न त बा-आमाले बाटो खोलिदिएको, न त छोराछोरीले फेर छोडिदिएको, यति नमिल्दो समयमा रमाको श्रीमानको स्वर्ग जाने समय भएछ।
हे भगवान! बुढा भएका बुवा आमा, सानो बच्चा!
गोमाको मेसेज पढ्ने बित्तिकै म एक्कासि कराउन पुगेछु।
बिहान उठ्ने बित्तिकै स्विच अन गरेर फोन हेर्दा गोमाको पाँच मिस्ड कल र एउटा मेसेज रहेछ।
‘रमेशको कतारमा कारखानामा काम गर्ने क्रममा निधन भएछ शव आज एअरपोर्ट आउँदै छ। आज नै पशुपतिमा दाहसंस्कार गर्ने भएकाले तिमी पशुपति आउनू है। म पनि उतै जाँदैछु, यो मेसेज पढ्ने बित्तिकै मलाई कल ब्याक गर्नू।’
मेरो हातबाट फोन खस्यो।
केको कल ब्याक गर्नु!
मेसेजको रिप्लाइ पनि गरिनँ। भुइँमा खसेको फोन टिपेर गोजीमा राखेँ, अनि सिधै पशुपतितिर हान्निएँ।
पशुपति भन्ने बित्तिकै महादेवको ठूलो मन्दिर जसको अगाडि ठूलो पहेँलो बसहाको मूर्ति, फूल, धूप बेलपत्रको वासना हँसिला धार्मिक मान्छेहरूको भिड मेरो दिमागमा आउँथ्यो तर आज पशुपति भन्दा लहरै जलेका चिता, उदासिन मान्छेहरू, मान्छेको मन नै धर्काउने अनि श्लेषमान्तक वन थर्काउने रूवाबासी। पशुपति सुन्नासाथ मेरो दिमाग आउने राम्रो दृश्य आज यस्तो नरमाइलोमा दृश्यमा परिवर्तन भयो।
लुगा फेर्ने त कुरै भएन चप्पल पनि जोडी मिले कि मिलेन याद नै गरिनँ। सधैं मूल गेटबाट पशुपति छिर्थें। आज बागमती तिरबाट कलिको मूर्ति भएको ठाउँमा गएँ।
गोमालाई टाढाबाटै देखेँ। चिनेका अन्य मान्छे पनि देखेपछि रमाको श्रीमानको मलामीहरूलाई ठम्याउन कुनै गाह्रो भएन। नजिक गएँ तर छेउमा जान सकिनँ। भाउन्न भएर आयो चिसो भुइँमा थ्याच्च बसेँ।
चिताको छेउमा रमाले सानो बच्चालाई दुवै हातले च्यापेर आकाशतिर हेरिरहेकी थिई। सायद रूने आँसु पनि सकिएछन्। बुढो भएको बुवाले दागबत्ती दिँदै थिए।
मेरा आखाँभरि स्कुल जीवनका दिनहरू नाच्न थाले। असाध्यै कम बोल्ने तर पढ्नमा र काम गर्नमा साह्रै मेहनती, बोल्ने शक्ति पनि काममै लगाउने रमा, काम गर्ने शक्ति पनि बोल्नमा लगाउने हामी। एसएलसीको तयारीसँगै बसेर गर्यौं। तयारी भन्दा धेरै गफ हुन्थ्यो हाम्रो। रमाको त होइन गोमाको र मेरो।
‘जिन्दगी सोचेजस्तै बनाउन मेहनत गर्नुपर्छ तिमीहरूजस्तै गफमात्रै गरेर सोचेरमात्रै हुन्छ र’'
कति न परिपक्व दार्शनिकले जस्तै सम्झाउथिई पन्ध्र वर्षकी साथी गोमाले।
‘जिन्दगी त केही गरे पनि सोचेँजस्तो त हुँदै हुन्न।’ लामै जिन्दगी बिताएको मान्छेले जस्तो रमाको कुरालाई गोमाले हावामा उडाई।
‘जिन्दगी सोचेजस्तै हुन्न भनेर सोच्नै छाड्ने त!’ मैले थपेँ।
आफ्नो बोल्ने स्वभाव जनाई हाल्न पर्यो मलाई।
एसएलसी सकियो। ऊ फर्स्ट डिभिजन, हामी सेकेन्ड डिभिजनमा एसएलसी पास।
प्लस टु गाउँको स्कुलबाटै पास गरेपछि हामी उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आयौं, उसको बिहे भयो। गाउँकै रमेशसँग, उनी वैदेशिक रोजगारीमा खाडी मुलुकमा।
दुई वर्षको एक पटक घर आउँ जाउँ गर्ने।
