यस्तै पुसको महिनाताका, जाडो जाडै थियोे। अघिपछि भन्दा अलि अबेर ओछ्यानबाट ६:३० तिर उठेँ। योग गर्ने र मर्निङ वाक जाने समय बितिसकेको थियो। त्यसैले बाहिर निस्किनँ। अचानक मेरो दाहिने छाती दुख्न थाल्यो। एकछिन खुट्टा भुइँमा झारेर बसेर सोचें, कतै मलाई मुटुको बिरामी त भएको हैन?
यस्तो सोच्दै म बैठक रूममा गएँ। त्यहाँ पूरै परिवार आ-आफ्नो मोबाइलमा व्यस्त थिए। कोही घोप्टो पर्दै, कोही उत्तानो, कोही टिकटक लाइभमा।
मैले श्रीमतीलाई हेर्दै भनें-आज छाती अरू दिनभन्दा धेरै नै दुखिरहेको छ। डाक्टरसँग परामर्श लिएर आउँछु।
‘हुन्छ जाँदा बिस्तारै जानुहोस्। त्यस्तो केही परेमा कल गर्नू।’ श्रीमतीले आफ्नो मोबाइलमा बुढी औंला चलाउँदै भनिन्।
म बाइकको चाबी लिएर तल भर्याङ झर्दै पार्किङतिर निस्कें। मेरो हात काम्न थालेको थियो। मेरो शरीर साथै निधारमा पसिना धेरै आइरहेको थियो। चिसोले गर्दा पनि होला, बाइक स्टार्ट भैरहेको थिएन।
त्यही समय, हाम्रो घरमा काम गर्ने बिर्खे साइकल लिएर आयो।
साइकलमा चाबी लगाउनेबित्तिकै उसले मलाई अगाडि उभिएको देख्यो।
‘सर नमस्कार! बाहिर निस्कन लाग्नुभएको, बाइक स्टार्ट भएन र?’, उसले सोध्यो।
मैले भनें: अँ, अघिदेखि स्टार्ट गर्न खोजेको स्टार्ट नै भएन।
ऊ: सर तपाईंको स्वास्थ्य ठिक छैन जस्तो छ। तपाईंको शरीरबाट किन यति धेरै पसिना आको? यस्तो हालतमा बाइकलाई किक मार्नु हुँदैन। म किक मारेर स्टार्ट गरिदिन्छु।
बिर्खेले एकै किकमा बाइक स्टार्ट गरिदियो र भन्यो- सर एक्लै जान लाग्नुभाको?
मैले भनें: हो।
उसले भन्यो: मेरो पछाडि बस्नुस् राम्रोसँग समातेर म पुर्याइदिन्छु।
मैले भनें: कान्छा, तिमीलाई बाइक चलाउन आउँछ?
‘सर मसँग बाइकको लाइसेन्स समेत छ। चिन्ता नगर्नुहोस्।’
भूकम्प आउँदा जमिन काँपेझैं मेरो शरीर कापिरहेको थियोे।
बिहान र चिसो मौसम भएको हुनाले धेरै जाम थिएन र समयमै वीर हस्पिटल पुग्यौं। तर त्यहाँ पालो आउन ढिलाइ हुने देखेर थापाथलीमा रहेको नर्भिक हस्पिटलमा पुग्यौं। बिर्खे दौडिएर भित्र गयो र ह्विलचेयर लिएर बाहिर आयो।
‘सर, अब नहिँड्नुहोस्। यो कुर्सीमा बस्नुस्..,’ ह्विलचेयर देखाउँदै उसले भन्यो।
बिर्खेको मोबाइलमा लगातार फोन आइरहेको थियो, मैले सजिलै अनुमान लगाएँ श्रीमतीको भनेर ‘यतिबेलासम्म किन काम गर्न आइनस्’ भनेर।
बिर्खेले मलाई डाक्टरले गर्नुपर्ने व्यवहार जस्तै गरिरहेको थियो। अझै भनूँ जीवनसाथी जस्तो भूमिका देखाएको थियोे।
मैले नभने पनि उसले बुझिसकेको थियो कि मलाई मुटुको समस्या छ भनेर। त्यसैले ह्विलचेयरको सहायताले आइसियु भएको ठाउँतिर लिएर गयो। म निदाएको भनूँ या बेहोस भैसकेको थिएँ त्यो बेलासम्म। हल्का पानीले स्पर्श गरेपछि ब्युझिएँ।
आइसियूमा डाक्टरको टिम तयारीमा थिए। मेरो समस्या सुनेपछि सबै परीक्षण चाँडै गरियो।
डाक्टरहरूले भने: तपाईं समयमा नै आइपुग्नुभयो भाग्यमानी हुनुहुँदो रहेछ। ह्विलचेयर प्रयोग गर्नुभएको रहेछ। यो तपाईंको लागि धेरै फाइदाजनक भयो। अब केहीबेर कुर्नु भनेको तपाईंको लागि निकै हानिकारक छ यो निकै संवेदनशील केस हो, त्यसैले ढिलो नगरी मुटुको अपरेसन गर्नुपर्छ। यो फारममा तपाईंको आफन्तको सहमति चाहिन्छ कोसँग आउनु भएको छ तपाईं ?
