महोदय!
तिमी प्रत्येक एक अंकमा
जित अनि हार देख्दैछौ
तर म हरेक दिन
आफ्नो जीवनको अंकगणित मिलाउन
परदेशिने दाजुभाइ सम्झिरहेछु
सम्झिरहेछु
अंकगणित मिलाउँदा मिलाउँदै
बाकसमा बन्द भएर
एयरपोर्टमा आउने
सपनाका चाङहरू
सम्झिरहेछु
तिमीले तिम्रो अंकगणित मिलाउन
गरेका तथाकथित भाषणका
एक डङ्गुर आश्वासनहरू
जहाँ तिम्रो जितपछि तिमीले
हाम्रा दुःख र पीडाका अंकगणित देख्दैनौ
दख्दैनौ भोको अनि नाङ्गो शरीर
त्यसैले
महोदय!
म खोज्दै छु
अंकगणितको नयाँ कोर्स
जहाँ सुशासन र समृद्धि जोड्दै
हिसाब फच्चे गर्न सकियोस्।