मनभित्र रहेका स्मृतिहरूमा कुनै न कुनै अर्को चिज साक्षी बनेर बसेका हुन्छन्। हामी हुर्किएको समयलाई फर्केर निकै परसम्म हेर्न खोज्दा सबैभन्दा धेरै याद त मामुसँगको साथ, माया ममता नै त आउँछ।
हुर्कँदै गर्दा सबैभन्दा धेरै संसारसँग चिनारी थियो त मामुमार्फत नै। त्यसैले त हर चिजप्रतिको विश्वासमा मामु नै साक्षी हुनुहुन्छ। बाबा हामी जन्मिएपछि नै जापान जानुभएको रे। मामुले नै हुर्काउँदै हुनुन्थ्यो हामीलाई।
विसं २०५८ सालको सरस्वती पूजाको अघिल्लो दिन मलाई पढ्नको लागि काठमाडौँ ल्याइयो। भोलिपल्ट म कक्षा १ मा भर्ना भएँ। काठमाडौँ मामाघरको बसाइ थियो।
भाइ र मामु पनि अर्को वर्ष गाउँ लमजुङ छोडेर काठमाडौँ नै आउनुभयो। बाबाले जापानमा काम गर्दै पैसा पठाउनुहुन्थ्यो। मामु पनि भाइलाई लिएर मामाघरमै आएपछि म खुसीले फुरुङ्ग भएको थिएँ।
भाइलाई पनि कक्षा ३ मा भर्ना गराएपछि हामी एउटै कक्षामा पढ्ने भयौँ। ती दिनहरू निकै रमाइला थिए। मामुको काखमा हुर्कँदै, पढ्दै, खेल्दै हाम्रा दिनहरू सुखमय चल्दै थियो।
त्यतिकैमा मामु पनि जापान जाने कुरा सुन्न थालियो। म त सानै थिएँ मामु जाने कुराले एक्कासी नरमाइलो लाग्न थाल्यो। सुरुमा त मामु जाने भएपछि स-साना हामीलाई पनि साथैमा लैजानुहुन्छ होला भन्ठानेको त कहाँ हुनु, पछि थाहा पायौँ कि उहाँ एक्लै पो जान लाग्नुभएको रहेछ।
मामु पनि काठमाडौँ आएर बस्न थालेको खुसी कमजोर हुँदै थियो। त्यसपछि भने म डराएँ, रोएँ, चिच्याएँ अनि बाबालाई ममीको लागि भिसा नपठाउनू भन्दै अनुनय विनय गर्यौँ। तर हामीलाई कहाँ मान्नुहुन्थ्यो र! हामीलाई मामाघरमै छोडेर मामु पनि लाग्नुभयो जापान।
हामीले नचाहेर पो के भयो र? हामीजस्ता भारेभुरेलाई कसले सुन्ने बुझ्ने? त्यसपछि भाइ र म मामाघरमै बस्न थाल्यौँ।
बरु मामुले हामी जन्मेर अलिअलि बुझ्ने पनि नहुँदै छोडेर जानुभएको भए त्यति धेरै उहाँको सम्झनाले सताउन्नथ्यो होला तर हामी त मामुको माया, ममता काख गाली, हप्काई अनि फेरि उस्तै माया हेरचाह यही क्रममा अभ्यस्त भइसकेको थियौँ। तर जसरी चटक्क छोडेर जानुभयो, त्यसले हामीलाई लामो समयसम्म असर परिरह्यो।
सुरुमा त हामीलाई एक/दुई महिनाको लागि मात्र जान लागेको भनिएको थियो तर त्यो जाने बेलामा हामीलाई भुलाउने झुटा आश्वासन मात्र रहेछ। उहाँ गएको हप्ता, महिना हुँदै समय बित्दै गयो।
आकाशमा जहाज उडेको देख्दा हाम्रो मामु फर्किनुभयो कि भन्ने आशाले फुर्किन मन लाग्थ्यो। किनकी जब-जब मामुबाबासँग फोनमा कुरा हुन्थ्यो, उहाँहरू अब छिट्टै आउँछौँ हामी भनिरहनुहुन्थ्यो।
एकातिर मामु र बाबा दुवै नहुँदा हामीलाई नरमाइलो लाग्थ्यो भने अर्कोतिर कुरा हुँदा पनि छिट्टै आउने भनेर प्रायः गरिरहने झुटा आश्वासनले दिन प्रतिदिन हाम्रो बालमनस्थिति दुखी बनाउँदै लग्थ्यो।
