बच्चाहरूले
चंगा उडाउने इच्छा राखे।
आमाले दिएको पैसाले
बुबाले केही चंगा र लट्टाई लिएर आए।
छतमा भेला भएर
बच्चाहरूले निलो आकाशतिर हेर्दै मुस्कुराए
अनि थाकेर लोथ भएझैं हिँडिरहेको बतासलाई
रफ्तार मिलोस् भन्दै मौन प्रार्थना गरे।
हुनसक्छ-
चंगाले कल्पियो असीम स्वतन्त्रता
निलो आकाशको फैलावट देखेर।
एकछिनमै त्यो चंगा तैरियो
बतासको पत्रहरूमाथि
अनि फेर्यो उन्मुक्तिको सास।
ऊ अनुग्रहित भयो
पैसा दिने आमा, उसलाई किन्ने बुबा
र उसलाई आकाशमा छोडिदिने बच्चाहरूप्रति।
छेवैमा फिरफिराई रहेको लङ्दुर
चंगाको हर्षलाई गिज्याउँदै फिस्स हाँस्यो
सायद उसले हेरिरहेको छ
चंगाको फेदमा बाँधिएको धागो।