मेरा बाबु-बाजेहरूले किसान बन्ने सपना देखेथे होलान्, उनीहरू किसान नै बने। त्यसबेला सामान्य किसानलाई अक्षर भन्ने कुन चराको नाम हो थाहा थिएन त अरू के सपना देखून्?
गाउँघरमा अक्षर देखिन थालेपछिको जमानामा म जन्मिएँ। आफ्नो वरपर विद्यार्थी तथा शिक्षक बाक्लिन थालेका थिए। मैले सोचेँ भविष्यमा शिक्षक नै बन्नुपर्छ। शिक्षक बन्ने सपना साँचेर पढ्न थालेँ र शिक्षक नै बनेँ।
मेरै पालामा गाउँगाउँमा स्वास्थ्यचौकीहरू खडा हुन थाले। बाटाघाटा लगायतका भौतिक पूर्वाधारहरू थपिन थाले। फलस्वरुप गाउँमा पनि डाक्टर इन्जिनियरहरू देखिन थाले। विकट रुकुमको सगरमा प्लेन देखिन थाल्यो। त्यसपछि मेरो सपनामा डाक्टर, इन्जिनियर र पाइलट देखिन थाले।
बिहेपछि मेरा बच्चाहरू एकपछि अर्को जन्मन थाले। यी बच्चाहरूलाई पनि डाक्टर/इन्जिनियर बन्ने सपना देखाए कसो होला भन्ने लहड मनमा उब्जियो।
पहिलो छोरीले जब तोते बोल्न थाली, उसलाई 'भविष्यमा के बन्छ्यौ नानी?' भनी सोध्दा 'डाक्टर' भनी जवाफ दिन रटाउन थालेँ। चाडपर्वमा डाक्टर बनेस् भन्ने मात्र आशिष दिएँ। उसले मेरो भाव तुरुन्तै टिपिहाली र सोध्नेबित्तिकै भन्न थालिहाली- 'म थुलो भएचि दाक्तल बन्चु।'
उसको साना सिँगाने ओठबाट यति ठूलो कुरा सुनेपछि म हाँसोमा आँसु मिसाएर फित्कन्थेँ। हाँसो यसकारण कि आफ्नो सपना उसले तुरुन्तै टिपेकी थिई। आँसु यसकारण कि डाक्टर पढाउन सक्ने मेरो हैसियत नै थिएन। उसले डाक्टर बन्छु भन्दा मिथ्या सपना घोकाएर मैले यो के गरेँ भन्ने ग्लानी हुन्थ्यो।
दोस्रो छोरा पनि तोते बोल्न थाल्यो। मैले उसलाई रटाइहालेँ, इन्जिनियर बन्छु भन बाबु। उसले तत्कालै सिकिहाल्यो- 'म थुलो भएचि इन्देल बन्चु।'
तेस्रो बच्चालाई पनि रटाइएअनुसार तोतेबोलीमा 'म त पाइलत बन्ने' भन्न थाल्यो। दूरदराजमा निम्न वर्गीय परिवारमा जन्मेकाहरूको निम्ति यी सपना आकाशका फलसरह निकै टाढाका टिप्नै नमिल्ने थिए।
कोही सुकिलामुकिला मेरो घरछेउ आइहाले भने यी तोते बच्चाहरूलाई जबर्जस्ती देखाइएको सपनाको सुगारटाइ सुनेर पेट मिचिमिची हाँस्थे।
डाक्टर, इन्जिनियर र पाइलट बन्ने सपना देखेका बच्चाहरू दूरदराजको गाउँकै प्राथमिक विद्यालयमा धुलो खेल्दै कखरा चिन्न थाले। डोकाडाला, कुटा-कोदालासँगै किताबका झोला पनि बोक्न थाले।
त्यसैबेला पश्चिमी नेपालमा द्वन्द्वको झिल्को उठ्यो। झिल्कोले विशाल ज्वालाकै रूप लियो। कतिका सपनाहरू त्यही ज्वालाले चाट्यो। कतिका सपना आकाशबाट पाताल पुगे। कतिका सपना पातालबाट आकाश पुगे। त्यो राँकोले सपना देखाइमा पनि आमूल परिवर्तन ल्याइदियो।
