सिन्धुपाल्चोकको ग्रामीण क्षेत्रमा जन्मिएँ। उकालो, ओरालो, दाउरा-घाँस गर्दै बाल्यकाल बित्यो। परिवारको आर्थिक अवस्था कमजोर थियो। बोर्डिङ स्कुलको सपना देख्नु भनेको चन्द्रमा छुनु जस्तो थियो मेरो लागि।
पाँच वर्षको पुगेपछि आमाले सरकारी विद्यालयमा भर्ना गरिदिनुभयो। त्यस बेलाको बाल मतिष्कले पढ्नभन्दा बढी खेल्न खोज्थ्यो। विद्यालयमा आएपछि एकातिर किताब फालेर म खेल्न डौडिन्थेँ। पढेर के हुन्छ भने ज्ञान ममा पटक्कै थिएन।
सानैदेखि खेलकुदमा रुचि थियो। विद्यालयस्तरमा हुने खेलकुदमा सहभागी भैरहन्थेँ। तर छोरी मान्छेले यसरी खेलकुद प्रतियोगिता भाग लिएको न समाजलाई मनपर्थ्यो न मेरो परिवारलाई नै। मलाई यी सबै कुरामा बन्देज लगाउन खोजिन्थ्यो। समाजले कुरा काटेपछि बाबाआमा पनि दुखी भएर मलाई कतै नजान आग्रह गर्नुहुन्थ्यो।
कक्षा ८ पास भएर ९ मा पुगेँ। त्यसै क्रममा अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भयो। त्यसमा मेरो पनि रहर र कल्पना भएकाले उक्त खेलकुदमा सामेल हुन निर्णय गरेँ।
तर मेरो त्यो निर्णयलाई परिवारले स्वीकार गर्नु भएन। कारण म घर छाडेर सदरमुकाम जानुपर्थ्यो। छोरी मान्छे यसरी विभिन्न ठाउँमा सहभागी हुँदै जाने हो भने बाआको इज्जत माटोमा मिसिन्छ भन्ने ममी बाबालाई डर थियो।
म सानैदेखि जिद्दी स्वभावकी थिएँ। मेरो रहर र आत्मविश्वासको कारण उहाँहरूको रोकावटले काम गरेन। म आफ्नो प्रतिभा सबै समक्ष देखाउन चाहन्थेँ। त्यसकारण जसरी पनि खेल्ने दृढ संकल्प गरेँ।
सदरमुकामको टुँडिखेलमा भएको कार्यक्रमका लागि साथीहरूसँग चौताराका लागि निस्केँ। मेरो लागि सदरमुकाम काठमाडौँ सहर जतिकै नौलो थियो। चौतारा पुगेपछि थाहा भयो उक्त कार्यक्रममा २० वटाभन्दा बढी विद्यालयको सहभागीता रहेको थियो।
मैले १५ सय मिटर म्यारथनमा भाग लिएको थिएँ। त्यस प्रतियोगितामा ३० भन्दा बढी विद्यार्थी सहभागी थिए। तीव्र प्रतिस्पर्धा भएको उक्त खेलमा मलाई पटक्कै डर लागेन। मेरो साथमा मेरो विद्यालयका अन्य साथीहरू पनि भएकाले हौसला पाएको थिएँ।
१५ सय मिटर म्याराथनमा म प्रथम भएँ। गलाभरि माला र झोलाभरि पुरस्कार बोकेर घर पुग्दा मैले नोवेल पुरस्कार पाएको जस्तै गरेर मेरो ममीबाबा खुसी देखिनुभयो।
त्यसबेला छोरी मान्छेले भलिबल छुनु हुँदैन भन्ने मानसिकता थियो। म त्यो संकुचित धारणबाट निकै माथि उठ्न चाहान्थेँ। त्यसकारण अब म भलिबल खेल जतिसुकै जटिल भए पनि सामना गर्न चाहान्थेँ।
त्यसपछि ममा झन् हौसला बढ्यो। पढाइसँगै बाहिरी कुरामा पनि ज्ञान लिनु पर्छ भन्ने धारणाको विकास भयो। त्यसपछि म कक्षा ९ पास गरेर दश कक्षामा पुगेँ। त्यो कक्षा नै मेरो विद्यालय जीवनको अन्तिम कक्षा थियो।
हामीले केटी साथीहरूको एउटा टिम बनायौँ। हाम्रो यो उत्साहलाई शिक्षकहरूले पनि साथ दिनुभयो। लिडरको रुपमा सहयोग गर्न मुना शाही मिस तयार हुनुभयो। उहाँले खेल नखेले पनि हामी केटीहरूलाई बारम्बार उत्प्रेरणा दिइरहनुहुन्थ्यो।
