उसलाई डेनमार्क आएकोमा पछुतो छैन, किनकी मन नलागि नलागि बसिरहन कसैले उसलाई कर लगाएको छैन।
उ आफ्नै रहरले यहाँ बसिरहेको छ र उसलाई मज्जा पनि आइरहेको छ। पछुतो मान्नेहरू कति नेपालनै फर्किसके त कति अमेरिका, क्यानडा अथवा अस्ट्रेलियातिर लागिसके।
कति साथी भने यो भएन ऊ भएन, यो देश यस्तो, उस्तो भन्दै दिनदिनै गुनासो गरेर पनि डेनमार्क छोड्न सकेका छैनन्। यस्ता दुःखेसो पोख्नेलाई उसको स्पष्ट जवाफ छ- मन परेन भने छोडेर आफ्नो देश फर्किन कसले रोकेको छ गए भईहाल्यो नि! अर्काको देशमा मन नलागि नलागि किन बस्नुपर्यो?
कसै कसैलाई त उसले भन्ने पनि गरेको छ- बरू नफर्कनेगरी जाने हो भने एकतर्फी टिकट मैं काटिदिउँला।
बेलुका ट्वाक लगाएर दुःखेसो पोख्ने अनि बिहान त्यहीँ काममा धावा गर्नेदेखि छक्क पर्छ उ। ती अस्थिर मगजहरू दुइ पेग भन्दा बढी लगाउनासाथ यता बेकार आइएछ, भोलिनै नेपाल जाने हो भन्न थालिहाल्छन् ।
राति जो बढी हल्ला गरेको हुन्छ भोलि बिहान झिसमिसेमा बस स्टपमा आँखा मिच्दै गरेको उसलाई भेटिन्छ। अनि फेरि उसैको स्वर ठूलो सुनिन्छ-हिजो अलि बढी भएछ क्यार? मैले अलि बढी बोलि की क्या हो? कस्तो टाउको दुखिरा’छ , काम पो कसरि गर्नु हो?
जो नपछुताउने हो उ ठिक ठिकै पिउँछ, हिजो पनि मुसुमुसु हाँस्दै थियो आज पनि बस स्टपमा मुसुमुसु नै हाँसिरहेकै हुन्छ ऊ। उ अर्थात् बासुदेब उपाध्याय। उपाध्ये बाहुनको छोरो हो उ।
शुद्ध ब्राम्हणले गर्नुपर्ने सबै नित्यकर्म नेपाल हुँदा गर्ने गर्दथ्यो। पाईखाना बस्दा जनैको कानमा सिको लाउने होस् वा खाना खाँदा धोती फेर्नेदेखि दैनिक गायत्री मन्त्र जप्ने कुनै पनि क्रिया नछुटाई गर्थ्यो। घरबाट निस्कँदा शालिकरामको जल छर्केर टिका लगाएर मात्र निस्कने उ यता आएपछि जनै धोतीको त कुरै छोडौं, विफ बर्गर उसको मन पर्ने खाना बनेको छ। ‘देश अनुसारको भेष’ बमोजिम चल्न सिक्नुपर्छ हौ साथी हो भन्दै ह्याम बर्गरको वाईट सँगै दर्शन दिन्छ उ।
डेनमार्क आउनुअघि नेपालमा उसको अलग्गै पहिचान थियो। त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर उ, हेल्मेट शिक्षकबाट परिचित। ५-६ वटा कलेजको अलावा साँझ र सप्तान्हमा पनि मारामार ट्यूसन। नेपालमा अंग्रेजी विषयको शिक्षक, त्यो पनि अत्यन्त व्यस्त, सहजै अनुमान लगाउन सकिन्छ, सारै व्यस्तता, क्लास, समय र पैसाबाहेक दिमागले अरू केही पनि सोच्नै नभ्याउने। दौडेको दौडै गर्नुपर्ने। कक्षामा छिर्दा हेल्मेट लिएर छिर्यो, फेरि क्लास सक्यो हेल्मेट लगायो अर्को कलेज।
