उसको नाम कमला रावल। अछाममा जन्मिएकी ऊ काठमाडौं बस्न थालेको दुई वर्ष भयो। श्रीमान् विदेश गएबाट ऊ काठमाडौंमा एक्लै बस्थी।
घरमा सासूससुराले देखिसहन नसक्ने हुँदा उसलाई काठमाडौंमा बस्नुपर्ने बाध्यता छ। उसको श्रीमानले त्यो बाध्यता बुझेर आफू विदेश जाँदा कमलालाई काठमाडौंमा बस्ने व्यवस्था मिलाएर गएका थिए।
श्रीमानसँग काठमाडौं आउँदा कमलाले पहिलो पटक गाउँ छाडेकी हो। उसको श्रीमान् काठमाडौं पुगेको दुई महिनामा नै विदेश गइहाले। त्यसपछिबाट कमला काठमाडौंमा एक्लै बस्दै आएकी छे।
काठमाडौं सहरमा कमलाको एकजना पनि साथी छैन। हुन्थ्यो पनि कसरी? न उसको पढाइ छ, न ऊ कतै काम गर्छे। उसलाई नेपाली भाषा राम्रोसँग बोल्न पनि आउँदैन। काठमाडौंका गल्लीहरूबारे ऊ अन्जान छे। त्यसैले दिनभर कोठाभित्रै बस्न कमला बाध्य हुन्छे।
यद्यपि आजभोलि मोबाइल फोन उसको राम्रो साथी भइदिएको छ। त्यसैबाट ऊ विदेशमा श्रीमानसँग भिडिओ कल गर्छे। श्रीमान् काममा हुँदा घरमा बाआमा, दाजुभाइ र दिदीबहिनीसँग फोनमा कुराकानी हुन्छ। त्यही मोबाइलमा कमला फेसबुक चलाउछे। टिकटक बनाउछे। युट्युब हेर्छे। मोबाइल अचेल साँच्चै उसको राम्रो साथी बनेको छ।
एकदिन कमलाले युट्युबमा 'श्रीमान विदेश, श्रीमती अर्कैसँग' शीर्षकको भिडिओ देखी। उसले त्यसलाई ध्यान दिएर हेरी। केही कुरा त कमलाको जीवनसँग पनि मिल्ने थिए।
श्रीमतीले गाउँमा दुःख नपाओस् भनेर श्रीमानले आफू विदेश जाँदा श्रीमतीलाई सहरमा राखेको थियो रे। पछि उसकी श्रीमती त अर्कैसँग हिँडी रे। युट्युबले यस कुरालाई निकै बढाइचढाइ पेश गरेका थिए।
दिनभर कोठामा अरु काम थिएन, कमलाले उक्त भिडिओ सुरुदेखि अन्त्यसम्म सबै हेरी। पछि त उसको युट्युबमा यस्तै-यस्तै भिडिओ मात्र आउन थाले। कुनै भिडिओलाई रुचिपूर्वक हेरेपछि युट्युबले त्यस्तै सम्बन्धित भिडिओहरू अगाडि ल्याइदिने गर्थ्यो।
श्रीमान विदेश भएका महिलाहरूले नेपालमा के-के गरे? युट्युबरहरूले अनावश्यक र तथ्यहीन तरिकाले महिलाहरूलाई उडाउने र होच्याउने गरी किसिम-किसिमका भिडिओहरू बनाएका थिए। युट्युबमा तिनै भिडिओहरू ट्रेन्डिङमा आइरहेका हुन्थे। कमला नचाहँदा-नचाहँदै पनि ती भिडिओहरू हेर्न बाध्य थिई।
अब उसलाई आफैप्रति शंका लाग्न थाल्यो। कतै म पनि पछि त्यस्तै पो हुन्छ कि? कतै मबाट पनि मेरो श्रीमानलाई धोका पो हुन्छ कि? कमलाको मनमा हरपल यस्तै कुराहरू खेल्न थाले।
उसलाई लाग्थ्यो, ती भिडिओहरू विदेशमा श्रीमानले पनि हेर्नुहुन्छ होला। मलाई पनि कतै अरुजस्तै ठान्नुभएको पो छ कि? ऊ उकुसमुकुस हुन्थी।
हिजो नेट कमजोर हुँदा उसको श्रीमानले एउटै कुरा दुई/तीन चोटि भन्नुपर्यो। त्यसैले ऊ एकचोटि झर्केको थियो। कमलालाई अहिले आफ्नो श्रीमान त्यसरी झर्किनुको पछाडि आफूप्रति मनमा त्यस्तै पाप छ कि भन्ने लाग्छ।