त्यही क्रममा मेरो परिचय देवकी भण्डारीसँग हुन पुग्यो। केही समयमै ऊ मेरो मिल्ने साथी बन्न पुगी। विस्तारै-विस्तारै ऊसँगको मित्रता झाँगिदै गयो। ऊ र म बेलाबेलामा भलिबलको तयारी गर्न जान्थ्यौँ।
खेलको रहर एकातिर थियो भने अर्कोतिर एसएलसीको परिक्षा नजिकिँदै थियो। मेरो मन घरीघरी पढाइ छाडेर खेलतिर पुग्थ्यो। टेस्ट परीक्षा आउन केही समय बाँकी थियो। म अर्को कम्पिटेसनका लागि लामसाघुँ गएँ। यसपटक मैले तीन वटा खेलमा भाग लिएको थिएँ। हाम्रो टिम अन्तरविद्यालयस्तरीय भलिबलमा तृतीय भयो।
त्यसबेलासम्म ममीबाबा मेरो समर्थनमा आइसक्नुभएको थियो। त्यसकारण मलाई समाजको कुनै डर थिएन। यो देशको विकासका लागि लाग्ने मेरो संकल्प थियो।
टेस्ट आउन लगभग १५ दिन बाँकी थियो। फेरि सामाचोकमा २ हजार मिटर म्याराथन प्रतियोगिता हुने भयो। त्यस प्रतियोगितामा म र देवकी हामी दुवै छनोट भयौँ। यो हाम्रो करिअरको सुरुआत मात्र थियो। हाम्रो लक्ष्य निकै फराकिलो र माथि थियो।
हामीलाई बेलाबेलामा मुना मिसले पनि सहयोग गर्नुहुन्थ्यो। त्यसैको प्रतिफल होला उक्त प्रतियोगितामा ऊ फस्ट भई, म सेकेन्ड तर मलाई आफू पछाडि परेँ भन्ने महसुस नै भएन। खेलको लागि विभिन्न साथीहरू र शिक्षकसँग सम्पर्क गर्नुपर्थ्यो। त्यसकारण ममीले मोबाइल र सिमकार्ड किनिदिनुभएको थियो।
टेस्ट सकियो। ठिकै अंकसहित पास पनि भएँ। अनि एसएलसीको तयारीमा जुटेँ। त्यसै बीचमा मेरो जिन्दगीमा अनौठो परिवर्तन आयो। मेरो शरीरमा केही परिवर्तन आइरहेको थियो। तर के भइरहेको छ बुझ्न सकिरहेको थिइद्दँ।
त्यसैबीच म एकजना युवकसँग नजिकिन पुगेँ। ऊ मेरो साथी देवकीसँग चिनजान भएको साथी रहेछ। अमिर थियो उसको नाम। सदरमुकाम चौतारामा बसेर १२ कक्षमा पढ्र्दो रहेछ।
विस्तारै ऊसँग कुरा हुन थाल्यो। सुरु-सुरुमा ऊसँग बोल्न निकै डर लाग्थ्यो। जब उसको फोन आउँथ्यो मेरो हातगोडा फतक्कै गल्थ्यो। म साग जसरी ओइलाउँथेँ। उसको आवाज निकै मिठो थियो। त्यसकारण फोनमा बोल्न थालेपछि रात बितेको समेत पत्तो हुँदैनथ्यो। कति रात हामीले अनिदो नै बितायौँ।
यता एसएलसी, उता ऊ। बीचमा बसेर जीवनको लय मिलाउन मलाई धेरै सकस थियो। कोचिङबाट आउनेबित्तिकै म फोनमा झुन्डिन्थेँ। त्यसकारण म ममीको गाली पनि गज्जबले खान थालेको थिएँ।
त्यो बेलासम्म हामी फेसबुकमा पनि जोडिएका थिएनौँ। मेरो नोकियो सेट थियो, त्यसमा नेट चल्दैन थियो।
ऊसँग कुरा हुँदाहुँदै मैले सबै कुरा बिर्सिसकेको थिएँ। घरका कसैको पनि याद हुँदैनथ्यो। हर बार हर मौसम उसकै प्रतीक्षा गर्थेँ। मैले जानिनँ उसलाई पनि यस्तै छट्पटी हुन्थ्यो कि नाइँ? नदेखी, नभेटी गरेको यो मायाले म स्वयम नै आश्चर्यमा परेको थिएँ।
फोन बोकेर घरी बारीको पाटा त घरी भैँसीको गोठमा पुग्थेँ। एक दिनमा चार/पाँच घण्टा त फोनमै बोलेर सकिन्थ्यो। यस्तो लाग्थ्यो हाम्रो प्रेम भेटेर नै भएको हो।
