जिन्दगीका परिभाषा मान्छेजस्तै फरक-फरक हुँदा रहेछन्। मान्छेले जे-जस्तो अवस्था पनि भोग्नु पर्दो रहेछ। कहिले उकालो त कहिले ओरालो।
कहिले हामीलाई सामान्य लाग्ने शब्द आफैलाई पर्दा भने बेहोर्न बडो कठिन हुँदो रहेछ। यस्तै-यस्तै भयो गौरबलाई पनि। त्यो शब्द थियो- मृत्यु।
आज म त्यही दुखान्तले गौरबको जीवनमा पारेको फरक बारे सुनाउछु है! कतै नजानू नि है हजुर!
महाभारतमा यक्ष्य के युधिष्ठिर महाराजलाई सोधेको प्रश्न थियो- संसारमा सबैभन्दा अचम्मको कुरा के हो?
जवाफ थियो- सबै मान्छे मरेका छन् तर आफूलाई मृत्यु हुन्छ जस्तो लाग्दैन।
यही नै होला अचम्म। तर अचम्ममा त तब पनि परिँदो रहेछ जब आफ्नो नजिकको मान्छेको सधैँको लागि आफूभन्दा टाढा भैदिन्छ।
गाउँले परिवेशमा हुर्कियो गौरब। बागलुङको गल्कोटमा हुर्किएको उसलाई जीवनमा धेरै अभाव र बाधाहरू आए तर पनि उसले सजिलै टार्न सक्यो किनकी ऊ सधैँ बुवासँग थियो। कहिले स-शरीर होस् या त कहिले बुवाका वाणी सँगै होस्।
धेरै जोर चप्पलजस्तै फाटे उसका दिनहरू गाउँमा। घरमा ममी बिरामी हुनुहुन्थ्यो। सायद उसलाई थाहा छैन होला उहाँलाई पहिलो पटक दीर्घरोग लागेको क्षण। यसरी घरको सेवा गर्दागर्दै सकियो उसको १२ सम्मको पढाइ पनि।
फिजिक्स पढेको उसले मान्छेको बनोट मात्र देखेन। गौरबले देख्यो मान्छेका वेदना, मनोविज्ञान, भावना र ठिंग ठडिएका पहाड झैँ पीडाका पर्खालहरू। सानै उमेरमा पाको बन्न बाध्य भयो ऊ तर पनि उसले कहिल्यै गुनासो गर्दैन कि उमेरअनुसार बाँच्न पाइएन भनेर।
गौरबका बुवा प्रेम सरकारी स्कुलको मास्टर हुनुहुन्थ्यो। कार्यक्षेत्र खासै घर नजिक परेन उहाँको। त्यसैले नि उहाँले धेरै समय घरमा आफ्नी श्रीमतीसँग बिताउन पाउनु भएन। यसैले पनि उहाँको जागिर परिवारको लागि एकान्तबासजस्तै बन्यो।
ग्रामीण ठाउँ, घरबाट कार्यक्षेत्रमा पुग्नलाई लाग्थ्यो पुरै एक दिन। बुवा बिदामा घर आउँदा सबैलाई उहाँको नामजस्तै प्रेमको आभास हुन्थ्यो।
दिनहरू बित्दै गए। गौरब स्नातक पढ्न सहर झर्यो भने उसकी ममीको स्वास्थ्य अवस्था बिग्रिँदै गयो। बुवाको सपना थियो कि छोराले राम्रो पढोस् र देशको सेवा गरोस्।
बुवा-आमाको सोच मुताबिक नै अध्यन अगाडि बढ्दै थियो र उसले सक्यो स्नातक फिजिक्सबाट। त्यसपछि यता घर नजिकैको एकता बोर्डिङमा पढाउन थाल्यो गौरबले भने उता बुवा रिटायर्ड हुने समय पनि नजिकिँदै गयो।
मास्टरको तलबबाट घरसँगै सबै दाजुभाइको खर्च धानेका प्रेमले केही पैसा बचाएका थिए। अब बजारमा घर बनाउनु पर्छ भन्ने घर सल्लाहपछि घर निर्माणको काम सुरु भयो र चल्दै गयो। गौरब पनि यो कार्यमा दृढताका साथ लागि पर्यो। उसको बुवा पनि रिटायर्ड हुनुभयो।
रानी माहुरी घार बाहिर निस्किएर जब घारमा पस्दा माहुरी खुसी हुन्छ, त्यस्तै घरमा खुसियाली नछाउने त कुरै थिएन। सँगै अबको बाँकी जीवन काट्न पाइने भयो भनेर गौरबकी आमा पनि दङ्ग थिइन्।
घरको काम पनि सक्किन लागेको थियो। सँगै प्रेमको रिटायार्ड जीवनका ६ महिना बित्दै थिए। जीवनको सपनाले बनाएको घरसँगै गौरबको परिवार मिलेसम्म चाँडै बसाउने तयारी चल्दै थियो।
बेलुकीसम्म राम्रै थियो उहाँलाई। जब बिहान भयो, तब उसले बुवालाई देख्न त देख्यो तर प्राणहीन अवस्थामा।
ऊ एक्कासी झस्कियो। किनकी बुवालाई छाम्दा उहाँको शरीर चिसो भइसकेको थियो। बुवालाई हृदयघात भएको रहेछ। ऊ ठाउँको ठाउँ ढल्यो। ढले उसका सपनाहरू। रित्तियो एउटा इतिहासको पाना।
उसलाई कसैले बोलायो त ऊ बोलेन, बस् एकोहोरो हेरिरह्यो। ऊ होसमा त आयो तर पनि आउन सकेन नियमित कार्यमा कयौँ दिन। न त ऊ कोहीसँग बोल्यो, न उसका वेदनाहरू कसैसँग खोल्यो नै। बस जीवित मात्रै रह्यो। बुवालाई दागबत्ती त दियो, उसको मन भने कहिल्यै उज्यालो हुन सकेन।
अहिले ऊ बुवाको अभावमा छटपटाइ रहन्छ। फेसबुकमा बुवाका तस्बिरहरू अपलोड गरिरहन्छ तर कोहीसँग न बोल्छ न त फोन नै उठाउँछ। बस् बाँचिरहेको छ खाली बेहोसीमा।
प्रिय गौरब, यस्तो अवस्थामा हरेस पटक्कै खानु हुँदैन। गीतमा भनिए झैँ शरीर त वस्त्र जस्तो न हो, यसको आकार फेरिन्छ तर अस्तित्व भने एकबाट अर्को शरीरमा प्रवेश गर्छ। यो कुरालाई हामीले बुझ्नु पर्छ नि गौरब।
बुवाको शरीर त हामी माझ रहेन तर उहाँका वाणीहरू हामीसँग छन् नि। त्यसैले अब उहाँका वाणीहरूमा जीवन खोज्नु पर्छ है गौरब!