मैले बिर्खेतिर हेरेर भनें- बिर्खु तिमीलाई साइन गर्न आउँछ र?
उसले भन्यो- सर, मेडमलाई खबर गरौं, यस्तो विषयमा त।
‘बिर्खे तिम्रो कुनै जिम्मेवारी छैन? तिमी मेरो रगतको नाता नभए पनि मैले केही नभनी मलाई यहाँसम्म ल्याएर आफ्नो जिम्मेवारी पूरा गरेका छौं। त्यो जिम्मेवारी वास्तवमा मेरो परिवारको थियो। एउटा थप जिम्मेवारी पूरा गरिदेऊ बिर्खु। म तल लेखिदिन्छु ‘अपरेसन गर्दा भुलबस केही भएमा म आफैं जिम्मेवारी हुनेछु भनेर’।
यति भनेपछि बिर्खेले हस्ताक्षर गर्यो।
यसलगत्तै सेतो एप्रोन लगाएको सिस्टर आएर भनिन्- १ लिटर ‘O-’ को रगत तयार छिट्टै गर्नुस् है अपरेसन गर्दा दिनुपर्ने हुनसक्छ।
बिर्खे उता डाक्टरसँग कुराकानी गर्दै थियो सबै मैले बुझ्न सकिनँ।
यत्तिकैमा बिर्खेको मोबाइलमा मेरो घरबाट श्रीमतीको फोन आयो। ऊ चुपचाप उनको कुरा सुनिरह्यो, जसरी कारागारमा कैदीले पुलिसको कुरा सुन्छ।
केही समयपछि बिर्खेले जवाफ दियो- म्याडम बरू मेरो तलब काट्ने भए पनि काट्नुस्, घरबाट निकाल्ने भए पनि निकाल्नुस् तर यहाँ अपरेसन सुरू गर्नु अगाडि नै हस्पिटल आइपुग्नुहोस् पिलिज। म्याडम मैले सरलाई यहाँ थापाथली नर्भिक हस्पिटल लिएर आएको छु, डाक्टरले मुटुको अपरेसनको तयारी गर्दैछन् छिटो आउनुहोस्...।
मैले भनें- बिर्खे, घरबाट फोन आको थ्यो हो?
बिर्खे- हो, हजुर ।
मनमनै श्रीमती बारेमा सोचें। तिमीले कस्तो तलब काट्ने कुरा गरेकी? तिमीले कस्तो घरबाट निकाल्ने कुरा गरेकी? आँखाभरि टिलपिल आँसु पारेर बिर्खेको काँधमा हात राखेर भनें- बाबु चिन्ता नगर। म तिमीलाई यो चेक साइन गरेर दिनेछु सायदै म रहिनँ भने पनि मलाई नर्क जानुपर्ने छैन र बाँचे धर्मपुत्र बनाउनेछु। अब तिम्रो मेरा घरमा काम सधैं भाँडा माज्ने, कपडा धुने, सरसफाइ गर्ने मात्रै हुनेछैन, तिम्रो आत्मामा समाज सेवा गर्ने चाहना रैछ, माया र सम्मान दुवै पाउनेछौ।
अपरेसनपछि होसमा आएँ। मेरो अगाडि मेरो सम्पूर्ण परिवार नतमस्तक शिर निहुरी पारेर उभिएका थिए। मैले आँखाभरि आँसु पारेर भनें- बिर्खे कहाँ छ?