पढ्न धेरै कोसिस गर्थेँ तर सक्दैनथेँ। जति पढ्छु भन्यो उति कल र मेसेजमा झुन्डिन्थेँ। परीक्षा आयो/गयो, परीक्षाले प्रेममा कुनै फरक नै पारेन।
एसएलसी पछिका तीन महिना यसैगरी बिते। रिजल्ट आयो, थर्ड डिभिजनमा पास गरेछु। तर पनि मलाई पछुतो भएन किनभने उसको साथ पाउँछु भन्ने पूर्ण विश्वास थियो ममा।
कुराकानी गरेको चार/पाँच महिनामा हामी एकदमै निकट भयौँ। नदेखेका थियौँ न भेटेको। कहिलेकाहीँ त लाग्थ्यो हामी मायामा पो छौँ कि? उसलाई सम्झेपछि मनमा बेग्लै किसिमको उमंग आउँथ्यो। थाहा छैन हामीबीच कस्तो मायाको पालुवा पलाउँदैथ्यो। उसको सम्झना र फोन बिना म एकछिन पनि टिक्न सक्दैनथेँ।
एकदिन उसले कल नगर्दा के हराएँ, के छुट्यो जस्तो हुन्थ्यो। मन उदास भएर फोनको घन्टी कुरिबस्थेँ। बेलाबेलामा उसको स्वरुप कस्तो होला? आँखा अनि मुस्कान कस्तो होला? सम्झेर बस्थेँ तर मेरो मनले कसैगरी पनि बिम्ब बनाउनै सक्दैन थियो।
फोनमा बसेको माया भेटेपछि पनि उस्तै होला त? के हाम्रो प्रेमले गति लेला त? अथवा देख्दै नदेखी, भेट्दै नभेटी कुरामा मात्रै सीमित हुन्छ? यस्तै तरंगहरू मनमा आइहरन्थे। म हरपल हरक्षण उसैमा समाहित बन्न थालिसकेको थिएँ।
एकातिर उसको माया थियो, अर्कोतिर परिवार र समाजको डर। घरीघरी छुट्ने पो होकि भन्ने भयले सताउँथ्यो। कहिलेकाहीँ सोच्थेँ, साँचो मनले देखेको यो सपना पूरा होला त? ऊ मेरो पहिलो प्रेम थियो। उसलाई म कसैगरी पनि गुमाउन चाहन्न थिएँ।
एलएलसीपछि बाबाले मलाई काठमाडौं पठाउने निर्णय लिनुभयो। यो कुरा मैले सबैभन्दा पहिले अमीलाई सुनाएँ। ऊ पनि निकै खुसी भयो।
मैले उसलाई काठमाडौंमा भेट्ने बोलाएँ। केही दिनमा ऊ पनि काठमाडौँ जाने भयो। हाम्रो भेट्ने दिन नजिकिएकाले म पनि औधी खुसी थिएँ। पहिलोपटक एकअर्कालाई देख्ने दिन नजिकिँदै थियो। उसलाई भेट्ने कुरा सम्झदा पनि मन सिंरिंग हुन्थ्यो। मुटुको घड्कन सहनै नसक्ने गरेर तीव्र गतिमा चल्थ्यो। कस्तो होला ऊ? घरीघरी मनले उसकै मुहारको बिम्ब बनाउँथ्यो।
साउन महिनाको चार गते म घरबाट काठमाडौँका लागि निस्किएँ। आमाले रातो टिका लगाइदिँदै उज्वल भविष्यको कामना गर्नुभयो। तर मलाई त्योभन्दा पनि पहिला उसलाई भेट्ने तीव्र चाहना थियो।
चार/पाँच घण्टाको यात्रापछि कोटेश्वर पुगेँ। भर्खर काठमाडौँ आएकाले मेरो आफ्नो कोठा थिएन। ठूलोममीको घरमा बस्ने कुरा भएको थियो। उहाँ बानेश्वर बस्नुहुन्थ्यो।
काठमाडौं आएको केही दिनपछि हाम्रो पहिलाकै योजनाअनुसार कोटेश्वरमा भेट्ने भयौँ। कोटेश्वर चोकमा पुगेर उसलाई मेसेज गरेँ। आफू १५ मिनेटमा आइपुग्ने बतायो।
त्यसबीच म निकै नर्भस भएँ। कस्तो होला ऊ? कस्तो होला उसको हाँसो? मलाई देखेपछि कस्तो प्रतिक्रिया दिन्छ होला? मैले जीवनमा कसैलाई नदेखी नभेटी प्रेम गरेको थिएँ। यो सम्बन्ध प्रेममा सीमित होला कि विवाहसम्म पुग्ला?
