तिमी मेरा अपार प्रेमका अन्तरवियोग केन्द्रहरूलाई चितामा दागबत्ती दिएर स्वर्णिम आनन्दको अनुभूति मात्रै गरेनौ, एक पक्षीय प्रेमको अथाह गहिराइमा पौडिएर जीवनको भिख थापिरहेको जिउँदो लासलाई सम्मानको दोसल्ला समेत भिराउन असमर्थ देखायौ।
हो प्रिय, लाखौं र करोडौंको रोहबरमा तिम्रो प्रगतिको पाइलाहरूसँगै साथ दिन सक्ने हैसियत कहाँ छ र मसँग? हिजो र आजको अवस्था, परिस्थिति कस्तो थियो र कस्तो छ? यो तिमी जान अनि तिमी नै बुझ।
तिमीजस्तै हजारौं ज्ञान र सीपको विज्ञता कहाँ बन्न सक्छु र म? त्यसैले तिमीलाई गुमाउनुमा मेरो मन कत्ति दुखी छैन। सदा तिम्रो खुसी चाहने शुभचिन्तकको नाताले पनि त म तिम्रो इच्छा-आकाङ्क्षालाई लुट्न सक्दिनँ।
मेरो लागि त तिमी प्रतिष्ठित व्यक्ति हौ, एक सक्षम र समाजको विवेकशील व्यक्तित्व हौ। तिम्रो अघि म भुइँमा उड्ने धुलो भैसकेको छु। चाहे त तिमीलाई एउटा पागलले जे पनि गर्न सक्छ तर भनिसकेँ नि, तिम्रो प्रतिबिम्बको झझल्कोमा मात्रै जिउने कोसिस गरौँला तर कसैको जिन्दगीमा उजाड मरुभूमि बनेर छोइन चाहन्नँ।
प्रिय, हुन त तिमी मलाई विश्वास गर्दैनौ। मेरो हरेक शब्दहरू तिमीलाई देखावटी र नाटकीय चलचित्र लागिरहेको छ। तिमीलाई त मेरो बोली मात्र होइन, मेरो ज्यान हावामा उड्ने पुतली लागिरहेको छ अनि मेरो जीवन सित्तैमा पाएको खेलौना जति पनि लाग्दैन रैछ। र त आज मेरो जिउँदो आत्मालाई समवेदनाका शब्दहरू पनि खर्चिन कति गाह्रो मानिरहेको छौ।
आखिर मबाट के चाहेका थियौ? अनि के सबै पायौ? पायौ तर तिम्रो पापी मनको सबै प्यास आखिर मेटियो त? के लाग्छ तिमीलाई एउटा छोरीमान्छे? के तिमी छोरीमान्छेको गर्भबाटै जन्मिएनौ र? तिम्रो दिदीबहिनी, श्रीमती र ममा के फरक देख्छौ तिमी?
म आफ्नै निरन्तर पाइलाहरू पछ्याइरहेकी थिएँ। अभावमा थिएँ या पूर्ण थिएँ, यो नितान्त व्यक्तिगत पाटो थियो मेरो जीवनको। भेट हुनुसँग मेरो गुनासो छैन, गुनासो त त्यहाँ छ कि यात्रामा भेटिएको मान्छे तिमीजस्तो जो पाएँ मैले।
मबाट के अपेक्षा थियो तिमीलाई? आखिर मेरो दोष के थियो? मैले तिम्रो के खाइदिएको थिएँ र? के बिगारिदिएको थिएँ र? आज आएर मलाई मर्नु न बाँच्नुको दोसाँधमा उभ्याएर छोडिदिएको छौ।
हुन त म तिमीलाई सबै दोषहरू दिन चाहान्नँ। गल्तीहरू मेरै थिए। मैले मेरो परिवारभन्दा माथि तिमीलाई राखेको थिएँ। म परिवारलाई सुन्न चाहान्न थिएँ, बुझ्न चाहान्न थिएँ। मेरो घरपरिवार, दाजुभाइ, दिदीबहिनी, समाज अनि आफन्त यी सब फिक्का थिए तिम्रा अघि!
