पेट पाल्ने बारी बगेर रित्तियो
बाढीले पीडा बुझेन
ओत लाग्ने झुपडी ढल्यो
बगाउने खोलाले दुःख देखेन
न खेत रह्यो, न घर रह्यो
न जन्मेको गाउँ रह्यो
केवल एक मुट्ठी सास रह्यो
न तिम्रो साथ रह्यो सरकार
न तिम्रो विश्वास रह्यो
न भोटको मूल्य रह्यो
न तिम्रो आश्वासनको
यो जिन्दगी
अरबौँ पीडाको बैंक बनेको छ
पीडाहरूकै कारोबार गरिन्छ
पीडाहरूकै ब्याज तिरिन्छ
पीडाहरूकै भुक्तानी गरिन्छ
सपनीमै हो सरकार
विपनी नसम्झी दिनू
र पनि
न तिमीले रोजगार दियौ सरकार
न तिमीले गरिखाने सीप दियौ
न सुशासन दियौ
केवल बढायौ महङ्गी अनि भ्रष्टाचार
र,
तिम्रा बैंकको चर्को ब्याज
तिर्न सकिएन सरकार
असुल्छौ भने असुल
लिलाममा छ जिन्दगी सरकार।