काठमाडौंको महँगो डेरा, अनि काठमाडौं को महंगी जति दौडे पनि बचत खासै नहुने अनि उद्धेश्य छ राजधानीमा एउटा गतिलो घर ठड्याउने। कसरी ठडिएला त घर? रातो बत्ति वा जाममा मोटर साइकल रोकिएको बेलामा उसको दिमागमा यहीँ कुरा आउँथ्यो? यसैगरी चलिराको थियो दिनचर्या।
उ कलेज पढाउन जाने मध्ये एउटा कलेजमा भाइस प्रिन्सिपल थिए बादल, खासमा उनको नाम थर के हो ? उसले अर्थात बासुले कहिले बुझ्न चाहेन, बुझ्ने समय पनि भएन। सबैले बादल सर, बादल सर भन्थे। उ पनि भेटेको बेलामा बादल सर नमस्कार भन्थ्यो त्यति हो बोलचाल भा’को।
सधै हतार, उसले नेपाल हुँदा बादल सरसँग कहिले बसेर कुरा गर्न पाएन। करिब ३५ वर्षका बादल सर अलि साहित्यिक थिए रे, एक दुई वटा कविता र लघु कथाका किताब निकालेका छन् अरे। बादल उनको साहित्यिक नाम हो रे यतिसम्म उसले सुनेको रहेछ।
एकदिन कलेजमा पढाउन जाँदा बादल सरको धुमधाम बिदाइ हुँदैरहेछ। त्यो दिन कलेजमा बादल सरको बिदाइमा बिदा समेत दिइएको रहेछ। बादल सर अबिर खादा मालासहित बसेका थिए।
कुरो के रहेछ बासुले समेत चासो दियो। आज कलेज पढाउन नपर्ने भएपछि उसंग समय पनि थियो। बादल सर ग्रिनकार्ड भिसामा डेनमार्क जादै रहेछन्। ‘ए डेनमार्क नै पो ? त्यो पनि नेपाल बाटनै ग्रिनकार्ड!’ उसले बादल सरसँग कसिलो पाराले हात मिलाउँदै बधाई दियो सरको फेसबुक आइडी माग्यो, अलि यता आएर तुरून्तै अनुरोध समेत पठायो।
अनि फेरि कानमै गएर भन्यो- सर अनुरोध पठाको छु स्वीकार गर्नुहोला। बादल सरले पनि खल्तीबाट मोबाइल झिके, अनि तुरुन्तै स्वीकार समेत गरे।
‘ल तपाई म अब साथी भयौं, अब सर हैन नि, साथी है,’ बादल सरले ठट्याउलो पारामा भने।
‘सर पनि’, उसले हाँस्दै भन्यो।
त्यसपछि बासु र बादल सर घनिष्ट मित्र भए। बादल सरसँग मित्र बनेको ६ महिनामै बासु पनि कोपनहेगन आइपुग्यो। त्यतिबेला डेनमार्कले कुनै पनि विषयमा स्नातक र स्नाकोत्तर गरेकालाई अंकको आधारमा धमाधम ग्रिनकार्ड नामको भिसा दिदै थियो।
बादल सरलेनै बासुलाई एउटा नेपालीको घरमा बस्ने व्यवथा मिलाई दिए। कोपनहेगन झरेपछि उनलाई निकै सहयोग गरेका बादल सरले काम समेत खोजिदिए।
कोपनहेगन आउनु अगाडि च्याटमा बासुले बादल सरलाई सोधेको थियो, ‘के कसो छ?’
बादल सर भन्थे, ‘निर्धक्क आउनुहोस्, कमाई मनग्गे छ, दुई तीन वर्षमा काठमाडौंमा घर ठडिन्छ।’
कमाई मनग्गे, काठमाडौंमा दुई तीन वर्षमा नै घर, अरू के बुझ्नु? डेनमार्कबारे उसले नेपाल बसेर बुझेको त्यति हो।
बादल सरले निर्धक्क आउनु भन्नु भा’छ। के चाहियो र? तै पनि काम चाँहि के गर्ने रहेछ त यसो बुझौं जस्तो लाग्यो बासुलाई। अलि डराइ डराइ सोध्यो, ‘अनि काम चाहि के गर्नुपर्ने रहेछ सर?’