मैले हरेक डर, सोच भावना, र इज्जत बिर्सिएको थिएँ। मैले हरेक सीमा र इज्जतलाई दाउमा राखेकी थिएँ। मैले मेरो भविष्य बिर्सिएको थिएँ। परिवारको मूल्य र मान्यतालाई तिलाञ्जली दिएकी थिएँ।
तिमीले गरेका फिक्का सहयोग, दहीचिउरे बोली, व्यवहारिक बानीव्यहोरा, लाखौं झुटा सपनाहरू र मेरो जिन्दगी भित्रको तिम्रो त्यो गिद्धेनजर। हो, मैले बुझिनँ र त आँखा चिम्लिएर तिमीलाई विश्वास गरेँ। तिम्रो आवाजहरू सुनिरहेँ। तिम्रो बाटो पछ्याइरहेँ अनि ती तिम्रा झुटको प्रतिबिम्बित आवाजहरूको म दुनियाँ बिर्सिएर सधैं पछ्याइरहेँ।
हो, म तिम्रै पाइलाहरू पछ्याइरहेँ। गल्ती लाखौं मेरै थिए र त आज सजाय म आफै भोग्दैछु। तिम्रो नाटकीय प्रेम चिन्न नसक्नु र तिम्रा हरेक प्रस्तावहरू स्विकार्नुले आज रातदिन आत्मग्लानीको रापमा म पिल्सिरहेको छु।
संसार परिवर्तनशील छ। परिवर्तन जरूर छ। जरूर छ भन्दैमा तिमी बदलिएर कसैको जिन्दगीमाथि खेलबाड गरेर के विश्वयुद्ध जित्यौ र? हजारौं झुटा सपनाहरू देखाएर कसैको इज्जतमाथि खेलेर आज तिमी कति उचाइमा छौ? तिमी आफूले आफूलाई के देख्छौ र सोच्छौ? सोध्न मन लागेको छ। छिः तिम्रो आदर्श र बोली!
आखिर मृत्यु सबैले स्विकार्नुपर्छ नै। यहाँ अजम्बरी कोही छैन। यदि भयो भने तिमी हुनू, जिन्दगीको ठूलै घमण्ड जो तिम्रो मनमा छ।
जिन्दगीको करोडौं मोडमा तिमी र तिम्रा कारणले समुन्द्र सरी मैले आँसु बगाएको छु। करोडौं चोट र आरोपहरू खपेको छु। हजारौं दुखाइ र पीडा सहेको छु। सयौं तिम्रा वचन र तिता कर्महरूले मन पोलिएको ठुटोजस्तै मेरो रातदिन पिल्सिएको छाती लिएर बाँच्न विवश छु।
साँच्चै तिमीलाई ख्यालठट्टा लाग्न सक्छ, आज म एक मानसिक रोगी भएर बाँच्न बाध्य छु। साँच्चै तिमी एक महान् पात्र रहेछौ। साँचो माया नाटकीय शैलीमा उतारेर कोही कसैलाई नङ्ग्याएर कुनै टेलिश्रृंखलाको एक सफल नायकको भूमिका खेल्न सक्ने तिम्रो सामर्थ्यतालाई मेरो लाखलाख सलाम छ।
हुन त मेरो जीवनमा हाँसो, खुसी, मिलन र उल्लास कहिल्यै पनि लेखेको छैन रहेछ। भगवानले मेरो भागमा मात्र आँसु, पीडा, रोदन बिछोड र धोका मात्रै लेखिदिएको रहेछ। तर केही छैन, आँसु पिएर बाँचेकै छु। तिमीजस्तो धोकेबाज विश्वासघातीलाई शुभकामना दिन पाइरहेकै छु।
आफू सफल हुन नसके पनि तिमीलाई सफलताको शिखर चुम्न सफल हौ भन्ने आशीर्वाद दिएकै छु। खेद छ तिमीलाई, दोष भने म दिन्नँ किनकी तिमी हिजो पनि अरुकै थियौ र आज पनि।
त्यसैले प्रिय अतीतको कथा र इतिहास पढेर पूर्खाले गरेको त्याग र बलिदान सम्झेर मातृभूमिको माटो छोई कसम तोडेजस्तै, मेरो पवित्र प्रेम र वाचा बन्धनलाई तिरस्कार गर्न सफल भएको तिमीलाई यो अभागिनीको लाखौं लाख शुभकामना ल!
