फुटेर चिरा-चिरा परेको सिसा झैँ
अचेल मान्छेका मनहरू पनि
विभाजित अनि चिरा-चिरा भएका छन्
हृदयहरू फाटेका छन्
थोत्रो, पुरानो कोट झैँ
कसिङ्गर झैँ
मान्छेका मनहरू पनि
यत्रतत्र छरपस्ट भएका छन्
बटुल्नै नसकिने गरी
मनहरू फाटेकैले त
अचेल
परिवारहरू फाटेका छन्
वस्ती अनि समाजहरू फाटेका छन्
संवेदनहीन बनेका छन् ती हृदयहरू
पत्थर झैँ अनि फलाम झैँ
तर
आफैमा अस्थिर अनि विचलित छन् मनहरू
गृष्मको आँधीहुरी झैँ
वर्षा यामको बाढी झैँ
रकेटको गति झैँ
तीव्र गतिमा दगुर्दै छन् मनहरू
केवल, स्वार्थका खातिर
अनि कहिले जाति, क्षेत्र, धर्मका नाममा
कहिले राजनीतिका नाममा
कहिले सिमानाका नाममा
हेर्दाहेर्दै
मनहरू विभाजित हुँदै छन्
विश्व विभाजित हुँदैछ
मात्र, निजी स्वार्थ पूरा गर्ने खेलका नाममा।