सफल हुनेहरू आफूलाई महान् ठान्दा हुन्
चराहरूजस्तै स्वतन्त्र मान्दा हुन्
कपोकल्पित संसारमा सपना सजाए जसरी
लोक सेवा पास गरेको सपना म पनि देख्छु
हुन त मलाई इन्द्र जस्तो हुनु छैन
ऊ त व्यस्त हुन्छ
लोक सेवा पास गरेदेखि उसको फोन नै उठ्दैन
मानौँ उसले रातमा पनि कार्यालयका फाइल हेर्दो हो
त्यति महंगो पनि त बन्नु छैन
लोक सेवा पास गरेदेखि
जसरी प्रेमिकाको मूल्य बढेको छ
म सोचिरहन्छु
मानौँ मैले लोक सेवा पास भएँ भने
म पनि इन्द्रजस्तै व्यस्त हुँला
फोन गर्दा नउठाउने हुँला
कि प्रेमिका जस्तै
बहुमूल्य हुँला
यदि म बहुमूल्य भएछु भने
मैले के लोक सेवा पाससँगै बिहे गर्नुपर्ला
मानौँ मैले लोक सेवा पास गरिनँ भने
मैले मनपराएको पाउदिनँ होला
पिआर र सरकारी जागिरे हेर्नेहरूले
खेतमा काम गर्नेहरूलाई टेर्दैनन्
माटोमा खेलेका हातभन्दा
कुर्सीमा बसेर कलम चलाएका हातहरूको मोल हुँदा हुन्
यसकारण लोक सेवा पास गर्नुपर्नेछ।