अरुले अनावश्यक कुराहरू जथाभावी ट्याग गरिदिँदा कमलाको फेसबुक हाल साह्रै फोहोर भएको थियो। कमलाको श्रीमानले त्यो मिलाइदिनको लागि ऊसँग फेसबुकको पासवर्ड माग्यो। उसलाई लाग्यो, पक्कै पनि श्रीमानलाई मप्रति शंका छ।
श्रीमानलाई पासवर्ड दिनुअघि उसले आफ्नो फ्रेन्ड लिस्टका सबै केटाहरूलाई ब्लक गरिदिई। फेरि उसलाई आफ्नै मामाको छोरालाई किन ब्लक गर्नु जस्तो लाग्यो। उसको ब्लक खोलेर आफैले रिक्वेस्ट पठाई। मामाको छोराले तुरुन्तै रिक्वेस्ट एसेप्ट गरिहाल्यो।
फेरि कमलाले सोची, मामाको छोरा र आफ्नो श्रीमानको बीचमा भेट हुँदा ऊ सानो थियो, अहिले ठूलो भएपछि श्रीमानले नचिन्न सक्नुहुन्छ। मामाको छोराले पनि फेसबुकमा आफ्नो वास्तविक नाम लेखेको थिएन।
विदेश बसेका श्रीमानहरू आफ्नी श्रीमतिमाथि कसरी-कसरी शंका गर्छन्? यो सबै उसले युट्युबमा हेरिसकेकी थिई। उसले आफ्नो श्रीमानलाई पनि त्यस्तै लाग्नसक्छ भनेर मामाको छोरालाई फेरि ब्लक गरिदिई।
केटीहरूले केटाहरूलाई दाजुभाइको रुपमा देखाएर गलत व्यवहार गरेका समाचार पनि उसले युट्युबमा हेरी। कसैका श्रीमान रुँदै युट्युबमा भनिरहेका हुन्थे- ‘दाजु हो भन्थी, उसैसँगै गई। भाइ हो भन्थी, उसैसँग भागी।’ कमलाले त्यो पनि युट्युबमा सुनी।
यी कुराहरूले कमलाको मानसिकता यति बिथोलियो कि ऊ अब कुनै पनि पुरुषसँग बोल्न नसक्ने अवस्थामा पुगी। कसैलाई दाजुभाइ भन्ने जमाना छ जस्तो उसलाई लाग्न छाड्यो। बाटोमा कुनै पुरूषसँग आँखा जुध्दा ऊ डराउन थाली- कतै यसले मेरो श्रीमान विदेश भएको चाल पाएर मलाई फसाउन खोजेको त हैन?
घरबेटी बा र उसका छोराहरूबाट पनि ऊ लुकेर बस्न थाली। कहिलेकाहीँ काम परेर घरबेटी बा र उसका छोराहरू कमलासँग बोल्न खोज्थे। तर ऊ उनीहरूसँग पटक्कै बोल्दैनथी। उसलाई लाग्थ्यो, घरमा एक्लै देखेर श्रीमान् नभएको मौका पारी आफूलाई फसाउन खोजे।
उसका लागि सारा संसार र सारा लोग्ने मान्छे युट्युबरले बढाइचढाइ देखाएको जस्तो मात्रै छ भन्ने लाग्न थाल्यो।
अब त कमलाको दैनिकी पनि निकै अस्तव्यस्त हुन थाल्यो। ऊ कोठाभित्रै बसेर दिनभरको समय बिताउन थाली। उसको शरीरले घामको स्पर्श पाएन। उसले स्वस्थ ताजा हावामा सास लिन पाइन। सामाजिक स्वास्थ्य पनि मान्छे देख्दा शंका लाग्ने र डराउने हुँदै गयो।
कोठामै बसेर दिन बिताउँदा उसको शरीरले आवश्यक व्यायाम पाएन। मान्छे त सामाजिक प्राणी हो, ऊ समाजमा बस्नैपर्छ। तर कमलाको जीवनमा त्यसो हुन सकेन। प्राकृतिक रुपमा मान्छे कोठाभित्र कैद हुन मान्ने प्राणी पनि त होइन, उसले समूहमा निर्बाध हिँडेर परिश्रम गरेर जीवन निर्वाह गर्नुपर्ने हुन्छ।
मानव जातिको यो तरिका अरु प्राणीको जस्तो खान र बाँच्नका लागि मात्र होइन, मान्छेको अरु सारा प्राणीहरूको भन्दा श्रेष्ठ र अग्रगामी चेतनाको लागि पनि यही तरिका कारक थियो। परिस्थितिले कमला रावललाई यी सबै जरुरी सुविधाहरूबाट बञ्चित गराइदियो।