यस्तो सोच्दासोच्दै कसैले मेरो हात च्याप्प समायो। यसो हेरेको निकै राम्रो युवक मलाई हेरेर मुस्कुराइरहेको थियो। उसले मलाई कसरी चिन्यो भनेर म त अचम्ममा परेँ। मेरो त झन्डै मुटुको धड्कन रोकिएको। उसले नजिकै बसेर खाजा खाने प्रस्ताव गर्यो। मेरा हात गोडा थर्थराइरहेका थिए। त्यसकारण अर्को दिन भेट्ने बहाना गरेर म त्यहाँबाट निस्किन खोजेँ।
तर पछि याद आयो। उसलाई भेट्ने खुसीमा मैले त छाता नै हराएछु। उसले छाता ल्याएको रहेछ। आधा-आधा छाता ओडर हामी बानेश्वरतिर लाग्यौँ। ऊससँग छोइने डर टाढा भएर हिँड्दा मेरो आधा ज्यान भिजिसकेछ। भिज्ने मामिलामा ऊ पनि अछुतो रहेन।
पहिलो भेट झमझम परेको पानी हाम्रो प्रेम कहानी कुनै नेपाली चलचित्रभन्दा कम थिएन। उसले मलाई ठूलोममीको घर नजिकै छोडिदिएर फर्कियो।
ठूलोममीको पुगेपछि पनि दिउँसको घटनाले सताइरह्यो। मलाई जतिबेला पनि उसको मात्रै याद आउन्थ्यो। म कहिले रुन्थे, कहिले रोमाञ्चक हुन्थेँ। त्यसपछि हाम्रो सम्बन्ध झन प्रगाढ हुँदै गयो। फोनमा घन्टौँ बोल्दा पनि झल्को नमेटिएपछि कहिलेकाहीँ ऊ काठमाडौँ आइपुग्थ्यो, म चौतारा पुग्थेँ। बीचमा हुने माया र झगडा पनि उस्तै थियो।
हामीबीच कति रात साटिए, कति साथ त्यसको हिसाब हामी दुवैसँग थिएन।
त्यस बेलासम्म म उसको परिवारसँग पनि जोडिन पुगेको थिएँ। उसको ममी, अन्टीहरूले मलाई बुहारी भनेर जिस्काउनु हुन्थ्यो। म लाजले रातो हुन्थेँ। बोल्न खोज्थेँ, शब्द घाँटीसम्म आएर अड्किन्थ्यो। उसको र मेरो प्रेम कहिले पनि छुट्दैन भन्ने अवस्थामा पुगेको थियो।
एकदिन घरबाट फोन गरेर बाबाले विवाह गरिदिने बताउनुभयो। यता प्रेम भएकाले विवाह गर्ने मनसाय मेरो थिएन। घरबाट दिनदिनै प्रेसर आउन थाल्यो। म कुनै पनि हालतमा विवाह गर्ने मनसायमा थिइनँ। जबरजस्ती भयो भने ऊसँग भागेर विवाह गर्ने योजना बनाइसको थिएँ। तर उसँग यो कुरा भन्न हिम्मत नै भएन।
दिन प्रतिदिन घरबाट विवाहको प्रेसर आउन थाल्यो। घरमा मलाई नयाँ-नयाँ केटाको प्रस्ताव आएको ममीले सुनाउनुहुन्थ्यो।
अति भएपछि एकदिन उसलाई सबै यथार्थ भनिदिएँ। उसको आर्थिक अवस्था सबल थिएन, म पनि पढ्दै थिएँ। आगामी यात्रा कसरी अगाडि बढाउने भन्ने कुरा हामीले सोच्न सकेका थिएनौँ।
एकदिन उसले भन्यो, 'कतै कोठा खोजेर बस न। अहिले त मेरो पढाइ पनि सकिएको छैन। गतिलो काम पनि छैन। मेरो उमेर पनि धेरै भएको छैन, कसरी विवाह गर्नु?'
