स्कुल जाने लामो बाटोमा लडेर
झुपेलाई लागेको चोट के भयो होला?
झुपेले आफ्नो विज्ञानको नोट नै च्यातेर रगत पुछेपछि
च्यातिएको त्यो गुरूत्वाकर्षणको नियमले
तान्यो होला कि त्यो चित्रे मास्टरको आहालमा खसेको गाईलाई?
झुपेको तुना फुकेको चप्पलले
देख्यो होला कि समुन्द्र?
झुपेका चिरिएका खुट्टामा बनेको गरिबीको बुट्टालाई
रसायन विज्ञानको ग्लिसिरिनले जोड्यो होला कि
चित्रे मास्टरले गोरु नार्न नसकेर उठेको रिसमा
बेस्सरी झुपेका गालामा ठटाउँदा
फुलेको तोरीबाट तेल कति निस्कियो होला?
खल्तीमा झुपेका बाले दिएको दुईको नोट
उद्रिएकोको खल्तीबाट हराएपछि
उसले दिभर मानेको दु:ख
र गणित सरले मानेको एक्सको मान कहिले बराबर होला?
मयल परेको झुपेको कमिज
सफा भयो होला कि इतिहास?
लाइनमा सरले सरसफाई हेर्दा
झुपेले उषालाई मारेको लाइनमा
अहिले लोडसेडिङ होला कि नाई?
देवालीमा कुकुर खेल्नकै लागि स्कुल नगएको झुपे
अहिले पनि कुकुर खेल्दो हो कि
कता होलान् नि
त्यो झुपे कुकुरलाई गोबरले हान्ने तन्नेरीहरू?
कञ्चनजंगाको फेदीमा चलेको यो सब दृश्यबारे
कहिले बन्ला चलचित्र?