आयौ कहाँबाट,जानु छ कहाँ
तिमी हिँडिरहनू है, जबसम्म पुग्दैनौं त्यहाँ
बसेका छौ जहाँ, हो यही तिम्रो घर
तिमी हिँडिरहनू है, जबसम्म पुग्दैनौँ त्यो पर
कतै सहज त कतै कठिन होला बाटोमा
आखिर पुग्नु छ जसोतसो, गएर त्यही माटोमा
तिमी फूल अनि काँडा दुवै अपनाउनू है
तिमी धैर्यताको सागर बनी बगिरहनू है
तिमी हिँडिरहनू है
केही छैन फरक तिमी र उनीमा
पाउनु या गुमाउनु, केही छैन यो जुनीमा
सबैभन्दा ठूलो आफूलाई चिन्नु हो
अरूलाई मुस्कान दिई आफ्ना लागि खुसी किन्नु हो
तिमी नबिर्सनू, आफूलाई चिनिरहनू है
तिमी हिँडिरहनू है
तिमी आफ्नो इच्छाले आएनौ
न्वारनमा नाम इच्छाको पाएनौ
तर जिउन चाहिँ तिमी धित मरुन्जेल जिउनू
अहमता त्यागी सबैसित प्रेम, स्नेह नै सिउनू
तिमी आगो अनि पानी दुवै सहनू है
हिँड्नै आएका हौ, तिमी हिँडिरहनू है
समय कसले कति पाउँछ, कसैलाई थाहा हुँदैन
रुँदै आएका थियौ, छोडी सकेसी तिम्रो देह रुँदैन
रुनु त उसलाई छ, जो हिँडिरहेको छ
हिँड्दा पक्कै तिम्रो मन पनि धेरै पलमा रोएको छ
तिमी सबै परिस्थितिमा मुस्कुराइरहनू है
साथ छुट्दै-जुड्दै जान्छन् बाटोमा, तिमी हिँडिरहनू है
ऐनले घर बोल्छ, घर भित्रको तिमी बोल्दैन
ऐनले घर बोल्छ, घर भित्रको तिमी बोल्दैन
जस्तो रूपमा छौ, त्यही अपनाउनू
तिमी लाञ्चना या घमण्ड नपाल्नू
व्यवहारले नै भित्री मन बोल्छ
मुहारभित्र लुकेको आचरण खोल्छ
तिमी ऐनमा होइन आचरणमा ध्यान दिनू है
तिमी हिँडिरहनू है
तिमी स्वयंलाई अपनाउनू
सबैलाई रिझाउने दौडमा
आफैलाई नगुमाउनू
जित र हार दुवै सहर्ष स्वीकार्नू
अरूलाई पछ्याउनुभन्दा आफैलाई सपार्नू
आफू भित्रको बालकलाई कहिल्यै नमार्नू
जीवनले जे-जे सिकाउँछ
तिमी सिकिरहनू है
तिमी हिँडिरहनू है।