अभाव त मामुको काखको, साथको र बाबाको काँधको मात्रै थियो बाँकी अरु त भनेजस्तै थियो। राम्रो स्कुलमा पढ्थ्यौँ, मामा, माइजू अनि आमाबाले पनि असाध्यै माया गर्नुहुन्थ्यो। हामीलाई गर्ने मायामा उहाँहरूले कहिल्यै कमि गर्नुभएन। तर जसबाट जसरी मायाको साँच्चै अभाव थियो त्योबाहेक अरु सबैले आफैलाई त्यागेर माया गर्दा पनि नलाग्ने रहेछ सायद।
अनि भयो पनि त्यस्तै। बाल्यवस्था भएरै होला फोहोरमै खेल्न मन लाग्ने अनि खाने बेलामा पिर्ने त भैरहन्थ्यो। दुःख पनि दिन्थ्यौँ, सताउँथ्यौँ अनि गाली गर्नुहुन्थ्यो, सम्झाउनुन्थ्यो तर पनि १०० दिन माया गरेर एक दिन मात्रै गाली गर्नभएको हुन्थ्यो भने पनि मायाभन्दा धेरै त गाली पो गर्नुहुन्छ जस्तो लाग्ने रहेछ, मामुबाबासँग नबस्दा।
जब-जब म र भाइ मामुसित बोल्थ्यौँ र चाँडै आउनू भन्दै रुन्थ्यौँ, उताबाट मामु पनि रुन थाल्नुहुन्थ्यो। विस्तारै महसुस हुँदै जान थाल्यो कि हामी रुँदा मामु पनि रुनुपर्ने रहेछ भने हामी किन रुनु मामुको अघि? त्यसपछि छोटो कुरा भएर जब अँध्यारो अनुहार लाउनुहुन्छ मामुले, त्यसपछि फोन काटेर कसैले नदेख्ने गरी रुन्थ्यौँ।
मामुको अघि आँसु लुकाउने हरदम कोसिस गरिरह्यौँ। धेरै मेहनत गरेर पढेपछि भने मामुबाबालाई रमाइलो लाग्नेरहेछ। हामीले मामुबाबालाई रमाइलो लाग्ने गरी कोसिस गर्दै गयौँ।
मध्यराति झस्केर भाइले ‘मामु मामु’ भन्दै रोएका कैयौँ रातहरूले मलाई आजसम्म पनि सम्झिँदा सताउँछ। निकै नराम्रो असर परेको थियो हामीलाई। सबैको मामुबाबाले स्कुल आफै पुर्याउन लैजाने गर्थे तर हामीलाई चाहिँ आफू कमजोर महसुस हुन्थ्यो।
मामु जानुभएको डेढ वर्षपछि मामु र बाबा दुवैजना नेपाल आउनुभएको थियो। मामु आउनुहुँदा यति धेरै खुसीका आँसुहरू बगाएथ्यौँ कि हामी साँच्चै लामो समयसम्म शिकारीको चोटले गुँडमा फर्किन नसकेकी आमा चरी बाँच्ने सम्भावना लगभग सकिन लागेको आफ्ना बचेरालाई बचाउने गरी सम्हाल्न आएझैँ भयो। हामीले सोच्यौँ अब त मामु जानहुन्न होला।
तर उहाँलाई हाम्रो आँसुले रोकेन र फेरि बाबासँगै जानुभयो, हामीलाई यतिधेरै अर्डर नियमहरू भजाएर। त्यसपछिको समय पनि उसैगरी बित्न लाग्यो तर मामुसँग यस्तो गाढा संयोजन बनेछ कि झन्-झन् धेरै याद आउने। झन् बिदामा आउँदा घुमेका पोखरा सौराहा नारायणी नदी, लुम्बिनी आसपासमा खिचेका तस्बिरहरू हेर्दा त झनै आफूलाई पनि सँगै लगे हुन्थ्यो लागिरहन्थ्यो।
मामाघरमा मामा-माइजूले भन्नुभएको मान्नै मन नलाग्ने, सानो-सानो कुरामा पनि रिसाउने, झर्किने भएको थियो। सायद माया, स्नेह समयमै पाउनुपर्ने मान्छेबाट पाइएन भने मान्छे मान्छे मात्र नरहँदो रहेछ। यसरी कलिलो बाल मष्तिस्कलाई असर पर्दै हामी हुर्कँदै गयौँ।