नयाँ राजनीतिक तथा प्रशासनिक सपनाहरू साकार भए। पुरानो व्यवस्थाका सपनाहरू संहार हुन पुगे। मैले रहरले देखेका सपना र बच्चाहरूको कहरको सपनालाई त्यही भुङ्ग्रोमा छोडेर एक्लै सहर पसेँ। असल शिक्षक बनेर सम्मानित जीवन बिताउने सपनाको मुन्टो आफ्नै हातले निमोठेँ। अनि सरकारी जागिरेको सपना देख्न थालेँ।
सरकारी कर्मचारी बन्नको लागि लोक सेवा रट्नु दुरदराजमा माटो खेलाउँदै पढ्दै गर्ने मजस्ताको निम्ति फलामको चिउरा चपाएसरह थियो।
बच्चाहरूलाई बेलाबखत फोन गर्दा ज्वरग्रस्त कुनाकन्दराबाट उनीहरूले रटाइएको सपना तँछाडमछाड गर्दै सुनाउँथे- 'बाबा, म दाक्तल बन्चु।'
'बाबा, म त इन्देल बन्चु।'
'बाबा, म पाइलत बन्चु।'
यता भक्कानिएर हिक्का छोड्ने पालो मेरो आउँथ्यो। यता हेर्दा भिर, उता हेर्दा जङ्घारको अवस्थामा थिएँ म।
केही समयको कठिन संघर्षपछि लोक सेवामा मेरो नाम निस्कियो। जिउने आधार फेला पर्नेबित्तिकै दूरदराजका ती आफ्नो जीउभन्दा आठगुणा ठूलो सपनाको भारी बोक्ने कमिलाजस्ता बच्चाहरूलाई काठमाडौंमै ल्याइपुर्याएँ। उनीहरूकी आमालाई भने गाउँमै कुटोकोदालो गरेर दालचामल पठाइदिन उतै रोकेँ।
यता बच्चाहरूलाई स्याहार्नु, खाना पकाइदिनु, खुवाउनु, लुगा धोइदिनु, स्कुल पठाउनु आदिजस्ता आमा र बाबु दुवैको भूमिका आफैले निभाउन थालेँ।
उति बेला म वाणिज्य विभागमा नासु पदमा कार्यरत थिएँ। मलाई नजिकबाट चिन्ने तत्कालीन शाखा अधिकृत प्रेमप्रसाद घिमिरे सानोठिमीस्थित मेरो साँघुरो र अस्तव्यस्त डेरामा आइरहनुहुन्थ्यो। मेरा बच्चाहरूको लवाइखवाइ र पढाइबीचको गहिरो असन्तुलन देखेर परेलाका कोषमा आँसु उमार्नुहुन्थ्यो।
सायद यही कुरा अफिसमा पनि पुर्याउनुभएर होला ती बच्चाहरूको पढाइखर्च तत्कालीन महानिर्देशक बिन्द्रा हाडाले बेहोर्न थाल्नुभयो। उहाँले भन्नुहुन्थ्यो- यो सापटी सहयोग हो। बच्चाहरूले कमाउन थाले भने फिर्ता गर्नुपर्छ।
आर्थिक समस्याकै कारणले मैले केटाकेटीहरूलाई बिरालाले चल्ला सारेसरी घरी सानोठिमी, घरी बबरमहल त घरी बानेश्वर सारिरहेँ। स्कुलहरू अंग्रेजी माध्यमका भए पनि सरकारी स्कुलभन्दा पनि सस्ता र सामान्यस्तरका थिए।
जता सारे पनि उनीहरू भने आफ्नो कक्षामा प्रथम स्थान हासिल गरिछाड्थे। कक्षा प्रथमले शिक्षण शुल्क त तिर्नुपर्दैन थियो। तर स्कुल प्रशासनले विभिन्न बहानामा अन्य शुल्क भने थपिहाल्थ्यो।