‘ओपी भास्के- बुझ्नु भएन नि हैन, यहाँ ओपी भास्के भन्छन् विदेसी सबैले गर्ने त्यहीँ रहेछ, भाँडा माझ्ने हो भाँडा, हेर्नुस डेनमार्कमा त पारस नै आए पनि माझ्ने त भाडा नै हो। कमाई चाँहि गज्जब नै छ,’ अलि कडा स्वभाव, अंग्रेजीमा स्टेट फरवार्ड भन्छन् नि हो त्यस्तै हो बादल सरले उनले बुझाए।
‘अनी सकिन्छ त सर?’ उ झस्क्यो। ‘सकिन्छ, करिब दुई तीन वटा विवाहका जन्तीले खाए जत्ति माझ्नुपर्छ, आफूले मेसिनमा हालिदिने हो, माझ्न तै मेसिनले’, बादल सरले नरम हुँदै बताए।
बादल सरको कुरो सही ठहरियो, ३ वर्षमा नेपाल गइयो, काठमाडौंमा घर ठडियो। अनि बाँकीको दुई वर्षमा यता पनि एउटा एण्डल्स बोलिग किनियो।
यहाँ एण्डल्स बोलिग, आया बोलिग र लाया बोलिग हुँदो रहेछ, एण्डल्स बोलिग चाँहि सामुदायिक घर वा फ्ल्याट हो, जसको स्वामित्व समुदाय र आफ्नो हुँदोरहेछ। निजी घरभन्दा आधा सस्तो। तर सफाई, बारी बगैंचा तथा केही सानोतिनो मर्मत सम्भाका लागि भनेर सधैभरि केहि रकम बुझाइ रहनुपर्नेरहेछ। घर चाँहि आफ्नै सरह हो।
आया भनेको निजी हो, आफ्नै हो। अनि लाया भनेको चाँहि भाडाको हो।
अब मेरो दुइकोठे एण्डल्स बोलिगमा एक दम्पतीलाई भाडामा दिएको छु। समुदायलाई तिर्नुपर्ने रकम त्यहीँबाट पुग्छ। म चाँहि सित्तैमा बस्छु। अब पिआरको चक्कर चलिरहेको छ। भाषा सिकिरहेको छु। ८ वर्ष पुग्नासाथ त्यसको पनि प्रक्रिया सुरू गर्ने हो।
‘पिआर आएपछि नेपाल जाने बिहे गर्ने हो,’ मनमनै सोच्या छन् बासुले। सपना पनि राम्रै देख्याछन् बासुले।
अब बासुको पहाड घर पनि थाहा पाईहाल्नुस्। पछि फेरि जोसँग परिचय गर्दा पनि तपाईँको नेपाल घर कता भनिहाल्छन्, कति चोटिजवाफ दिनू। बाग्लुङ गल्कोटका स्थायी बासिन्दा हुन् उनी।
डेनमार्क आएर लागेको एउटा नभई नहुने वा खराब बानि चाँहि उही सोड़ क्याफे नै हो। जता गए पनि, यहाँ डेनमार्कमा कफीको गज्जबको चलन छ। पहिले कफी तताएर ल्याउँछन् अनि त्यसमा अलिकति चिसो सेतो दुध हाल्छन्। अनि कोही कोहीले चिनी नत्र त्यतिकै पिउँछन्। चिसो दुध हालेपछि बासुलाई कफी कस्तोकस्तो लाग्थ्यो। सुरू सुरूमा त उनले चिसो दुध पनि हाले, चिनी पनि हाले। तर पछि धेरै कफी खाइरहनु पर्ने बाध्यता आइलागे पछि चाँहि सिधै कालो कफी मात्र पिउन लागे। कसरी लाग्यो त कालो कफीको बानी बासुलाई?
डेनमार्क आएको केही वर्षपछि यहाँको एक क्यान्टिनमा काम पाए। काम उही हो ओपी वाला। उनी आफ्नो काम छिटो छिटो सक्थे। केही बेर फुर्सद बसेको देख्यो कि सेफ वा अरू आएर केही न केही काम लगाईहाल्थे। ‘क्यान यु हेल्प मी’, भन्ने अनि ‘यो गर, त्यो गर’ भन्ने आफ्नो काम चाँहि थुप्रदै जाने।
सेफ आउने अनी भन्ने- यो फ्रिज सफा गर त्यो भित्तो कोट्या, अनि त्यता अलि कालो छ हैरान बनाए। उ डेनिसहरूलाई हेर्थ्यो सबै मस्त छन्। ८ घण्टामा दुई चार चोटी चुरोट पिएकै छन्। कफी पनि बारम्बार लिएर बसेकै छन्। उ चाँहि काम नै काममा जोतिएको छ।
