सबैभन्दा पातलो 'प' र जन्मदै बुढो भएको 'य' भन्दा धेरै राम्रो 'म'
मलाई के मतलब
तिमी अस्ति, हिजो,आज र भोलि के गर्दैछौ भनी
मलाई त श्रद्धय गुरू, संवेदनशील निर्णायक,अति प्रिय मित्र र नालायक सहपाठी 'म' नै लाग्छ
मलाई डर लाग्छ कतै मजस्तै 'म' बनिनँ कि!
तिमी पनि सपनामा आएर झस्काउछौ मजस्तो बनन भनेर
तर मलाई कसैको हुनु छैन,
भए भने रूने पनि म नै त हो
'म' कहिले थाक्दिनँ
किनकि मसँग थाक्ने केही छैन,
मसगँ लेनदेन गर्ने केही छैन
मभित्रको 'म' बाहेक।
मैले सबैभन्दा माया गरेको 'म'।
अब आउँदिन भनेर टाढा जाँदा नि
हजारौंको भीडमा गएर पनि
किन खोज्छौ मलाई?
कैयौंपटक टुटेको,
नियतीले कुटेको र परिस्थितिले लुटेको 'म'
तै पनि किन पछ्याइरहन्छस् एऽऽऽ छाया तँ
अझै मेरो मोबाइलको ग्यालरी भरि 'म' नै देख्छु त
कतै मनै नभएको 'म'
खुला किताब जस्तो 'म',सेती नदिजस्तै भित्रभित्रै सुसाउने 'म'
मेरो हातबाट हराएको, सबैभन्दा बहुमूल्य गहना 'म' आफैं हुँ?
कहिलेकाहीँ त लाग्छ 'म' तिम्रो हुँ र!
'म 'मलाई कहिले पनि फिर्ता नदेऊ
न्यानो गरेर राख
कहिकतै भिज्न नदेऊ भनेर
तर तिम्रो नजरमा एक्लो
मेरो नजरमा स्वतन्त्र 'म'
'म' सँग!
हेर मेरो आफ्नै कथा छ, ब्यथा छ
अर्थ्याउन चाहन्छु 'म' आफैंलाई
मेरो भोगाइ अनुसार
परिभाषित गर्न नखोज्नु न मान्यवर
मलाई तपाईंको हेराइ अनि सोचाइ अनुसार
अरे दुनियाँलाई 'म' ठिक छु भन्न पनि 'म' ठिक हुनुपर्छ!
'म' बाट एक अक्षर हटाउँदा केही रहदैँन भने,
के 'म' सँग अझै म होला?
मैले त पूरा हटाएको छु र त 'म 'छु!