मेरी प्यारी भ्यालेन्टाइन
तिमीलाई मस्तै-मस्तै ह्याप्पी भ्यालेन्टाइन
मेरै लागि उनले आफ्नो अनमोल जीवन छुट्याइन्
आफ्ना अनेकौँ अवसर गुल्ट्याइन्
सारा समस्याहरू सुल्ट्याइन्
मेरो प्यारी भ्यालेन्टाइन्
तिमीलाई मस्तै-मस्तै ह्याप्पी भ्यालेन्टाइन
सुरूमा त उनले
मेरा कमजोरीका पाना पल्टाइन्
ओल्टाइन् पल्टाइन्, ओल्टाइन् पल्टाइन्
र त्यहाँ अभावैअभाव भेट्टाइन्
'यस्तासँग त निकै-निकै
जीवन काट्नै कठिन रैछ' भन्ने अर्थ्याइन्
अनि हडबडाइन्, छटपटाइन्
तथापि
समयसँग चल्दैनौ भनी न त कहिल्यै अगुल्ट्याइन्
आफूसँग भुल्दैनौ भनी न त कहिल्यै जगल्ट्याइन्
राम्रोसँग पाल्दैनौ भनी न त कहिल्यै भुत्ल्याइन्
र
'तिमीलाई अहिल्यै छोड्छु' भन्दै न कहिले फतफताइन्
मेरी प्यारी भ्यालेन्टाइन्
तिमीलाई मस्तै-मस्तै ह्याप्पी भ्यालेन्टाइन्
समयान्तरमा
तातो रिस घटाइन्
खर्चपर्च जुटाइन्
धर्मकर्म रटाइन्
कान समाती बसाइन्
नाक समाती उठाइन्
हात समाती चुठाइन्
मिठो माया चटाइन्
कठिन दिन कटाइन् र
आँखाभित्रै अटाइन्
मेरी प्यारी भ्यालेन्टाइन्
तिमीलाई ह्याप्पि भ्यालेन्टाइन्
तिमीलाई मस्तै-मस्तै ह्याप्पी भ्यालेन्टाइन्।