मैले उसलाई धेरै अनुरोध गरेँ तर उसले मेरो हरेक कुरा वास्ता गर्न छाड्यो। धेरै पटक फोन गर्ने प्रयास गरेँ तर उसले न फोन उठायो म मेसेजको रिप्लाई नै दियो। त्यसपछि मलाई जिन्दगी नै नरमाइलो लाग्न थाल्यो। के गुमाएँ, के हराएँ जस्तो हुन्थ्यो। रातभरि रुन्थेँ, आँसुले सिरान भिज्थ्यो। तर पनि उसले मसँग कुरा गर्न चाहेन।
त्यसपछि प्रेम र विवाह अलग रहेछ भन्ने महसुस गरेँ। ऊ मेरो पहिलो प्रेम थियो। मैले त उसलाई मनैबाट प्रेम गरेको थिएँ तर उसले भने मलाई प्रयोग मात्रै गरेको रहेछ। त्यसपछि घरमा फोन गरेर विवाह गर्न राजी छु भनिदिएँ।
बाहिरी मनले त उसलाई बिर्सन्छु जस्तो लाग्थ्यो। जब साँझ पर्थ्यो मन सम्हाल्न सक्दैनथेँ। मैले चोखो प्रेम गरेँ तर उसले त गरेकै रहेनछ।
विस्तारै-विस्तारै भुल्दै जानुपर्ने बाध्यता थियो। बीचमा न उसले कहिल्यै फोन गर्यो न मैले उसलाई फोन गरेँ। यता बाबा आमाले खोजेको केटासँग मेरो विवाह पक्का भयो। तर अचानक उसको हजुरआमा बित्नुभएछ। त्यसकारण यता पनि मेरो विवाह हुन सकेन।
घरीघरी उसको याद आएर मुर्छा पर्थेँ। तर उसँग जिन्दगी बिताउने कुरा कल्पनामा मात्रै सीमित भए। नदेख्दै बसेको माया हिउँमा पहिलोपटक सूर्यको प्रकाश परेजसरी पग्लियो।
बीचमा ऊसँग घुमेका हिँडेका र हामीले देखेका सपना सम्झिन्थेँ। कुरा नभएको तीन महिना बित्यो। हामी प्रेममा रहँदा धेरै पटक नयाँ-नयाँ ठाउँमा घुम्न गएका थियौँ। हामी घुम्न जाँदा जहिले पनि पानी पर्थ्यो। हाम्रो सम्बन्ध यति चिसो हुनलाई पो रहेछ सधैँ पानी परेको।
एक दिन पानीसँगै हुरी बतास र चट्याङ् पनि परेको थियो। त्यो नै हाम्रो अन्तिम भेट रहेछ। एउटै भूगोलमा भएर पनि हामीबीच न कुरा भयो न भेट, मनै भाँचिएपछि सबै कुरा बिरानो हुँदो रहेछ।
ऊसँग अन्तिम पटक भएको कुरा सम्झेँ। विवाहको कुरा गर्दा उसले भनेको थियो- 'च्याट गरेजस्तो सजिलो हुन्छ र विवाह गर्न?'
त्यसपछि म निःशब्द भएकी थिएँ।
मैले बल्ल पो महसुस गरेँ कि उसले मलाई प्रेम गरेको होइन रहेछ। मेरो किशोरावयको मनले उसको प्रयोगलाई पनि प्रेम सम्झेर बारम्बार ऊसँग समाहित हुने रहर गरिरह्यो। मेरो खेल जीवन पनि उसकैको मायासँग पूर्णबिराम लाग्यो। अन्जानमा मैले निकै ठूलो गल्ती गरेँ।
त्यसपछि उसको सम्झना आउने सबै कुरा त्यागेर सम्पर्कविहीन जस्तै भएँ। मैले गरेको चोखो माया उसले मजाक ठानेको रहेछ। नदेखेको माया कल्पनामै सीमित भयो।
एकदिन असह्य याद आयो। उसको आवाज सुन्नका लागि फोन गरेँ। उसले सुरुमा त मेरो आवाज नै चिनेन। फेरि फोन गरेर आफ्नो परिचय दिएँ। त्यसपछि उसले मेरो फोन काट्यो, फेरि गरेँ फेरि काट्यो।
धेरै पटक फोन गरेपछि आन्टीले उठाएर अमिरको विवाह भैसकेको सूचना दिनुभयो। म धरहराबाट खसेजस्तै भएँ। यदि ऊसँग बोल्ने समयमा मैले पढाइलाई र आफ्नो व्यक्तित्व विकासका लागि दिएको भए आज मेरो नाम निकै उच्च भैसक्थ्यो।