त्यसपछि उ पनि जब जब अरू कफी वा चुरोटको लागि जान्थे या आफ्नो काम अलि कम जस्तो हुन्थ्यो उ पनि कफी लिएर उनीहरू सँगै बस्न थाल्यो। सधै कामको चटारो जस्तो सधै अलि अलि काम बाँकि राख्ने। अनि त काम पनि सहज हुँदै गयो।
अरूको काम पनि गर्न नपर्ने बिजी जस्तो पनि भइरहने, गज्जब भो नि। त्यसपछि उसको कफी पिउने बानी एक दुई गर्दै दिनमा पाँच या छ सम्म पुग्न थाल्यो। चिनी सहितको कफी पिउँदा पिउँदा अनेक समस्याले घेरेपछि उ कालो अर्थात् सोड काफेको अम्मली हुन पुग्यो। डेनिस भाषामा कालो कफीलाई सोड़ काफे भन्छन्।
उसको काममा सेफभन्दा तल सुसेफ थिइ मिसेल, त्यस्तै ३५ नाघेकी हट्टाकट्टा नारी र पाखुरा भरि ट्याटु खोपेकी अनि घाटीको देब्रे साइडमा ट्याटुकै हस्ताक्षर थियो।
चुरोट र कफी छिनछिनमा चाहिने उसको सुसेफ मिसेललाई। जबजब उ कफी लिएर बाहिर आउँथ्यो मिसेल पनि चुरोट र कफीसहित बाहिर आउँथी। आउन त अरू पनि आउथे। बासुलाई काम थाती राख्दै कफीको कपसहित ब्रेक बस्न पाइने डेनमार्कको चलन पनि मिसेलले नै सम्झाएकी हो। उसले भनेकी थिइ, ‘तिमी कफीको कपसहित आराम गर्न बस्नु साधारण हो। तर बिना कफी बसेको देखे यहाँ कुरा काट्छन्। काम नै गर्दैन भन्छन्, कफी बिना बस्दा अलि अप्ठेरो पनि हुन्छ, अलि अलि पिउ तर कफी चाही लिउ, अनि जति पटक बसे पनि कसैले केही भन्दैन। त्यसपछि उसले कहिले आफ्नो काम सिनित्त पारेर सकेन, जहिले हेर्दा पनि काम नै गरिराखे जस्तो। अरू ब्रेक बसेको देख्यो कि कप समात्यो कफी खान्यायो हिँड्यो, बस्यो गफ लडायो, उसले त्यस दिनदेखि बासुले आफ्नो बाहेक अरूको काम कहिल्यै गर्नु परेन।
ऊ अलि बिजी भएको देख्नासाथ मिसेल, मेसिनबाट भाडा झिक्न आउथी अर्थात् उसलाई सगाउँथी। हुन त दिउँसोको खाना खाने अगाडिसम्म खासै गाह्रो काम थिएन, अनि खासै बिजी पनि नहुने। तर लन्चमा अति बिजी हुँदा कोही न कोहि सगाउन आउँनै पर्थ्यो।
एक्लैले भ्याउने कुरै हुँदैन थियो। तर अब धेरै जसो मिसेल नै आउथी, यता उताका कुरा गर्दै उसलाई काममा सजिलो बनाउथी। उ ड्याङ कि ड्याङ भाडा हाल्थ्यो मेसिनमा उतापट्टिबाट मिसेल भाडा झिक्दै ट्रली टेबुलमा मिलायर राख्थी।
अनि ट्रली भरिएपछि ठाउँ ठाउँमा राख्न पनि आफैं जान्थी। यो भाडा धुने मेसिन पनि गज्जबकै हुन्छ। हुन त उसले विभिन्न ठाउँमा भाडा धुने ठूला ठूला मेसिन देखेको छ। करिब १५ - २० फिट लामा लामा मेसिन एकातिरबाट फोहर भाडा हाल्यो अर्को तिर बाट सफा सुकेको भाडा निकाल्यो। उसको क्यान्टिनमा पनि त्यस्तै भाइ मेसिन थियो करिब ५-६ फिट लामो, जसमा पनि एकातिरबाट फोहर भाडा हाल्ने र अर्कोतिरबाट निकाल्ने।
उ र सुसेफ मिसेल नजिकिदै गए। काम सकेपछि उ हरेक दिन नुहाउँथ्यो, सो सुविधा उसको काम गर्ने स्थानमै थियो। सफा चिटिक्क परेर हिँड्ने उसको पुरानो बानी नै हो। झन नुहाएर कपाल कोरेर बडी स्प्रे छर्केर मगमगाउँदै, बास्ना छर्दै हिँड्दा उ पनि निकै आकर्षक देखिन्थ्यो।