यस्तैमा छोरी अस्मिताले विशिष्ट श्रेणी ल्याएर एसएलसी पास गरी। आइए पढ्नको लागि उहिले नाम चलेका वीरेन्द्र शैनिक, एसओएस र सेन्टजेभियर्स स्कुलमा नाम निकाली। बायोलोजिकल साइन्स विषय लिएर सेन्टजेभियर्स स्कुलमा भर्ना भई। किनकी उसलाई डाक्टर बन्नुथियो।
दुई वर्षमै आइएससी पास गरी र आफ्नो सपना साकार तुल्याउन एमबिबिएस तयारीमा होमिई। काठमाडौंका नामुद ट्युशन सेन्टरमा एमबिबिएस तयारी गर्नेको पचासौँ हजारको लर्को देख्दा मेरो सातो जान्थ्यो।
सुरूमा सरकारी र पछि सामान्य स्कुलमा पढेका विद्यार्थीले सम्पन्न विद्यार्थीहरूसँग कसरी प्रतिष्पर्धामा जित्न सक्लान् र एमबिबिएसमा नाम निकाल्लान् भन्ने चिन्ताले पिरोलिरहन्थ्यो। तर छोरीको अघि केही भन्न सक्दैनथेँ।
आफू सरकारी सेवामा लागेकोले छोरी अस्मितालाई पनि लोक सेवाको तयारी गर्न उक्साएँ। योभन्दा कमै तयारीले पनि लोक सेवामा नाम निस्कन सक्छ भनी फस्ट्याएँ। खरिदार र नासुको लोक सेवाको फाराम भरिदिएँ। उसले लोक सेवाको परीक्षा दिन मान्दै मानिन।
छोरीको लोक सेवातिर मन फर्काउन सफल नभएपछि पास गर्न र भर्ना हुन अलि सजिलो इन्जिनियर पढाइमा हुने भएकोले उसलाई भनेँ, ‘हामीजस्तालाई डाक्टर बन्न सजिलो छैन नानी, इन्जिनियर पढ न त।’
उसले भनी- ‘होस्, म इन्जिनियरिङ पढ्दिनँ। एमबिबिएस नै पढ्छु।’
मैले एमबिबिएस छात्रवृत्तिमा नाम निस्कने कुनै सम्भावना देखिरहेको थिएन। आफ्नै सन्तानमा उम्रनै कठिन सपनाको बिज रोपिदिएकोमा म पश्चात्तापले गलिरहेको थिएँ। पहिलो प्रयासमा उसको नाम निस्किएन पनि। अब कति वटा प्रयास खेर जाने हुन् यसै भन्न सकिँदैनथ्यो।
उसको बिहे गर्ने उमेर घर्किँदै थियो। मेरो मनमा चिसो पसिसकेको थियो। उसले डाक्टरबाहेक अरू विषय पढ्दै नपढ्ने अडान लिई र खानपिन समेतको परवाह नगरी कोठाभित्रै कापीकिताबको थुप्रोमा हराउन थाली। पहिल्यै दुब्लीपातली थिई अब झन् धाइराको काठ सुकेझैँ सुक्दै जान थाली।
आफ्नो सन्तानको त्यो अवस्था देखेर कुन बाबुको मन रहन्छ र? आमाबाबु चिन्ताले छट्पटिन थाल्यौँ। उसको सपना किन मारूँ भनेर सशुल्क एमबिबिएस पढाउँदा कति खर्च लाग्दो हो भनी जताततै सोधपुछ गरेँ। कम्तीमा ४० लाख लाग्दोरहेछ।