मामु गएपछि नै त हो हाम्रो दुःखका दिन सुरु भएको। त्यसपछिको दिनहरूमा हामी खुलेर खुसी हुनै सकेनौँ। पढ्न चाहिँ भाइ र म नै राम्रैसँग पढ्थ्यौँ। तर अरु कुरामा भने ध्यानै नजाने एकोहोरो हुँदै गयौं।
कहिलेकाहीँ ससाना कुरामा मामामाइजूले सम्झाउन खोजे पनि असाध्यै नरमाइलो लाग्ने। हुन त हाम्रै राम्रोको लागि त्यो सब भन्नुभएको हो थाहा नि छ, तैपनि मनले नमान्ने। राम्रो नलाग्ने। उहाँप्रति नै रिस उठ्ने, कराउन मन लाग्ने।
त्यो सब हुनुमा न हामी दिदीभाइको दोष थियो न त मामामाइजूको। दोषी थियो त केबल हाम्रै भाग्यको। जसले आमाको पर्याप्त काख र बाबाको काँधबिना नै बालापन गुजार्नुपर्थ्यो।
हामीलाई गर्ने मायामा कहिल्यै कम गर्नुभएन तर पनि किन-किन माइजूको काख आमाकै जस्तो नलाग्दोरहेछ। आफ्ना आँसुहरू वेदनाहरू मनभित्रै दबाउनुपरेकोले होला हामी अरुभन्दा अलि बढी नै आक्रोस, क्रोध र रिसले भरिएथ्यौँ लाग्छ।
हाम्रो लागि खुसी किन्ने पैसा कमाउन बाबामामु परदेशमा लाग्नुभएको रे! तर के थाहा उहाँहरूलाई कि हाम्रो खुसी त उहाँहरूको साथमै छ भनेर।
म कसरी बुझाउँ कि आमाको काखभन्दा राम्रो सुरक्षित र बाबाको काँधभन्दा अग्लो खुसी अन्त हुन सक्दैन भनेर। म असहाय थिएँ, भाइ पनि विवश थियो। यिनीहरूले केही गर्न सक्ने होइनन् भनेर छोडेर जानुभएको थियो नि है!
यो धर्ती र आकाशभन्दा विराट त केही हुन्न रहेछ नि। मलाई त मेरो मम्माको छातीभन्दा ठूलो धर्ती र बाबाको काँधभन्दा ठूलो कुनै आकाश लाग्दैन। हामी त सबथोक पाएर पनि रित्तो थियौँ। सबै पाएर नि केही नपाएझैँ भएका थियौँ।
मैले गल्ती गर्दा, खाना ५ मिनेटसम्म मुखमै राखेर सताइरहँदा मेरो मुखमा उहाँले हान्दा पनि मामु नै भन्दै रोइन्थ्यो। एक्लै हुँदा त मुखमै हाने पनि हान्नुस् तर नजिक चाहिँ भइदिएहुन्थ्यो लाग्नेरहेछ। हामीले जे-जे भन्थ्यौँ त्यही किन्दिनुभो। खानको लागि केही कमी गर्दिनुभएन भनेअनुसारकै लाउन पायौँ।
अन्य आवश्यकताले कहिल्यै पिरोलिनुपरेन तर त्यसो भन्दैमा पनि कहाँ खुसी भइँदोरहेछ र! जसलाई जे चिजको अभाव छ उसलाई त्यसैको त सबैभन्दा धेरै जरुरी हुने हो नि सबैथोक पाएर पनि काख नै नपाएपछि त पाएकै चिज पनि पाएझैँ नलाग्ने रहेछ।
कक्षा ७ पढ्दाको कुरा हो, पहिलो पटक रजस्वला हुँदा असाध्यै पेट दुख्यो। सरसफाई गर्नेदेखि लिएर मनमा खेल्ने नानाथरी विचार अनि किशोरावस्था प्रवेश गरेपछिका कत्ति-कत्ति कुराहरू जो आमासँग मात्र भन्न सकिन्छ लाग्थ्यो। तिनै दिनहरूमा मामुको साथ पाइनँ। त्यतिबेला असाध्यै मामुलाई खोजेको थिएँ।