कोपन्हेगनको मुटुमा रहेको वाकिङ स्ट्रिटको नाम चलेको रेस्टुरेन्टमा कम्पनीले हरेक वर्षझैं यस वर्ष पनि क्रिसमसको पार्टी राखेको थियो।
उ जस्तै उसको कम्पनीका सबै भेला भए। बोसले सानोतिनो भनाई राखेपछि सुरू भएको ननस्टप ड्रिङ्क पार्टी र बुफेमा कमी केहीको थिएन। डिजे समेतको व्यवस्था भएको उक्त पार्टी मध्यरात १२ बजे बन्द हुने सूचना दिइएको थियो।
बारमा जादै मन परेको ड्रिंक र कक्टेलमा झुमिरहेका सबैलाई डिजेको म्युजिकले नचाएको थियो। कोपनहेगन आएपछि बासु यस्ता पार्टीमा अव्यस्त भइसकेको थियो। गीत संगीतको सोखिन उ वर्तमान म्युजिकमा पनि निकै अपडेट थियो।
जब अन्तिम गीत बज्यो ‘लास्ट क्रिसमस यु ब्रेक माइ हार्ट ....’ त्यसपछि नाच्न छोडेर टकिला सर्ट हान्न बारमा निकै घुइँचो लाग्यो। मानिसहरू झुम्न थाले अन्तिमतिर मिसेलले उसलाई सँगै नाँच्न प्रस्ताव गरी।
उसले प्रस्ताव स्वीकार गर्यो। सबै मदिरामा लठ्ठ थिए। स्टेजमा मिसेल र बासु जोडी जसरी नाँचिरहेका थिए। एकदमै मिलेको कपल डान्स जस्तो गरी। म्युजिक बन्द भयो, ताली बज्यो तर उनीहरुको नाच्ने रहर मेटिएन।
त्यसपछि सबैले सबैलाई अंकमाल गर्दै क्रिसमसको खुशी साट्दै बाहिर निस्किए। मिसेलले पुन उसलाई प्रस्ताव राखी- ‘क्लब जाउँ, यहाँ खासै रमाइलो भएन।’
उसले केही सोच्न वा बोल्न पाईरहेको थिएन, उसको हात समात्दै तान्दै मिसेलले त्यहीँ रेस्टुरेन्टको भूमिगत तल्लामा रहेको क्लब लगी। देख्न त उसँगै काम गर्ने सबैले देखे। डेनमार्कमा यो सामान्य नै हो।
बुङ बुङ चुरोटको धुँवा, जताततै हुक्का तानिरहेका जोडी, अनि एक्लै एक्लै भड्किलो पोसाकमा युवतीहरू, चर्को म्युजिक खै त्यहाँको वातावरणको के वर्णन गर्नू? समग्रमा त्यो मोजमस्ती गर्ने ठाउँ हो।
बिहान करिब ४ बजेसम्म त्यो महलमा पिउँदै रमाउँदै गरेपछि निन्द्रा, नसा र टाउको दुखाइ अनि धुँवा खप्न नसकेर बासुले दुई तीन पटक वाक गर्दै चर्पी तिर गएको पनि हो।
‘आर यु ओके’, मिसेलले उसको हात समातेर बाहिर ल्याउदै सोधी।
‘एकछिन् फ्रेस हावा खाउँ ठिक हुन्छ, अनि घर जाउँला। आज मेरैमा हिँड,’ उसले निर्णयनै सुनाइ।
बासु के गरोस् विचरा एक त खुट्टाले भुइँ टेकेको छैन, अर्कोतिर हालत खराब छ त्यसमाथि हाकिमले नै भनेको कसरी नमान्नु।
ट्याक्सी आयो। बासु पनि आज्ञाकारी शिष्य जसरी मिसेलको पछि पछि लाग्यो।
उ कसरी मिसेलको घरमा पुग्यो उसले थाहा पाएन। ब्यूँझदा उ एउटा कोठामा थियो, चिटिक्क पारेर मिलाइएको कोठा कुनै १२ - १३ वर्षे बालकको जस्तो थियो।
सायद यो मिसेलको छोराको कोठा होला। कोठामा निलो रंग लगाइएको थियो बच्चाका खेलौनाहरू मिलाएर राखिएका थिए। भित्तामा डेनमार्कको फुटबल खेलाडी क्रिस्चियन एरिसनको ठूलो फोटो थियो। फोटोसँगै फुटबल राखिएको थियो।