जुन दिन हामीबीच भेट भयो, कुराकानी भयो र हामी नजिकिन थाल्यौँ, त्यही दिन तिमी झुट देखिनुपर्थ्यो। त्यही दिन तिमी धोखेबाज हुनुपर्थ्यो। त्यही दिन तिमीले आफ्नो असली पहिचान देखाउनपर्थ्यो।
म तिमीलाई नाटकीय पात्रको रुपमा माला र खादा ओढाई स-सम्मान रुपमा बिदाइ गर्ने थिएँ। म तिम्रो मिठा आदर्शमय कुराहरूमा डुबेर मेरा छ/सात वर्षहरू बेइज्जतीको दाउमा राखेर सिङ्गो शरीर, मानसिक रोग र मेरो भविष्य अन्धकारमा रुम्मलिन चाहन्न थिएँ।
म तिम्रा फुस्रा आदर्शहरूमा रुमल्लिएर मनमनै धेरै सपनाहरू बुन्न थालेको थिएँ। तिम्रा हरेक वचनहरू म सुन्न आँतुर हुन्थेँ, लाग्छ ममा खोई तिम्रो लत बसिसकेको थियो। म मात्र तिमी सोच्थेँ, तिमी! तिमी 'तिमी' नै रहेछौ। तिमी मलाई बाहिर आदर्शका चिल्ला कुरा गरेर भित्रभित्र अनेकौं षड्यन्त्र बुनेर लागिरहेछौ।
मेरो हरेक हाँसोभित्र तिमी बदला सोचिरहेछौ। हजारौं सान्त्वनामा रमाउन सिकाउँदै तिमी मेरो जीवनको गुदीगुदीमा धमिराजस्तै छिरेर मलाई बोक्रा मात्र बनाएर बीच सडकमा छाडिदिने भयंकर सपना देखिरहेछौ। मिठो भोजन गराएर तिमी मिठो स्वाद खोज्ने जिब्रोलाई फकाइरहेछौ।
बाहिरी फिक्का इच्छालाई निशाना गरी तिमी मेरो भावनामाथि खेलिरहेछौ। यो मैले यतिबेला थाहा पाएँ कि मेरो संसारमा कोही थिएन। मैले नै टाढा बनाइसकेको थिएँ।
तिमीले मप्रतिको गरेको हरेक क्रियाकलापहरू किन थिए? केको लागि थिए? कुन समयको के कुराको बदला थियो? कुन जुनीमा मैले ऋण खाएको थिए? यो सबै भगवान् जानून् तर म यो कुरामा अनविज्ञ छु। यी सबै थाहा पाएर नि म तिम्रो पछि नै थिएँ।
सबै रित्तिएर पनि रहरले प्राण त्याग्न नसकेको म कहरको प्राण बँचाउन केही हुन्छ भन्ने आश लिएर जिउँदो लास अझै तिम्रो पछि लाग्न बाँध्य भएको थिएँ। तिमी मेरो बौद्धिकतालाई प्रश्न गरिरहेको थियौ कि अझै कति लाटी! कति सोझी!
म बाध्यतामा थिएँ, तिमी थकित मुद्रामा। यो कलियुग हो। यहाँ सबै दोहोरो चरित्र खेल्न सक्नेको चलिरहेको छ। यहाँ तिमीजस्ता लाखौं अपराधीहरूको जित भैरहेछ, भलो भैरहेछ। यो सायद वर्तमान कलियुगको विशेषता हो।
मूर्ख त आखिर म नै हो कि ऊ मेरो भाग्यमा छैन भन्दा पनि मरिहत्ते गरिरहने। ठिकै छ, मेरो प्रेम तिम्रा लागि विष साबित भयो। म तिमीले गरेको विश्वासघातलाई अमृत ठानी मृत्यु शय्यामा पुग्दा समेत जपिरहनेछु। जे जस्तो गरे पनि म तिमीलाई अझै पनि घृणा होइन, सँच्चा मनले माया गर्छु।
सँगै यात्रामा हिँडौं भनेर बीच सडकमा छाड्ने तिमीलाई फेरि पनि सलाम।
बिर्सिन्छु भनेर बिर्सन कहाँ सकिन्छ र? घाउ पुरिए पनि पटक-पटक झस्काउनलाई त दाग रहिरहन्छ। डाको छोडेर रुवाउन सिकायौ। मैले आफू र आफ्नो परिवार चिनेको थिइनँ, त्यो तिमीले चिनायौ। स्वतन्त्रता र सुखैमा रमेको थिएँ, तिमीले आँसु र जिन्दगीको अर्थ सिकायौ।
तिम्रो पापी मनबाट मलाई निकाले पनि तिम्रा यादहरूले मलाई निकाल्न सक्ने छैन। तिमी जति नै टाढा भए पनि, मलाई धोका दिए पनि तिम्रो जीवन सुन्दर र पवित्र होस्। मेरो माया र ममता जस्तो कहिल्यै कमी नहोस्।
सुख र दुःखमा तिम्रो आँसु कहिल्यै नझरोस्, ओठमा सधैं हाँसो रहिरहोस्। तिमी संसारको यति धनी र सुखी हुनु कि तिमीलाई विश्वले चिनोस्। यही छ तिमीलाई मेरो तर्फबाट लाखौंलाख शुभकामना।