध्दै थिइन्। तर अचम्म, निमाको आँखाबाट आँसुका बलिन्द्र झरिरहेका थिए।
परैबाट हात जोडेर बाबुआमाले 'अहो! मास्टरनी नानी नमस्कार' भन्दै बस्ने इसारा गरे।
म निमा बसेकै ठाँउ तिर लागेँ। अनुहारको भाव पढ्न खोजेँ। धेरैबेर त ऊ चुपचाप रही। एकाएक उसको अनुहारमा शिथिलताको रेखा कोरिएको पाएँ। केही अनुचित घटना त घटेको छैन? कुविचरले मनमा दह जमायो। फेरि मैले सोध्न थालेँ।
ऊ सुस्तरी बोली- 'मलाई आफैसँग घिन र रिस उठ्छ।'
'आफैसँग रे! कस्तो अनौठो र अचम्मको कुरा हो यो? आफैसँग पनि कसैलाई घिन लाग्छ र रिस उठ्छ?'
'मलाई लाग्छ' भन्दै निमा एक्कासी घुक्क-घुक्क गर्दै रुन थाली।
म चकित हुँदै सोध्छु, 'अनि कोसँग कसले गर्दा तिमीलाई डर लाग्छ?'
मेरो अप्रत्यासित प्रश्नले ऊ औधि अताल्ली।
खै के भयो कुन्नी, अचानक ऊ चुप भई।
'केही होइन म्याम। केही होइन म्याम,' ऊ सामान्य देखिन खोज्दै थिई। तर व्यवहारले केही अनिष्ट भएझैँ बुझिन्थ्यो।
'केही त बोल न, म तिम्रो शिक्षक मात्र होइन अभिभावक सरह हुँ। बताऊ कसले गर्दा यस्तो परिस्थिति सिर्जना भयो?' म उसलाई सहज बनाउने प्रयास गर्दै थिएँ।
'मैले आफैलाई चिन्न छाडेको बढीमा दुई हप्ता भयो,' ऊ आफूभित्रको डर पोख्दै थिई, 'मबाट अचानक चञ्चलता, निश्चलता केही समय अगावै हरायो। बाहिरबाट हेर्दा सबै कुरा सामान्य देखिए पनि भित्रभित्रै खोक्रो, शून्यताको जिन्दगीमा बाँचेको थिएँ। आफैले आफैलाई कोपर्थें, गाली गर्थें, पिट्थें, चिच्याउथें र कराउथेँ। एकाएक मेरो मुख रातो निलो हुन्थ्यो। अनि जीउ तातेर आउँथ्यो। म डरले थर्थर काप्दथेँ।'
'नडराऊ, कसले गर्दा तिमी अत्तालिन्छौ? त्यो मान्छेको नाम के हो? कहाँ छ? तिमी एक्लो छैनौ। के गर्छ? म छु तिमीलाई सुरक्षित राख्छु,' म एकोहोरो बोलिरहेँ।
कतिखेर उसको आमा त्यहाँ आएर कुरा सुनिरहेकी रहिछिन्। मैले त पत्तै पाइनँ।
आमा चाहिँ भन्दै थिइन्, 'लौ न मास्टर्नी नानी, हाम्ले त सकेनम् यसलाई ठिक पार्न। ल है हजुरकै भर छ, हजुरलाई नै आदर गर्छे।'
ऊ साँच्ची नै एक्लो भएकी थिई। ती निर्दोश आँखाहरूले सबै घटनाहरू खोल्दै थिए।
'म डरले लग्-लग् काप्दै थिएँ। तर मेरो आवाज सुन्ने कोही थिएनन्। मेरो शरीर शिथिल थियो। दिमाग शून्य र म पूर्ण रुपले नै रित्तिएको थिएँ।
स्कुलको गेटनेर पुगेपछि मेरो अनुहार अचानक कहालीलाग्दो भयो। लाइन झन्-झन् लम्बिँदै गइरहेको थियो। वनभोजबाट फर्किँदा म सिटमा बस्ने बित्तिकै जुरुक्कै उठ्न खोजेँ। तर त्यो ढोँगीले मेरो पाखुरा च्याप्पै समात्यो। जताततै छोइरह्यो। पछि फेरि मेरो शरीरमाथि झम्टिन थाल्यो।