टेबुलको घडीले १२ बजाएको थियो। झ्यालको पर्दा खोलेर हेर्दा उ निक्कै माथिको तल्लामा रहेको थाहा पायो। त्यस्तै १२ -१३ तला होला सायद। कोपनहेगनमा त्यस्ता ठूलो घरहरू थिएनन्, त्यसैले उसले यो, कोपनहेगन भन्दा बाहिरको घर भएको अनुमान लगायो।
अचम्म के थियो भने उसको जिउमा कुनै कपडा थिएन, अनुमान लागायो-मिसेलले रातिनै उसको शरीर नापजाँच गरिसकेकी रहिछ। ‘डन्ट माइन्ड’, उसले आफूले आफैंलाई भन्यो।
निद्रा मस्त परेको हुँदा उ पुरै ताजगी महसुस गर्दै थियो। हाइ गर्यो जिउ तन्कायो। यत्तिकैमा उसले ढोकामा कसैले ढकढक गरेको सुन्यो। ‘एकछिन है’ उसले भित्रबाट भन्यो र हतार हतार लुगा लगायो अनि ढोका खोल्यो।
ढोकामा मिशेल उभिरहेकी थिइ। भर्खरै नुहाएर निस्केकी उसले बाथ गाउँन लागाएकि थिइ, उसको शरीरबाट चर्को फ्रान्सेली अत्तरको सुगन्ध आइरहेको थियो। चिसो कपालमा भुवादारी रूमाल बानेकी थिइ।
‘शुभ दिन, कस्तो छ तिमीलाई? राति निद्रा पर्यो?’, उसले हग गर्ने अन्दाजमा हात फैलाई र दह्रोसँग कसेर हग गरि।
बासुले उसको अंगालोमा नै रहेर राति साहरा दिएकोमा मिसेललाई धन्यवाद भन्यो। राति मजाले निदाएको र अहिले ताजगी महसुस भइरहेको समेत बतायो।
‘तिमीलाई अलि बढी नै लाग्नेरहेछ, यु एञ्जोय अ लट,’ भन्दै उसले अंगालोबाट छुटाई।
‘तिमी नुहाएर आउ म कफी तयार गर्छु,’ मिसेलले भनी।
बासु ‘हस’ भन्दै बाथरूम छिर्यो। बासु नुहाउन लाग्दा बाहिर ड्रायरको आवाज आइरहेको थियो। ‘कपाल सुकाउन लागी छ क्यारे’, उसले मन मनै भन्यो।
बाहिर आउँदा टेबुलमा कफी सहित उ बसेकी थिइ। केही पाउरोटी, चिज, बटर र काटेका फलफूल समेत किस्तीमा सजाइएको थियो। पुरा साज साज्जासहित बसेकी उ लुगामा भने पुरै पारदर्सी लागाएर बसेकी थिइ।
बासुले उसको शरीरलाई नियाल्यो। घुटुक्क थुक निल्दै उसको शरीरलाई हेर्दै भन्यो, ‘के म तिम्रो ड्रायर प्रयोग गर्न सक्छु?’ उसले कपाल सुकायो र कफी टेबुलमा बस्यो। यो ब्रेक फास्ट र कफी पिउने टेबुल हुदो हो सायद। सानो भएकोले आमुन्ने सामुन्ने बस्दा पनि एकले अर्काको शरीरको चाहेको कुरा हेर्न सक्थ्यो कुनै बहाना बिना नै।
बासुले मनमनै सोच्यो- ब्रेक फास्ट पछि तयार हुनुपर्ला, कफी चाँहि काम पछि..., हिजो बेलुका के भयो थाहा भएन अब पुरै फ्रेसमा इन्जोय गर्नुपर्छ। युरोपमा लिने भनेको मज्जा यहीँ त् हो नि बाहिर कत्ति जाडो छ। घुम्ने ठाउँ छैन।
परिस्थिति, वातावरण यस्तो बन्यो वा बनाइएको थियो कि कुनै मिहेनत, कुनै झन्झट वा कुनै संकोच बिना नै स्वर्गीय आनन्द आउने किसिमको थियो। आफ्नो कुनै योगदान बिनानै आइलागेको यो अवसरको भरपुर उपयोग गर्ने मनसायसहित उ कफी टेबुलमा बस्यो।
टेबुलमा बसेपछि उसले अन्य दुई ठाउँमा समेत गुलाफको ट्याटु देख्यो जसलाई हेर्न कि स्विमिङ पुलमै जानुपर्छ या कसैसंग एउटै कोठामा रात बिताउनुपर्छ।
सामान्य कुराकानी र ब्रेकफास्ट सकिएपछि उसले क्यानबाट कपमा कफी खन्याउँदै भनि, ‘नो सुगर यस?’
