भन्छन् दुःखसुखको सहयात्री नै साथी हो। कुनै समय थियो उसको दुःखका दिनहरूमा मेरो सारा दुःखहरू लुकाएर उसकै सारथी बनेँ। म नै उसको लागि उत्प्रेरणाको माध्यम बनेँ। तर ऊ आज सबैसँग परिचित छ अनि मसँग अन्जान।
कुरा मेरो कलेजको जिन्दगीको हो। स्कुल सकेर भर्खरै सहर झरेको थिएँ। मेरो लागि सहर विदेश सरह थियो। सबैको भाषा नेपाली थियो तर आ-आफ्नै स्वभाव र चरित्रका थिएँ। खुब खुसी थिएँ जिन्दगीमा सहर झर्न पाएकोले।
नयाँ कलेज, नयाँ परिवेश, नयाँ साथीभाइ अनि नयाँ पोसाकमा सजिएर सहरमा कलेज जान पाउँदा मन प्रफुल्लित थियो। साथीहरू मध्येबाट एउटा साथी घनिष्ट बन्दै गयो। उसको मेरो स्वभाव बिल्कुलै फरक थियो। तर सम्बन्ध झन् बलियो र सुमधुर थियो।
समयसँगै कयौँ दिनहरू सँगै बिताइयो। खाजामा चियाका चुस्कीदेखि समोसाभित्र लुकेका तरकारी समेत हामी बाँडीचुँडी खान्थ्यौँ। हरेक क्रियाकलापमा सहयात्रीको भूमिकामा सधैँ अब्बल रहन्थ्यौँ। कति दिन त गफमै भुलेर पढाएको समेत थाहा पाइँदैन थियो।
ऊ मेरो विश्वासपात्र थियो जसलाई म हरेक कुरा भन्न र सम्झाउन सक्थेँ। यस्तैमा एकदिन उसलाई विश्वास गरेर उसले मात्र सुन्ने गरी एउटा कुरा भनेको थिएँ। कसैको बारेमा गलत त भनेको थिइनँ तर यस्तो गर्नुहुन्न भनि सम्झाएको थिएँ।
तर त्यसको गलत अर्थ लगाइ उसका मान्छेहरूबाट मप्रति नकारात्मक धारणा बनेछन्। त्यो दिन मेरा आँखाबाट बर्बरी आँसु झरे। घरमा आइ कति रोएँ त्यो मेरो सिरानीलाई थाहा छ। आफूले विश्वास गरेको व्यक्तिबाट त्यस्तो धोका पाएँ।
तैपनि ठिकै छ भनि आफ्नै मनलाई सम्झाइबुझाइ गरी बोलेँ। दुई/चार दिन चित्त दुखाउँदै भए पनि बोलेँ। केही दिनपछि फेरि बानी परिहाल्यो उही पहिलेकै मित्रताको।
ऊ कलेजमा प्रतिभाको खानी थियो। हरेक रंग र ढंगमा एवम् हरेक कार्यक्रमहरूमा उसको सहभागिता हुन्थ्यो। उसका हरेक कदममा एवम् सफलतामा ताली र उसको बेइमानी एवम् गलत कार्यमा गाली गर्ने सारथी म नै थिएँ।
उसका प्रतिभाको प्रशंसक म थिएँ भने मेरो बौद्धिकताको प्रशंसक ऊ। हामीबीच भएको एकअर्काप्रतिको सम्मानले झनै हाम्रो मित्रता सुमधुर हुँदै गयो। हामी एकअर्काको अस्तित्वमा असर नपर्ने गरी खिचातानी पनि गर्थ्यौं। त्यो मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण क्षण थियो।
यस्तै क्रम चल्दाचल्दै कोरोनाले हाम्रो भेटघाट बन्द गराइदियो। कलेज छुट्टीमा पनि घन्टौँ सामाजिक सञ्जालमा कुराकानी हुन्थ्यो। मेरो लागि ऊ दैवको अमूल्य उपहार थियो। हरेक सुख दुःख काट्ने छहारी थियो। लकडाउनमा सँगै नरहे पनि फोन सम्वादमार्फत निकै नजिक थियौँ।
कोरोना केही शान्त भएपछि कलेजमा हाम्रो फेरि निरन्तर भेट हुनथाल्यो। हरेक कुरा साटासाट हुन्थे। कक्षा १२ को पढाइ हाम्रो लागि अविस्मरणीय रह्यो। उसको प्रगतीमा म खुसी हुन्थेँ भने मेरो प्रगतीमा ऊ खुसी देखिन्थ्यो। सँगै खेल्नेदेखि लिएर हिँड्ने, कुद्नेसम्म सँगै हुन्थ्यो।
ऊ मेरो लागि परिवारको सदस्य सरह थियो। यस्तै क्रममा प्लस-टु पनि सकियो तर हाम्रो मित्रतामा प्लस-टु पासको सर्टिफिकेट बाधक बन्यो। ऊसको गन्तव्य अलग गर्दियो अनि मेरो पनि। सामाजिक सञ्जालमा भने कुराकानी भइराख्छ।
तर केही समययता उसमा यो नभए पनि चल्छ भन्ने लागेर हो या मप्रतिको विश्वास कमजोर हुँदै गएर हो, उसले बोल्नमा पनि खासै चासो देखाउँदैन। उसले ‘बेस्ट फ्रेन्ड’ भनि अरुको मात्र फोटो राख्दा मन कटक्क खान्छ।
भेट गर्न पनि गाह्रो मान्छ। सायद यो उसमा आएको परिवर्तन हुनसक्छ। अचेल त ऊ ‘साथी भन्दैमा सधैँ बोल्नुपर्छ भन्ने पनि त जरुरी छैन’ भन्नेगर्छ। त्यसैले म ऊबाट टाढा जाने कोसिस गर्दैछु। मलाई थाहा छ म सक्दिनँ तर कोसिस गर्दैछु।
जिन्दगीमा अचेल न सफलता नै प्राप्त भएको छ न त असफलतामा पनि रमाउन सक्ने साथीको साथ नै। सफलतासँग बारम्बार हार्ने म आज ऊसँग पनि हारेँ। रित्तो गोजी, अन्धकार भविष्य र एक्लो जीवन बिताइरहेको छु। म हराएको मेरो त्यही पुरानो साथीको खोजीमा छु।