ऊ ढले
म चुपचाप शान्त र अटल बनेर उभिरहेँ
निरीह मुकदर्शक पात्र बनेर
नजिकै रहेको समुद्र तुफान मृत्यु
बनेर आए
परदेशी आकाशको बादल
आँसु बनेर बरर... बर्सिरहे
भगवान जाने सागरको सेतो लहर
नैनासुतको कात्रो बनेर आयो
बिरानो सागरको बगर किनार
देवघाट पवित्र आर्यघाट बने
सम्झेर सम्झनाको तीन तले चित्ता सhfएर
मनमा चलेको तुफान तुवाँलो
धुवाँ बने
क्षणभरमै दाहसंस्कार भए
उनको शाश्वत मृत्युको खबर
कायर सरकारको लागि
समाचार बने
परदेशमा एउटा जिन्दगी ढले!
ऊ ढले
ऊ मरे
ऊ बिते
मात्रै ऊ मेरो कल्पनाको कथामा
उनको भएको थियो सतगत
अनि दाहसंस्कार
यथार्थमा उनको पार्थिव देह
बाटोमा मरेको कुकुरको लासजस्तै भएर
अन्जान अपरिचित सहरको
बिरानो अस्पतालको मर्चरी मुर्दाघरमा
चिसो बरफको तन्न बिछ्याएर
कालो अँध्यारो ओडेर
स्वदेश फर्कने दिन पर्खँदै थियो
परदेशमा एउटा जिन्दगी ढले!
उनको मृत्युको खबर
नव आधुनिक समाजसेवीको लागि
मागिखाने बहाना भए
प्रविधि दुरुपयोग गर्दै
बनेका नक्कली युट्युबरको लागि
कन्टेन्टको लागि हेडलाइन बने
उनको बा-आमाको भने
मुटुको आधा भाग
उछिट्टिएर भुइँमा झरे
अर्धबेहोसीमा नजिकको आफन्त
सरकारदेखि नव महाराजको
दरबार-दरबारको दैलो-दैलो पुगे
नुनिलो आँसुको कोसेली चढाउँदै
मर्माहित मनको कुरा
पटक-पटक सुनाए
सुनुवाइ बिना पटक-पटक घर फर्के
परदेशमा एउटा जिन्दगी ढले!
कलिलो कारण बिनाको
मृत्युको कहालीलाग्दो कहर
आधा बाटोमा टिप्न नमिल्ने गरी झरेको
अधुरो सपना
बा-आमासँग पटक-पटक राखेको
अमृत वचन
साथीसंगी सहगोत्रीसँग छिट्टै भेटेर मित्रताको
गीत गाउने चाहना
खसे, छुटे, काँचको सिसझैँ फुटे
कहिल्यै भेट नहुने गरी
अब
मिति बिनाको हवाई टिकट छ ऊसँग
उनलाई नै भनेर नबनाएको
रातो कफिन बक्स छ
काँचक-कुचुक भएर बसेको
मैलो न मैलो
पुरानो सुटकेशभरि लुगाफाटो छ
मृत पार्थिव शरीर
जननी जन्मभूमिको माटोमा
विलीन हुन आँतुर छ
परदेशमा एउटा जिन्दगी मात्रै होइन
थुप्रै जिन्दगीहरू ढलेको छ।