‘याऽ याऽऽ’, बासुले हड्बडाउदै भन्यो। किनकि उ मिसेलको लोभलाग्दो शरीरलाई हेरेर कल्पनाको मस्त थियो।
कफी उसले चाहेको थिएन। ब्रेक फास्टपछि काम त्यसपछि कफी अनि घर उसको टार्गेट थियो, घर गएपछि साथीभाइ जम्मा गरेर आफ्नो पुरूसार्थकोको बखान। बस यही हो बासुको सक्सेजफुल विकेन्ड।
कपमा कफी आइसकेपछि उसले कफीको पहिलो चुस्की लियो र नसालु आँखाले मिसेल तिर हेर्यो। उ शान्त थिइ, कुनै गम्भीर कुरा गर्न लागेकी जस्ती शान्त। एकाएक मिसेल गम्भीर मुद्रामा देखिएपछि अक्क न बक्क परेको थियो।
कफीको पहिलो चुस्की लिएपछि मिसेल बोली- म तिम्री गर्लफ्रेन्ड होइन। तिमी मेरो ब्वाइफ्रेन्ड पनि होइनौं। मैले मेरो छोरालाई क्रिसमस मान्न मेरी आमाको घर पठाएको छु। म र तिमी हिजो रातिदेखि एक्लाएक्लै सँगै, छौ किन होला? केही कुराको भेउ त तिमीले पनि पाईसकेका छौ। यदि मैले चाहेको भए हिजोनै म तिम्रो बेहोसी अवस्थाको फाइदा उठाउन सक्थेँ। तर म तिम्रो जानकारी र सहमति बिना यो काम गर्न चाहन्नँ।
मसँग यहाँ तिमी आउनुमा तिम्रा पनि स्वार्थ होलान्। अनि मैले तिमीलाई यहाँ आत्मीयता साथ ल्याउनुमा मेरो पनि स्वार्थ छ। तिम्रो स्वार्थ क्षणिक मनोरञ्जन र बासनाको तृप्ती होला भन्ने म बुज्छु र यो अनुचित पनि होइन। तिमी एक्लै बस्छौ, यो तिम्रो आवश्यकता पनि हो। तर मेरो स्वार्थ अलि गम्भीर र संबेदनशील छ।
मैले यहाँ तिमीलाई ब्वाइफ्रेन्ड बनाउन ल्याएको हुँदै होइन। कुरो म अहिले नै स्पस्ट गर्न चाहन्छु-यदि तिमी मेरो प्रस्तावमा सहमत भए पनि नभए पनि हाम्रो सम्बन्ध पहिले जस्तो थियो त्यस्तै हुनेछ। जसरी हामी पहिले काम गर्थ्यौ त्यसै गरिरहनेछौं। तिमीलाई कुनै अप्ठेरो वा दबाब महसुस हुनेछैन यो मेरो बाचा भो।
बासुले मिसेलको केही कुरा बुझिरहेको थिएन। उसको दिमागमा भरिएको पुरूषत्व बासनाले केही सोच्न दिइरहेको थिएन। उ बारम्बार यहीँ सोचिरहेको थियो कि-यस्तो रोमान्टिक समय, वातावरण कसरी एकाएक यस्तो गम्भीर बन्न पुग्यो? तर उसले भेउ पाएन कि वातावरण एकाएक गम्भीर बनेको थिएन, यसको लागि मिसेलले धेरै मिहेनत गरेकी थिइ, तपस्या गरेकी थिइ, मानसिक रूपमा आफूलाई तयार गरेकी थिइ।
म एकल महिला हुँ र एकल आमा अर्थात् लोग्ने नभैकन आमा बनेकी अविवाहित आमा। तिमीले मेरो घाँटीको यो ट्याटु देखेका छौ नि? हो, यो मेरो छोराको बाबुको हस्ताक्षरको ट्याटु हो। अब यसको मुनि म तिम्रो हस्ताक्षरको ट्याटु चाहन्छु। अर्थात मलाई अर्को सन्तानको आमा बन्न तिमीले सहयोग गर्नुपर्यो। म पुनः आमा बन्ने चाहन्छु। मैले वाचा गरेको छु कि मेरो घाँटीमा दुई वटा हस्ताक्षर हुनेछन्। अब बाँकी रहेको खाली ठाउँमा म तिम्रो हस्ताक्षर राख्न चाहान्छु।
हुन त मैले यो निर्णय करिब १ वर्ष अगाडिनै गरिसकेको थिएँ। तर तिमीलाई भन्ने समय, साथ र स्थान अनि हिम्मत जुटाउन गाह्रो भएकोले ढिला भएको हो।
मिसेल भन्दै गइ - तिमीले म माथि लोग्नेको कुनै हैसियत प्राप्त गर्ने छैनौं र बच्चामाथि पनि तिम्रो कुनै अधिकार हुनेछैन। साथै बच्चाको लालनपालन, हुर्काइ, बढाई वा पढाईसम्ममा पनि तिम्रो कुनै जिम्बेवारी हुनेछैन।
तिमीले मलाई बच्चा जन्माउन सहयोग मात्र गर्ने हो यसलाई तिमी क्षणिक आनन्द लिउ वा तिम्रो मानसिक शारीरिक भोक पुरा गर। तर मेरो लागि तिमीले पवित्र काम गर्नेछौं। म दुई सन्तानको आमा हुनेछु। यीनलाई योग्य बनाउने छु। यिनको संसार नै मेरो संसार हुनेछ। जसरी मैले मेरो घाँटीमा हस्ताक्षर भएको ब्यक्तिलाई उसको गर्भधारण गरेपछि भेटेको छैन त्यसैगरि तिम्रो हस्ताक्षर पनि मेरो घाँटीमा खोपाएपछि तिमीलाई पनि भेट्ने छैन।
यसको लागि न तिमीले म सँग बिहे नै गर्नुपर्छ न त जन्मिएको बच्चाको लागि वाबुले गर्नुपर्ने जिम्वेवारी बहन नै। मलाई केवल सहयोग गर। तर यसको लागि भने तिमीले एउटा शर्त पालन गर्नुपर्नेछ। जसरी यो पहिलो हस्ताक्षरवालाई मैले भेटेको छैन, त्यसरी नै गर्भधारण पछि म तिमीलाई भेट्ने छैन न त तिमीलेनै मलाई खोज्न पाउनेछौं। के तिमि मलाई सहयोग गर्न सक्छौ?
