घामको रापले डामेको आकाशको
किनार-किनारमा
निन्याउरो मुख पारेर हिँडिरहेछ
पहेँलो चन्द्रमा।
यसलाई लिएर
सबैको आआफ्नो भाष्य छ
कुनै एस्ट्रोनोमरले भन्ला-
चन्द्रमाको प्रकाश एटमस्फियरमा
रुमल्लियो धेरै बेर
कुनै डक्टरले लख काट्ला-
चन्द्रमालाई जन्डिसले समातेछ
धर्मगुरू आएर भन्लान्-
चन्द्रदेवले पिताम्बरको खास्टो ओढेछन्।
ह्या!
यस्ता अनेकन झ्याउमा फस्नुभन्दा
सिधैँ भन्दिएँ-
एल्लो मून इज ब्याड मून
हिउँ जस्तो सेतो
अनि हिउँ जत्तिकै चिसो चन्द्रमा
बेहद सुन्दर थियो
उसको सुन्दरतामा मोहित भएर
रापिलो 'फ्लाइङ किस' पनि
दिएकै हो बेलाबेला।
राति आकाशमा आँखा डुलाउँदा
वरिपरि ताराले घेरिएको सेतो चन्द्रमा देख्ता
लाग्थ्यो-
यो चन्द्रमा ढुकढुकाउँछ र नै
ताराहरू यति जीवन्त लाग्छन्।
जब त्यो सेतो चन्द्रमाको अनुहारमा
मुस्कानका धर्साहरू कोरिन्थे
चुक घोप्टिएजस्तो कालो सल्लाघारी
मुस्कुराउँदै उज्यालो हुन्थ्यो।
तर यो ब्याड एल्लो मून
ताराहरूबाट भागेर क्षितिजमा पुग्छ
(खै! इन्ट्रोभर्ट जस्तो नि लाग्दैन)
उसको त्यो उपस्थिति यस्तो लाग्छ
मानौं कि-
आत्महत्या गर्नुअघि
आफ्नो क्लिष्ट सुसाइड नोट
आफैं वाचन गरिरहेको छ।
सबै व्याख्यानहरूलाई पन्साएर
वाद प्रतिवाद नगरी भन्छु-
एल्लो मून इज ब्याड मून
यो पहेँलो चन्द्रमा भनेको
चन्द्रमाको काँतर स्वरूप हो
चन्द्रमाको कुरूप स्वरूप हो।
पहेलो चन्द्रमा घोसेमुन्टो लाएर
निरन्तर मेरो ऊप्रतिको
फ्रस्ट्रेसन सुनिरहेको छ
यद्यपि
ऊ यद्यपि स्थिर छ
आफ्नो कायरतामा,
आफ्नो कुरुपतामा,
आफ्नो किकर्तव्यविमूढतामा
नपछुताई एकोहोरिरहेको देख्दा
म निःसन्देह भएर भन्छु
एल्लो मून इज ब्याड मून।