उतिबेला काठमाडौंस्थित छाप्रो र रुकुमको बाँकी रहेको घरबारी सबै बिक्री गर्दा पनि ४० लाख नपुग्ने देखियो। द्वन्द्वको समयमा रुकुमका खेतका गराहरू बेचेर एउटा घडेरी काठमाडौंमै लिएको थिएँ। जसमा दुई कोठे कच्ची घर बनाएर सपरिवार बसिरहेको थियौँ। निजामती कर्मचारीका छोराछोरीलाई पाँच लाख त सरकारले नै छात्रवृत्ति उपलब्ध गराउँछ भन्ने सुनेपछि काठमाडौंको घरजग्गा बेच्न गाहकी खोज्न थालेँ।
दोस्रो प्रयासमा उसले चमत्कारिक रूपमा छात्रवृत्तितर्फ एमबिबिएसमा नाम निकालेरै छोडी। यो अप्रत्याशित सफलता चानचुने थिएन। घर बेच्न तयार भएको अवस्थामा उसले अब निःशुल्क एमबिबिएस पढ्न पाउने भएकी थिई। घर पनि बच्यो र आफ्नो प्रिय सन्तानको सपना पनि पूरा भएको उपलक्ष्यमा एक हप्तासम्म आमाबाबुले हर्षाश्रु बगाइरह्यौँ।
एक वर्षपछि मेरो दोस्रो सन्तान परिशीलनले पनि प्लस-टु पास गर्यो। उसलाई इन्जिनियर बनाउने भनेर सुरूमै फिजिक्स लिन पठाएको थिएँ। उसलाई बच्चाकालमै रटाएको सपना पनि त्यही नै थियो। दिदीको सफलता देखेर उसलाई पनि डाक्टर पढ्ने इच्छा पलायो, तर उसलाई पहिल्यै इन्जिनियर पढ्ने अवसरबाट मैले वञ्चित गरिसकेको थिएँ।
परिशीलनले 'होस्, म इन्जिनियर पढ्दिनँ' भनेर अड्डी कस्ने बाटो नै थिएन। उसले इन्जिनियर अध्ययनको लागि छात्रवृत्तिमा नाम निकाल्यो। एउटा छोरी डाक्टर र अर्को छोराले इन्जिनियर पढ्न थालेपछि हाम्रो खुसीले भुइँखुट्टा भएनन्। परिशीलनले लगनशीलतासाथ इन्जिनियर पढ्न थाल्यो। सानोमा 'इन्देर बन्चु' भन्ने उसको सपना साकार हुनेभयो।
दुई वर्षपछि कान्छो छोरा परिक्षितले पनि १२ कक्षा पास गर्यो। उसको लक्ष्य थियो पाइलट हुने। उसले त्यसैको लागि प्लस टुमा बायोलोजीको साथै म्याथम्याटिक्स विषय पनि लिएको थियो। उसको सपना जसो गरे पनि पूरा गर्ने ममा ताकत थिएन। मैले पाइलट बनेस् भनी दिएको आशिष झुठ्ठा रहेछ भन्ने कुरा उसले १२ पास गरेपछि मात्र थाहा पायो।
म उपायविहीन अवस्थामा पुगेर छट्पटाएँ। मेरो चिन्ता उसले सहजै आकलन गर्यो र एमबिबिएसको तयारीमा होमियो। फलस्वरुप उसले पहिलो प्रयासमा नै छात्रवृत्तितर्फ एमबिबिएसमा नाम निकालिहाल्यो।
आफ्ना सन्तान जहाँ पुगून् भन्ने चाहना थियो, उनीहरू खुरूखुरू त्यही बाटोमा हिँडिदिएपछि आमाबाबुलाई त्योभन्दा खुसी अर्थोक के हुन्थ्यो र? विकट जिल्लाको एक निम्नवर्गीय परिवारलाई दिलाइएको यो असामान्य सफलताले गर्दा हाम्रो खुसीको सीमा नै रहेन।
एमबिबिएस पूरा गर्न ६ वर्ष लाग्ने भएकोले छोरी अस्मिता र कान्छो छोरा परिक्षितले पढ्दै थिए, दोस्रो सन्तान परिशीलनले चार वर्षमै इन्जिनियर पढाइ सकिहाल्यो। इन्जिनियर पास गर्नबित्तिकै राष्ट्रिय योजना आयोगले इन्जिनियरको नियुक्ति दिएर मकवानपुरमा खटायो।