उसले बासुले सोच्दै नसोचेको र सोचनै नसक्ने गम्भीर विषय उठाएकी थिई। र सहयोग मागेकी थिइ। बासुको रोमान्टिकपना एकाएक १८० डिग्रीबाट शुन्यमा झरेको थियो।
शरीरले क्रिया प्रतिक्रिया जनाउने भए पनि संकेत त् दिमागले पठाउने रहेछ। बासुको दिमाग शुन्य भएको थियो। शान्त थियो।
उसले जे भने पनि एउटा बाबुको कर्तब्य, त्यसले निम्त्याउने भावनात्मक सम्बन्धबारे बासुको आफ्नै कल्पना र संसार थियो। फेरि उसले भने बमोजिम नै हुन्छ भन्ने के छ र? बासुको नजरमा क्षणिक मनोरञ्जनले निम्त्याउने जिम्मेवारी, नजानेको विदेशको कानुनको घेरा अनि आफ्नो पिआर लिएर बसाउन खोजिएको सुन्दर संसारमा यो विगतले निम्त्याउने भुइँचालोको अनुमान बासुले गर्यो।
आफ्ना केही नेपाली साथीहरू बिदेशमा बस्ने चक्करमा यताको पनि सन्तानको बाउ र उताको पनि सन्तानको बाउ बन्दा पाएको मानसिक चक्करको ज्ञान पनि उसमा थियो ।
सेलाइसकेको कफीको पुरै कप एकै पटकमा रित्यायो उसले। उसले मनमनै गम्यो-मलाई यहाँको कानुन, सरकारबारे केही थाहा छैन। म यहाँ पिआर लिएपछि नेपाल गएर बिहे गर्दै आफ्नो सुन्दर संसार बनाउने कल्पनामा दिन रात सोचिरहहेको छु। मिहेनत पनि त्यसै अनुसार गरिराखेको छु।
म कुनै महान मानिस होइन। एउटा स्वार्थी मानिस हुँ। म मेरै लागि मात्र बाँच्छु। मैले यस्तो गम्भीर विषयमा कहिले पनि सोचिनँ, अझ भनौं यो मेरो आफ्नो परम्परा र मैले हुर्केको, बाँचेको संसारमा मेरो दिमागमा यस्तो पनि हुन्छ भनेर कहिले आएन।
भाँडाको कोख र यस्ता सहयोग बारेमा समाचार र लेखहरूमा पढे सुनेको भए पनि कसैले यसरी निर्वाद सहयोगको आग्रह आफैंलाई गर्ला भन्ने कुरा वासुको लागि कल्पना भन्दा बाहिरको कुरा भयो।
के गरौं, के नगरौंको किमकर्तव्यबिमुढ अवस्थामा बासु पुग्यो। मिसेलले शुरूमा बाँधेको लामो पृष्ठभूमीले उत्तेजनामा मातिन लागेको वासु सहबासपछिको शिथिल पुरूषझैं लल्याकलुलुक पर्यो। कानले सुन्न छोडे जस्तो, आँखाले देख्न छोडे जस्तो, दिमाग ढक्क फुले जस्तो भयो।
ऊ केहि बोल्न सकिरहेको थिएन। उ ट्वाल परेको देखेर मिसेलले कफीको क्यानबाट उसको कपमा कफी खन्याउँदै सोधी, ‘मोर कफी’
यो पाप हो? यो पुण्य हो? यो मस्ती हो वा क्षणिक आवेग हो? यो सपना हो वा पुरै होस हवासमा कुनै करारमा हस्ताक्षर गर्न बसेको छलफल हो? उसले छुट्याउन सकेन।
हस्ताक्षर गर्नुपर्ने पनि सेतो घाँटीमा यो कस्तो सम्झौता हो? यो कस्तो त्याग हो? अनि यो कस्तो दर्शन हो घाँटीमा दोस्रो हस्ताक्षर?