तर खोज्ने मात्रैले के हुनु र मामुसँग जसरी अरु कोहीसँग पनि भन्न नसकिने रहेछ। साथीलाई भन्यो उनीहरूले जे जान्यो त्यही सिकाउँथे, कतिलाई त के भइरहेको छ नै थाहा नहुने। राम्रो खान लाउन र पढ्ने व्यवस्था मिल्नुबाहेकको अरु साथहरू केही पनि नपाउँदा हामी मामुबाबासँग कम अनि मामामाइजूसँग ज्यादा नजिक भएका थियौँ।
कसैको पनि डर नभएर होला भाइले स्कुलमा झगडा गर्न थालेको थियो। विस्तारै ऊ खराब संगतको फलस्वरुप रक्सी, चुरोट, गाँजा जस्ता कुलतमा पनि फस्दै गयो। किशोरावस्थाको नयाँ प्रवेशसँगै न त मैले नै सम्झाउन सकेँ न कसैले भनेको नै मान्थ्यो। ग्याङ फाइटमा सामेल हुँदै पुलिस चौकीसम्म पुग्न थालेपछि मामामाइजूले पनि निकै दुःख पाउनुभयो।
यो बीचमा बाबा जापानबाट नेपाल आउनुभयो तर उहाँले हामीलाई बुझ्ने भाइलाई सम्झाउने भन्दा पनि हाम्रो कारणले तनाव थपिएको भन्दै कराउन थाल्नुभयो। भाइलाई र मलाई सँगै राखेर तिमीहरूकै लागि भनेर दिनरात नभनी काम गरेर त्यत्रो पैसा पठाएको कुलतमा लाग्यो, जे मन लाग्यो त्यही गरेर पैसा सक्यौ भन्दै हप्किदप्की गर्नुभयो।
सधैँ माया गरेर कहिलेकाहीँ गाली गर्नभएको भए त्यस्तो केही नराम्रो लाग्दैनथ्यो होला। तर वर्षमा एक दिन आएर पनि त्यसरी गाली गरेको साह्रै नराम्रो लाग्ने रहेछ। त्यसपछि भाइ त बोल्नै छोड्यो बाबासँग।
भाइ कुलतमा फस्दै गएपछि नशा नलिई निदाउनै नसक्ने हुँदै गयो। उसलाई ३ महिनासम्म सुधार केन्द्रमा राखियो। विस्तारै बानी सुधार हुँदै जाँदा उसलाई घर ल्याएको केही समयपछिको कुरा हो। एक साँझ घरको छतमा बसेर गाँजा खाइरहेको भेटेँ, त्यसपछि म भाइसँग बोल्न छोडेँ।
म १५ दिनसम्म पनि नबोलेपछि उसलाई सहिनसक्नु भएछ र एकदिन मसँग निकै नरमाइलो मानेर धेरै बेरसम्म रोयो। मैले पनि अब आइन्दा जाँड, रक्सी, चुरोट नखाने र झैझगडा नगर्ने सर्तमा बोल्न थालेँ र उसलाई आफैले धेरै माया गर्न थालेँ।
एक रात भाइ सुतिरहेको थियो। मध्यरात मरेँ मरेँ भन्दै छट्पटाइरहेको देखेँ। के भयो भनेर नजिक जाँदा कामिरहेको रहेछ। लामो समयसम्म नशाको लत परेको शरीर एकैचोटि छुट्न खोज्दा असर परेको रहेछ। त्यसपछि साह्रै छटपटिँदा केही सर्को तान्न दिँदै विस्तारै कम-कम गर्दै उसलाई कुलतको त्यो नशाबाट पूर्ण रुपमा उतार्न सफल भएँ।
यस्तै-यस्तै एकपछि अर्को अप्ठ्याराहरू एक्लै सहनुपरेपछि नराम्रा सोचहरू पनि आइरहन्थ्यो। अलि समयपछि केही समय मामु आएर त बस्नुभयो तर मलाई सम्झाइबुझाइ गरेर फर्किनुभयो। मलाई बस्नुहोला भन्ने त आश नै कहाँ थियो र? समय फेरि आफ्नै रफ्तारमा चल्दै गयो।
एकपछि अर्को गर्दै आएका समस्याहरूमा आमाबुबाले पूरा गर्नुपर्ने दायित्व पनि आफैले सम्हाल्न पर्ने भयो।