प्रत्येक दसैंमा कलेज बिदा हुने बित्तिकै हामी गाउँ जान्थ्यौं। गोमालाई हाम्रो घरमा आउने फुर्सद नभएकोले हामी नै उसको घरमा जान्थ्यौं।
स्कुल पढ्दा जसरी बोल्ने शक्ति पढाइमा लगाउथी। त्यसैगरी बिहेपछि चाहिँ काममा जीवन सोचेजस्तै बनाउन तर कम बोल्ने बानी चाहिँ अझै उस्तै।
उहाँ विदेश जानु भएको दुई वर्ष भयो। अब एक वर्षपछि आउनुहुन्छ। त्यसपछि त म पनि काठमाडौं पढ्न जान्छु। तिमीहरू मास्टर डिग्री, म जम्मा ब्याचलरमा अनुहार हल्का मलिनो भयो रमाको यो भन्दै गर्दा के भो त तेरो बच्चा हुर्किसक्यो हाम्रो त बिहेको टुंगो छैन।
रमा मुस्कुराई।
यति जोक नगरे त उसको मुहारमा मुस्कान देख्नै गाह्रो। सानैदेखि व्यवहारिक, उमेरभन्दा बढी गम्भीर न त बाल्यकालमा चकचके, न त वैशकालमा उत्ताउली अहिले त झन् बिहे गरेर घर खाकी बुहारी। उसको गम्भीरपनलाई हामीले स्वाभाविक नै लिन्थ्यौं तर हाम्रो बानी चाहिँ सुध्रिनेवाला थिएन।
‘तिमीहरूको जिन्दगी पनि उत्ताउली भएर जिस्किएर बित्ने भयो है’
पोहोर साल म दसैं बिदामा घर गएकोबेला उसको घरबाट फर्किन लाग्दा एक सिसीको काँक्रोको अचार हातमा थमाई दिँदै भनेकी थिई।
‘मलाई काँक्रोको अचार मनपर्छ भनेर थाहा छ है, तँ मेरो आमा होस् कि साथी?’
‘आमा नि काखमा बच्चा देखिनस्’ रमा हल्का मुस्कुराई।
‘उफ्! यो त अस्ति भर्खर मात्र जन्मेको, म बच्चा त तँ जन्मेको जम्मा एक वर्ष पछाडि,’ बल्ल रमाका दाँत देखिए।
‘अति त नहाँस्न। आफ्नो जिन्दगीको बारेमा पनि केही प्लान सोच्ने गरन’, रमाले खित्का छोड्दै भनी।
‘खै के जिन्दगीको प्लान एक बनाउनु आफ्नो प्लान त बढीमा एक हप्ताको हो त्यो पनि फिल्म हेरेर फिल्म हलबाट घर फर्कंदा अर्को हप्ता कुन फिल्म हेर्ने भनेर, नभए त साँझ सुत्दा भोलि बिहान कति बजे उठ्ने भन्ने योजना पनि पूरा हुने कुरा त अपवाद मात्र।’
हामी छुट्टिने बेलामा मलिनो अनुहार लगाएकी रमालाई मैले फेरि हसाँए।
‘तेरो जिन्दगी तैंले सोचेजस्तै होस् शुभकामना।’ जाडो बिदामा गाउँ आउँदा उसँग भेट्ने वाचा गर्दै म फर्किएँ।
हामी जहिले उसकोमा जाँदा जिन्दगी सोचेजस्तो बनाउन मेहनत गर्नुपर्छ त्यसैले उसले उसको बुढालाई विदेश उसकैको करमा पठाएको भन्थी।
ऊ फर्केर आएपछिको उज्वल भविष्यको योजना हामीलाई सुनाउँथि। ऊ साँच्चिकै परिपक्व जेहेनदार गम्भीर आफ्नो प्रगतिको लागि मरिमेटेर लाग्ने खालकी थिई।
ओहो! म त कता हराएछु मेरो अगाडिबाट बाँदर हामफालेर गएपछि बल्ल म झस्किएँ। जुरूक्क उठेँ। पाइन्ट जम्मै शितले भिजेछ। यस्तो चिसो हुँदा पनि कस्तो थाहा पाएनछु। टिसर्ट अलि तल तानेर भिजेको भाग छोपेँ।
अगाडि हेरेँ।
अघि गोमा अनि मलामीहरू भएको ठाउँमा कोही पनि थिएनन्। चिता पनि निभिसकेको, धूवाँ आकाशमा कतै बिलाउँदै थियो। गोमाले सोचेका योजना यही धूवाँसँगै बिलाए होलान् कि बाँकी होलान्।
हाम्रो अर्को भेटमा उसले भन्छे होला कि नाइँ जिन्दगी सोचेजस्तो कहाँ हुन्छ र!