पहिलो महिनाको तलब ४० हजार रुपैयाँ मेरो हातमा थमाइदिँदै परिशीलनले भन्यो- ‘बाबा, अब तपाईंले हाम्रो लागि दुःख बेसाउनुपर्दैन।’
उसले दोस्रो र तेस्रो महिनाको तलबले मोटरसाइकल किन्यो। उसलाई इन्जिनियर जागीरीले सन्तुष्टि दिलाएको उसको भावभङ्गी र मुखाकृतिले प्रष्ट देखाउँथ्यो। सन्तानको अनुहारको खुसीको रङ हाम्रो अनुहारमा नसर्ने कुरै थिएन। परिशीलनले श्रवणकुमारजस्तै आफ्ना आमाबाबुलाई डोर्याएरै सपनाको संसारमा शयर गराउन चाहन्थ्यो।
जागिरकै क्रममा परिशीलनले इन्जिनियरमा पहिलोचोटि लोक सेवा परीक्षा दियो। थोरै समयको तयारीले हाइवे समूहमा लिखित परीक्षामा नाम निकाल्यो। तर इन्टरभ्यूमा उत्तीर्ण हुन सकेन। जता हात हाल्यो उतै सफलता मिलिरहेको अवस्थामा पहिलो पटक असफलता बेहोर्दा उसलाई सहिनसक्नु भयो।
यो असफलताको पीडा हप्तौँसम्म आँसु बनेर उसको गालामा बगिरहे। असफल हुनुको ईखले उसले जागिर छोडेर लोक सेवाको तयारी गर्न थाल्यो। उसले किशोरकालीन सबै रङ्गीन सपनाहरूलाई तिजाञ्जली दिएर लोक सेवामा नाम निकालिछाड्ने ध्याउन्नमा लाग्यो।
सिभिल इन्जिनियर पढेको हुँदा हाइवे, इरिगेशन, सिभिल आदि समूहको परीक्षामा सामेल भयो। उसले जाँच सकेपछि भनेको थियो कि यसपालि सबै समूहमा आफ्नो नाम निस्कन्छ। जे बोल्यो त्यही पूरा गरिरहेका सन्तानहरूले भनेको यो वचन असत्य होला भनी चिताउने कुरै थिएन। हामीलाई उसले लोक सेवा पास गरे बराबरको खुसी उसले जाँच सक्दा नै प्राप्त भएको थियो।
ऊ परीक्षाबाट फर्कँदा भन्ने गर्थ्यो- ‘बाबा, मलाई तीन/चार दिन अघिदेखि ठिमीबाट दुवाकोटमोडसम्म कसैले पछ्याइरहन्छ। एक्लै बाहिर निस्कन डर लाग्छ।’
मैले उसलाई, ‘एउटै बाटोमा ओहोरदोहोर गर्दा त्यस्तो हुन्छ। सबैको काम एकैचोटि परिरहेको हुन्छ। उसले पनि आफूलाई तिमीले पछ्याएको भन्ने भ्रममा होला’ भनेर कुरा टारिरहेँ।
त्यसै बेला ठूली छोरी अस्मिता र कान्छो छोरा परिक्षित कलेज बिदा भएको हुँदा घर आइपुगेका थिए।
लोक सेवाको जाँच सकिएको पर्सिपल्ट। शिवरात्रीको अघिल्लो दिन अर्थात् २०७२ सालको फागुन २३ गते बिहानपखको दिन थियो। विद्युत प्राधीकरणमा पनि लोक सेवा खुलेको सुनेर छोरा परिशीलन फाराम भर्न कमलविनायकतिर लाग्यो।
म अफिसतिर लागेँ। अफिस पुगेको केही समयमै घरबाट सपना भान्जीले रूँदै फोन गरिन्, ‘मामा, परिशीलन दादा दुर्घटनामा पर्नुभयो रे। छिट्टै घर फर्किहाल्नुस्!’