जापानमा मामुबाबाको व्यवसाय राम्रो हुँदै थियो। टोकियोबाट सुरु भएको रेस्टुरेन्ट व्यवसाय ओसाका, नागोया फुकुओकासम्म शाखा खुल्न सफल भएको थियो। तर यता नेपालमा भने हामी मामुबाबा भएर पनि एक्लै थियौँ। हुनु भनेको रहनु मात्र होइन रहेछ, हुनुको सम्पूर्ण जिम्मेवारी पूरा गरेको हुनुपर्ने रहेछ।
पछिल्लो समयमा आइपरेका सबै समस्याहरूमा एक्लै लड्नु परेर होला विस्तारै मामुबाबाप्रतिका सामीप्यता कमजोर हुँदैगयो। यो भनिरहँदा पनि पक्कै खुसी थिइनँ तर वर्षको एक/दुई पटक भेटेर मात्रै आफ्नै मामुबाबासँग पनि सामीप्यता, आत्मियता घनिष्ठ बन्न नसक्ने रहेछ।
म दुःखका साथ भन्छु विस्तारै उहाँहरू आफ्नो भन्ने सोच पनि कमजोर हुँदे गयो। अप्ठ्यारोमा नपाएको साथ र रुँदा नपाएको आफ्नै मामुको काख पनि बिरानो भएको थियो।
समय यसरी चल्दै गयो कि आफैभित्र मामुबाबासँग भन्दा पनि आफैले आफ्नो लागि गर्नुपर्ने रहेछ भन्ने लाग्दै गयो। अर्को महिना आउँछु, फेरि अर्का महिना आउँछु भन्दै नआउँदै झुटा आश्वासन मात्र पाइरहँदा बाल मस्तिष्कमै असर पर्दै जाँदा त्यसको नराम्रो असर हाम्रो सिकाइमा पनि पर्यो।
जीवन बुझ्ने क्रममा त्यस्ता धेरै कुराहरू सिक्नबाट बञ्चित भइयो जुन कराहरू मामुबाबाको साथमै रहेर मात्र सिक्न सम्भव थियो। आफैले बालापनमा स्नेह नपाएर होला अरुलाई माया पनि गर्नुपर्ने रहेछ भन्ने कुरा पनि पछिपछि अरुका दुःखहरू देख्दै गएपछि मात्रै सिक्यौँ।
हामी १० कक्षामा पढ्ने भैसकेको थियौँ। कहिलेकाहीँ बाबाममी आउँदै हुनुन्छ भन्ने कुरा थाहा पाउँदा पनि वास्तै नलाग्ने। बरु मामामाइजू कहिलेकाहीँ लामो समयको लागि उपत्यकाबाहिर जानुहुँदा भने चाँडै आउनुभए नि हुन्थ्यो लाग्थ्यो। प्लस-टुको पढाइ सकिएपछि भाइलाई पनि जापान लैजाने कुरा थियो तर भाइले मानेन।
बाबा कडा स्वभावको भएर पनि होला मामुले भनेको कुरा सुन्नुहुन्थेन। उहाँलाई हाम्रोभन्दा चिन्ता आफ्नो व्यवसायकै थियो सायद। मामु जहिले फोन गरे पनि रुनुहुन्थ्यो। सायद उहाँ आउन चाहनुहुन्थ्यो तर बाबाले मान्नुहुन्नथ्यो।
बाबा नेपाल आउँदा पनि हामीसँग तिमीहरूलाई भनेर यति धेरै दुःख गरेर पैसा पठाउँछौँ, तिमीहरू भने कहिले के गर्याछ कहिले के कुराले तनाव दिएको छ भन्दै उल्टै कराउनुहुन्थ्यो। तर के थाहा हामीलाई केको अभाव थियो भनेर।
त्यसपछि भने मामु रुँदा पनि झर्को लाग्ने हुँदैगयो। मामुबाबाबारे यसो भन्नुहुन्थेन होला माफ गर्नुस्, हाम्रै लागि समर्पित भएर दुःख गर्नुभयो भने पनि नपाएको कुरालाई पायौँ भन्न चाहिँ सक्दैनौँ।
त्यतिन्जेलसम्म पनि चलिरहेकै थियो। धेरै नजिक हुन सकिएन, भइएन त्यो पनि ठिक छ तर जब जीवनमा बाबाममीसँग अरु साथीहरूको निकै राम्रो प्रेम घनिष्ठता देखेँ। डाह लाग्यो। जे-जे नराम्रो हुनु त भैसक्यो तर अब भने हाम्रो नि यस्तै भैदिए भनेर सोच्न थालेँ।