कम्मर नजिक हात पुर्याएपछि जताततै अठ्याउन थाल्यो। थर्थर काप्दै त्यो ढोँगीनिर लास बनेर लडिरहेँ। केही गर्नै सकिनँ। आवाज पनि निकाल्नै सकिनँ। मेरो सम्पूर्ण शरीर चिसो र लुलो थिए। बसबाट झर्ने बेला गालामा म्वाइँ खायो, गाला चिमोट्यो। डरले म अझै कहालिएँ।
त्यो कहालीलाग्दो पीडाको आक्रोश बोकेर म रातभरि झस्किरहेँ, तर्सिरहेँ। हिजो फेरि एक्कासी स्कुलमा पढाउने बेला उसले मलाई चिम्टियो र ढाँड पछाडि बेस्सरी हान्यो। मेरो त आवाजै फुटेन। म दिनभरि थर्थर कापेँ।'
बोल्दाबोल्दै ऊ मेरो हात च्याप्प समाउँदै रुँदै थिई- 'मेरो सर्वश्व यही एउटा शरीर हो। यसको रक्षा गरिदिनू, नयाँ जीवन दिनोस् म्याम, मलाई बचाइदिनू। हजुरको साथले म ढुक्कसँग हिँड्न सक्छु।'
एकाएक ऊ फेरि कहाली, अत्ताली- 'यो अवस्थामा पुर्याउने अरु कोही होइन, हाम्रो स्कुलको ढोँगी हेडमास्टर हो।'
अब मेरा आँखाहरू खुलेका खुलै थिए। मलाई थाहा छ, ती आँखामा उसका असुरक्षित सपनाहरू मात्र छैनन्, जीवन बुन्ने चित्रहरू पनि छन्। शिखर चुम्दै चुनौतीलाई चिर्दै प्रगतिको पथमा लम्किने वास्तविकता पनि छन्।
अचानक ऊ मेरा छेउमा आई र भनी, 'त्यस ढोँगीले छोएको पटक्कै मन पर्दैन, असह्य पीडालाई कसरी न्याय दिलाउँ! यति गर्न नसके म भित्रभित्रै गुम्सिएर जिन्दगीबाट टाढा हुन्छ! उकुसमुकुसमा बेरिएर जिन्दगीभरि!'
बोल्दाबोल्दै ऊ भुइँमा थुचुक्कै बसी मतिर मुन्टो फर्काएर– आशा गर्दै! निमाले धक फुकाएर पीडा पोखेपछि मैले भनेँ, 'नअताल्लिऊ तिमी, म छु। सबै अप्ठ्याराहरूको सामना गरौँला। अबदेखि त्यो पापीले तिमीलाई कहिल्यै छुन सक्ने छैन।'
एकाएक उसको अनुहार उज्यालियो, 'म ढुक्कसँग पढ्न र बढ्न सक्छु नि? मेरो कुनै गल्ती छैन नि?'
निमाको दुःख सम्झेर आँखा रसाए। मन चुँडियो। म बोल्न सकिनँ।
एकैछिन मौनता छायो। एकैछिनपछि मौनता तोड्दै सहानुभूतिपूर्वक 'अब के गर्छौ त निमा? अब यतै बस्ने नडराऊ तिमी, डटेर दुर्व्यवहारका पर्खाललाई भत्काउँदै अघि बढ्ने। तिम्रा लागि यही हजारौँ अवसरका ढोकाहरू खुला हुनेछन्।'
ऊ खुसी हुँदै मलाई अंगाल्न आइपुगिन्।
मैल खिन्न हुँदै बोल्दा आमा बाहिरसम्म हेरेर टोलाइरहिन् 'बाहिर खतरा छ! भो नजा पर निमा।'
आखिर किन प्रगति पथमा तगारो बनिरहेका हुन्छन हरेक चोटि यहीँ समाजका यौनपिपासुहरू? आखिरमा नडराई-नडराई बाहिर निस्की संसारको यात्रामा। आँटी निमा। साहसी निमा।'