असन्तुलित जीवनशैलीको कारण उसको मस्तिष्क पनि सन्तुलित रहेन। एक/दुई महिनाभित्र नै कमलाको मानसिकता यति कमजोर हुन पुग्यो कि अब ऊ भूत देख्न थाली। आफू बिग्रेर युट्युबमा देखाइने महिला जस्तै हुन्छु कि? मेरो प्रचार पनि युट्युबरहरूले त्यसरी नै गरिदिने पो हुन् कि भन्ने चिन्तामा ऊ दुब्लाउदै गई।
उसलाई कसैले आफ्नो घाँटी थिचे जस्तो लाग्न थाल्यो। पेटमा शूल उठ्न थाल्यो। हरेक साँझ ज्वरो आउन थाल्यो। कोठामा मुसा दौडिँदा वा साङ्ला खस्दा ऊ त्यसलाई भूत ठान्न थाली। कोठामा झुन्ड्याइएका आफ्नै कपडा पनि हेर्दाहेर्दै उसलाई भूत जस्ता लाग्न थाले।
भित्ताको क्यालेन्डरमा भएका चित्रहरूले पनि आफूलाई तर्साउन खोजे जस्तो लाग्छ। उसको घाँटी थिचेजस्तो हुनु, ज्वरो आउनु, पेट दुख्नु पीरचिन्ताको कारणले थियो। तर कमलालाई त्यो सबै भूतले गरेको भ्रम हुन्थ्यो। परिस्थितिले मानसिकता कमजोर बनाइदिएपछि कसको के नै लाग्थ्यो र?
यत्तिकैमा कमलाले 'सुर्खेतमा एकजना पुरुष विदेशबाट आएर आफ्नै श्रीमतीको घाँटी छिनालेको' समाचार युट्युबमा देखी। युट्युबरका अनुसार विदेशबाट श्रीमानले दु:ख गरी पठाएको पैसा घरमा बसेकी श्रीमतीले पराई पुरुषसँग लागेर सिध्याइदिई रे। श्रीमानले हिसाब माग्दा दिन मानिन रे।
उक्त समाचारले मानसिकता निकै कमजोर भइसकेकी कमलाको मनमा डरको सीमा रहेन। उसलाई अब श्रीमानले पठाइदिएको पैसा सकिन्छ कि भन्ने अर्को चिन्ताले पिरोल्न थाल्यो।
उसो त श्रीमानले विदेशबाट उसलाई उसको खर्चका लागि हिसाब गरेर ठिक्क पैसा पठाइदिने गरेका थिए। त्यो पैसा खर्च गर्ने उसलाई पूरा अधिकार थियो। तर युट्युबले उसको सातो यसरी लिइदियो कि ऊ श्रीमानले घरखर्च भनी पठाइदिएको पैसा खर्च गर्न नसक्ने अवस्थामा पुगी। उसलाई लाग्थ्यो, कतै मेरो श्रीमानले पनि पछि हिसाब माग्नुभयो भने?
उसले तेल किन्न छाडी। तरकारी किन्न छाडी। पैसा खर्च हुने भयले दसैंमा घर पनि गइन। उसलाई सारा दुनियाँ युट्युबमा भएकै जस्तो लाग्नथाल्यो। अब त कुनै महिलाले हेरे पनि शंकाले हेरे जस्तो लाग्थ्यो। तिरस्कार गरे जस्तो लाग्थ्यो।
एक साँझ हल्का ज्वरो आइरहेकै थियो, कमला भात खाएर सुत्न खोजी। उसको पेटमा एकाएक शूल उठ्न थाल्यो। बिस्तरामा पल्टने बित्तिकै कसैले घाँटी थिचे जस्तो भयो। कमलालाई यो सब पीडा भूत लागेर भएको हो भन्ने भ्रम हुन्छ।
ऊ वैद्यकोमा जान खोज्छे तर आफू रजस्वला भएको हुँदा झन् केही अनर्थ हुनसक्छ भन्ने लागेर त्यहाँ पनि जान्न। फेरि साँझ निकै छिप्पिसकेको थियो, ऊ रजस्वला नभएको भए पनि वैद्यकोमा जान सक्ने थिइ वा थिइन? त्यो पनि एकिन छैन।
कमला आफूलाई ज्वरो आउँदा, पेट दुख्दा र घाँटी थिचे जस्तो हुँदाहुँदै पनि सुत्ने कोसिस गर्न थाली। कठोर पीडाको कारण उसलाई रातभरि निन्द्रा लाग्दैन। ऊ भगवान समक्ष पुकार गर्छे। कूल देवताको नाम लिन्छे र पनि उसलाई न सन्चो हुन्छ, न निद्रा लाग्छ।
यद्यपि बिहानतिरको राति कमला जरुर निदाई तर त्यसपछि कहिल्यै बिउँझिन।