हाम्रो अरु कुराहरू सामान्य छ तर मामुबाबासँग सम्बन्ध नै कसरी राम्रो बनाउने, कसरी प्रगढ बनाउने होला भनेर सोच्न थालेपछि भने मन निकै बेचैन भयो। जतिबेला पनि यही कुराले मानसपटलमा टर्चर दिन थाल्यो।
यसरी आफूले मात्र चाहेर बन्न नसक्ने कुरामा पागल हुनुभन्दा आफूसँग जे क्षमता छ त्यसैमा संघर्ष गर्ने अनि हाम्रो कारण अब कसैलाई पनि दुःख नदिने भनेर भाइलाई पनि मनाएर हामी अस्ट्रेलिया अध्ययनको प्रक्रिया अघि बढायौँ। यो सबै थाहा पाएर बाबा हामीसँग रिसाउनुभयो।
छिट्टै हामीलाई पनि जापान लैजाने भन्नुभएको थियो तर हामी जान मानेनौँ किनकी हाम्रै कारण धेरै चिन्ता भएको भनेर कराउनु भएपछि गाली, गर्नु भएपछि हामीले यो चाहेनौँ कि हाम्रो कारण अब थप बोझ थपियोस्।
उहाँहरूको असहमति बिना नै हामीले अस्ट्रेलिया जाने प्रक्रिया अघि बढायौँ। मामु हामीसँग निकै रुनुभयो तर पनि खै किन बाबाको व्यवहारबाट हामीलाई निकै असर परेकोले होला हामी रोकिन सकेनौँ।
पैसाको व्यवस्था पनि हाम्रो बिमाको रकम बैँकमा आइसकेको थियो। त्यो पैसा मामु आएपछि झिक्ने तय भएको थियो। तर हामीले त्यही पैसा झिक्यौँ र अपुग केही पैसा साथीहरूसँग जोहो गर्न सफल भयौँ।
यतिबेला हामी मेलवर्नमा बस्छौँ। 'मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी'मा पढ्छौँ। अध्ययन, काम, कमाइ, सुख दुःख राम्रैसँग चलेको छ।
थाहा छैन हामीले सही गर्यौं वा गलत। थाहा छैन जीवनमा सबैथोक पाएर पनि केही नभएजस्तो हुनुमा दोष हाम्रै थियो या अरु कसैको। तर यति चाहिँ थाहा छ मामा-माइजूले पनि हाम्रो लागि अथाह गर्नुभएको छ।
अब बाबामामुसँग पनि गुनासो गर्न छोड्यौँ। सकेसम्म आफ्नै संघर्षले कसैलाई पनि बोझ नबोकाई जिउने संकल्प गरेका छौँ। उमेरले त अढाइ दशक पनि कट्दैछौँ तर कैयौँ जटिल कुरामा सोच्न बाध्य बनाइदियो समयले।
हामी आशा गछौँ कोही कसैको पनि हाम्रो जस्तो बालापन नहोस्। विविध बाध्यताले आफूसँगै राख्न नसकुन्जेल त बेग्लै कुरा तर जब सँगै लैजान मिल्ने सहज अवस्था बनेर वर्षौं बितिसक्दा पनि आफ्ना छोराछोरीको चाहनालाई नजरान्दाज गरियो भने आत्मीयता कमजोर हुँदै जान्छ।
बरु अभाव नै सही आमाको काख र बाबाको काँधमा हुर्किन पाउनेहरू धेरै हदसम्म भाग्यमानी हुन्। त्यही काख नपाएपछि संसारका सारा सुख सुविधा पनि खल्लो हुँदोरहेछ।
हाम्रो कुराहरू सुनेर आफ्नै जन्मदिने आमाबाबुलाई पनि नरमाइलो बनायौँ भनेर गाली पनि गर्नुभयो होला कतिले तर कसैले हामीलाई बुझ्न खोज्छ भने हामी रोएका ती आँसुहरूलाई महसुस गरून्। हामी यति भन्छौँ कि हाम्रोजस्तो खल्लो बालापन कसैले पनि भोग्न नपरोस्।