श्रीमतीले भनिन्- ऊ अहिले भर्खर मसँग बिदा मागेर उसको गाउँ गयो। भन्दै थियो उसको बुवा हार्टअट्याक भएर गएराति स्वर्गबास हुनुभएछ। १५ दिनपछि आउँछु भनेर गको छ।
अनि मेरो अपरेसन गर्दाको फाइल पल्टाउँदै हेरें, नजिकै रहेको डाक्टरसँग सोधेँ रगत कहाँबाट ल्याउनु भयो डाक्टर साब।
डाक्टर- तपाईं भाग्यमानी हुनुहुँदोरहेछ र म पनि। बेलैमा O- रगत पाउनुभयो, जुन बिर्खेको रगत मिल्दो रहेछ, उनले पहिला त म नोकरको रगत मालिकलाई के दिनु भनेर अप्ठ्यारो मानेको थियोे पछि कुरा बुझाएपछि मान्यो।
यसो भन्दै डाक्टरले मुखमा लगाएको मास्क खोले र अंगालो मारे।
तर कस्तो संजोग जुरेछ भने नि २०५५ सालतिर पृथ्वीनारायण क्याम्पस पोखरामा सँगै आइएस्सी पढेको स्याङ्जाको साथी नै रहेछन् मेरो अपरेसनको मुख्य जिम्मेवारी लिने डाक्टर। २५ वर्ष पछिको यो अवस्थाको भेटले गर्दा झन् मेरा आँखा भरिए।
मेरा हात समाउँदै उनलेे भने- तपाईं नआतिनुस, सन्जय सर, तपाईंलाई घर नपठाउन्जेल म यही रहनेछु, मलाई वर्ल्डकप जितेजस्तो महसुस भयो।
एकछिनमा मेरो आँखाभरि ग्रहण लागेको जस्तो भयो, नानीभरि बिर्खे नाचिरह्यो। मैले अनुमान गरें कि उसले मभित्र उसको बुवा देखिरहेको थियो। तर मलाई पश्चाताप लागिरहेको थियोे घरमा उसको बुवा बिरामी भएको कुरा मलाई किन भन्न सकेन भनेर। उता मेरो पूरै परिवार हात जोडेर मसँग माफी मागिरहेका थिए।
डाक्टरले आएर भने- सन्जय सर, एउटा कुरा भन्नुस् त, बिर्खे भाइ तपाईंको नाताले के पर्नुहुन्छ?
मैले भनें- डाक्टर साब, कुनै-कुनै सम्बन्धको नाम र गहिराइमा नगएकै राम्रो हुन्छ। सम्बन्धको आफ्नै गरिमा रहन्छ। अहिले यत्ति नै भन्छु कि ऊ मेरो आपतमा भगवान, प्राणवायु सास बनेर आयो।
छोरा उज्वलले पाउ समाउँदै भन्यो- हामीलाई माफ गर्नुस् बुवा। बिर्खेले समयमै हाम्रो कर्तव्य पूरा गर्यो। अबदेखि यस्तो गल्ती आउँदा दिनहरूमा कहिल्यै दोहोर्याउने छैनौं।
मैले केबल मुन्टो हल्लाएमात्रै।
‘सानु, सल्लाह र सुझाव त मान्छेलाई दिनकै लागि हुन्छ। जब लिने समय आउँछ मान्छेहरू बाहनाका साथ तर्किने कोसिस गर्छन् यसको लागि गतिलो झूट खेल्ने साधन तिम्रो हातमा छ।’
म शान्त रहन सकिरा छैन बिर्खेलाई सम्झेर, अनि किरिया बसेको बिर्खेलाई भेट्न जान उसको गाउँको ठेगाना, केही पैसा र बाइकको चाबी छोराको हातमा थमाएँ।
अब रह्यो मोबाइलको कुरा।
‘छोरा यो सासविहीन निर्जीव खेलौनाले जिउँदो खेलौनालाई दास बनाएको छ। कोही आफन्त घरमा आउँदा होस् या उसको घरमा पुग्दा होस् हालखबरभन्दा वाइफाइको पासवर्ड खोजिरहेको हुन्छ। साथीहरू रमाइलोको लागि पिकनिक जाँदा, टुर जाँदा समेत ‘एक्लै मोबाइलमा टिकटक, च्याट गरेर आफूलाई एक्लो बनाइरहेको हुन्छ’। सानु बाबु, यसको सीमित सदुपयोग गर्ने बेला आएको छ।
यदि होइन भने हामीजस्तो विकासन्मुख देशमा व्यक्ति, परिवार, समाज र राष्ट्रले गम्भीर परिणाम भोग्नुपर्नेछ र यसको मूल्य चुकाउन तयार हुनुपर्ने बेला आउनेछ।