मेरो भविष्यको परीक्षा र
देशको भविष्यको नतिजा
सँगै आउँदै छ
मैले 'जित्नु पर्ने' छ
तर देशले 'जित्नै पर्ने' छ
त्यसैले
ईश्वर
बरु मै हारूँला तर
मेरो देशले जिताइदेऊ।
बस् बल्लबल्ल बल्न लागेको आशाको दियोहरू
निभ्छन् कि भन्ने लायो
त्यही बेला
निर्मला बहिनी तिम्रो याद आयो
रातो बाकसमा आएका बाको याद आयो
लिपुलेक, एमसिसी र सुगौली सन्धी याद आयो
मेरा सन्ततिको भविष्य याद आयो
मेरो सर्टिफिकेट, देशको ऋण, भष्टाचार,
महंगी, व्यापार घाटा, संघीयता... सबै याद
आखिर यी
सब कसरी आयो?
त्यही बेला
विदेशबाट
'दाइ म बेचिएँ, अब देश फर्कन्नँ' भन्दै बहिनीको फोन आयो।
जब दियो निभ्छ कि झैँ लाग्यो
बहिनीको फोन आयो
पत्तो पाइनँ
आँखाबाट आँसु आयो
त्यसैले
रातभर आँखाहरू खुला रहे
परीक्षा नजिक थियो
तर
किताबहरू बन्द रहे
किनकी त्यही बेला याद आयो
बहिनी, लिपुलेक र
'नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।'