ह्वाइट बोर्डतिर
एउटा डस्टर निमग्न भएर
घोत्लिरहेको छ।
डस्टरलाई थाह छ-
लेख्नु गाह्रो काम हो
अनि लेख्नुभन्दा गाह्रो भनेको मेटाउनु हो।
मेटाउनु-
कसैको अस्तित्वलाई निरर्थक मान्नु हो
कसैको उपस्थितिलाई नाचिज ठान्नु हो
तेस्रो आँखाले हेरेर कसैलाई
नदेखेझैँ गरी कुल्चिनु हो।
कसलाई मेटाउने
कसलाई छोडिदिने
न्याय गर्नु छ
डस्टर न्यायाधीश हो
अनि न्यायाधीश हुनु
आफ्नो लागि मात्र निष्पक्ष हुनु हो।
वर्षौंदेखि स्थिर ल्याम्पपोष्टले
भुइँ हेरेझैँ
डस्टर अझै हेरिरहेको छ ह्वाइट बोर्डमा।
उसलाई निर्णय छिटो गर्नु छ
कारण-
मसी सुकेपछि यी अक्षर
नयाँ लेखिनुपर्ने अक्षरका ठाउँ ओगटेर बस्छन्।
बोर्डमा फैलिएको अनेक भावनाका
अनौठो घुलनलाई धेरै बेर हेरेपछि
डस्टरले बाध्य भएर अक्षरहरू मेटाउँछ, र
त्यसको प्रतिक्रियामा
आफू नै कालो भएको पाउँछ।