कविता
सम्झनाका ढाकर बिछ्याउँदा
तिम्रो विमोहन छविले
सन्तुष्टि बेरिन्छन्
मनभाव फेरिन्छन्
तिम्रा आँखाका बनावट
अधरमा मुस्कानको मिसावट
अति चुम्बकीय छन् ती
एकछिन त अलमलमा
ढलपल गर्छु
पलपललाई समेट्न थाल्छु
मलाई सजाउन मन छ
तिम्रा हेराइहरूलाई आफ्नो हेराइमा
मलाई बसाउन मन छ
तिम्रा सपनाहरूलाई आफ्नो सपनामा
तिम्रो सुवासको स्पर्श
तिम्रो स्पर्शको सुवास
सँगै रहनु भनेको
सँगै हुनु मात्र हो र!
तिमीप्रतिको विश्वास नै
आगतको ऊर्जा हो नै
मेरो यो निःश्वास नै
झल्किरहेको पुर्जा हो
थाहा छ, तिमी टाढा छौ
तिम्रो मनको आँखीझ्यालमा
चियाउने अनुमति दिएका
छैनौ मलाई
मायाको सौगात त
स्वीकार नभए पनि
सास रहेसम्म माथमा रहन्छ
यात्रामा भेटिएका सबै
गन्तव्यसम्म साथ रहँदैनन्
कति साथ छुट्छन्, कति आश टुट्छन्
मनको मझेरीमा
मायाका बाछिटाहरू छरपष्ट छन्
पर्खाइको छहारीमा
भावना भरिभरि छन्
तिमी वेगले जीवनमा आएका थियौ
भेगभेगमा समाहित भयौ
जीवित थिएँ
जीवन्त बनाएर गयौ
तिमी विपनीको सपना हौ
तिमी सपनीको विपना हौ
आत्मीयताको चाहना प्रचुर छ
निस्वार्थ प्रेममा पनि कसुर छ?
तिम्रो आशय थाहा छैन मलाई
तिम्रो आउने मन छ कि छैन
थाहा छैन मलाई
रात अनिँदो छ
बात नमीठो छ
चाहेका हरेक चाहनाहरू
पूरा हुँदैनन्
मानेका हरेक सत्यहरू
तथ्य हुँदैनन्
थाहा छ
पर्खाइ पट्यारलाग्दो हुन्छ
पर्खाइ प्यासलाग्दो हुन्छ
पर्खाइ मिठासपूर्ण हुन्छ
अनि सुन न,
प्रिय, म तिमीलाई पर्खिरहेछु।