धर्ती र आकाशबीचको सम्बन्ध खोज्छु
धर्तीको लागि आकाश छानो हो
तिम्रो लागि म किन ओत बन्न सकिनँ?
हुन त आकाश पनि कहाँ गतिलो छ र!
बिहानै धर्तीमा पानीका दाना मिल्काई
निथ्रुक्कै पार्छ सारा पृथ्वीलाई
तिम्रो लागि ओत बन्दै गर्दा
तिम्रो सुगन्धका बाछिटाले म मन्त्रमुग्ध बन्थेँ
तिमी कस्तुरीजस्तै
आफ्नै बखान आफ्नो सुन्दरताले मुग्ध बन्ने
तिमीमा म आफ्नो
अस्तित्व देख्थेँ
त्यो अस्तित्व फगत
हावाजस्तै भयो
दिललाई छोयो
तर
उजाड बन्जर जमिनमा
पानीको थोपा झरे जसरी
तिम्रो प्रेम पनि नगन्य जसरी बिलायो
कुनै महाकाल आए जसरी
म पनि डुबिनँ र
रोदनको महासागरमा!
तिम्रो यादमा!
तिम्रो सामीप्यको खोजीमा!
कास
तिम्रो मुटु रणभूमि हुँदो हो त
चिहान र कंकालहरूका ढेर लाग्थे होला।