म यो खबरले इन्तु न चिन्तु हुँदै घरतिर दौडिएँ। परिशीलनलाई बारम्बार फोन लगाउँदा फोन नउठेकोले देवकुमारीलाई फोन लगाएँ। उनको पनि फोन उठ्दै उठेन। छोरी अस्मितालाई फोन गर्दा बल्ल उठाई र कहालिँदै भनी- ‘बाबा, छिटो आउनू न।’
म झनै अत्तालिएँ। त्यसपछि अरू कसको फोन आयो मैले याद गर्न सकिनँ। मेरा चेत हराइसकेका थिए। कसैले भनेको सुनेँ, 'तुरुन्त, भक्तपुर अस्पतालमा आउनुहोस्।' कसले भनेको थियो स्वर चिन्ने अवस्थामा थिइनँ म।
भक्तपुर अस्पताल पुगेपछि आफन्तहरूलाई जे अवस्थामा देखेँ त्यसले म सम्हालिन सकिनँ। काठमाडौंमा रहने सबै आफन्तहरू अस्पतालको चहुरमा खेरिएर पीडादायक चित्कार छोडिरहेका थिए। आफू उभिएको जमिन फनफनी घुम्दै भासिएझैँ भयो।
म भुइँमा पछारिएँ। मलाई जे नहुनु थियो त्यही भएको थियो। निष्ठुर दैव र निष्ठुर दैत्यजस्ता मान्छेहरूले मेरो परिवारको साझा सपना चकनाचुर पारिसकेका थिए।
जसलाई सानैदेखि इन्जिनियर बन्ने सपना देखाएको थिएँ, जसले कैयन् अवसरहरू लत्याएर इन्जिनियर बन्नु मात्र आफ्नो लक्ष बनाएर किशोर कालसम्म कठिन सङ्घर्ष गरिरह्यो। यसरी इन्जिनियर बन्दै गरेको छोरा मेरो हातबाट सदाको लागि दैवको हातमा पुगिसेकेको थियो।
त्यो अकल्पनीय बिछोडको पीडा शब्दमा व्यक्त गर्न कदापि सकिँदैन। अहिले पनि त्यो घटनाको बारे सविस्तार लेख्न समर्थ छैन म।
त्यो दुर्घटना पुरानो बाटोको राधेराधे चोकमा भएको थियो। त्यस घटनाको जाहेरी दर्ता ठिमी प्रहरीले लिनै मानेन। प्रत्यक्षदर्शीहरूले भनेका थिए कि बस चालकले ब्याक गरीगरी छेउ लागिसकेका एक विद्यार्थीको ज्यान लियो। त्यो बस ठिमीस्थित एक बोर्डिङ स्कुलको थियो।
त्यसै दिनको लागि मात्र स्कुलको चालक फेरिएको थियो। त्यस चालकले मादकपदार्थ सेवन गरेर सो दिन गाडी चलाएको भन्ने कुरा मेडिकल रिपोर्टले प्रमाणित गर्यो। बुझ्दै जाँदा चालकले लाइसेन्स नै लिएको पाइएन र एक हप्तापछि अरबतिर जाने पासपोर्ट बनाइसकेको भन्ने खुल्यो।
फर्म भर्न कमलविनायकतिर लागेको व्यक्ति कसले बोलाएर ठिमीतिर पुग्यो? खुल्न सकेन। यी सबै प्रमाणहरूबाट यो देखिन्थ्यो कि त्यो दुर्घटना भवितव्य नभई योजनावद्ध थियो। तर कसैको केही नबिगार्दा नबिगार्दै कसले किन मसँग त्यति ठूलो प्रतिशोध लियो? मेरो जीवनलाई क्षतविक्षत तुल्याएर उसलाई के फाइदा भयो?
अदालतले मुद्दाको औपचारिकता पूरा गरेर एक/दुई हप्तामै हत्यारालाई मुक्ति दिलाइदियो। त्यसको लागि बिरानो ठाउँको पुरै गाउँ हत्यारालाई बचाउनतिर लाग्यो। एकजना व्यक्तिलाई इन्जिनियरसम्म तुल्याउन अभावैअभावमा खर्चेको खर्च, श्रम, पसिना र सपना एकाएक माटोमा विलीन हुन पुग्यो।
पराई ठाउँमा आफ्नो प्रिय सन्तान खेतमा मुसा मारिएसरह मारियो। तर त्यही दुर्घटनाले गर्दा मेरो जहाज डुब्ने अवस्थामा पुग्यो। मेरो जीवनमा कहिल्यै निको नहुने घाउ बल्झिन पुग्यो। मेरा सपनाहरू खरानी भए। वियोगको पीडा जसले भोग्छ उसले मात्र बोध गर्छ।
पछि उसले दिएको लोक सेवाको जाँचको नतिजा निस्किएको खबर आयो। उसले जति वटा लिखित परीक्षामा सामेल भएको थियो सबैमा नाम निस्किएको थियो।
ऊ दुर्घटनामा नपरेको भए यो खबर सुन्नासाथ उसको सफलतामा हामीले कति खुसीयाली मनाउँथ्यौँ होला! उसको सफलता सुन्दा पनि पीडाले भक्कानिनु पर्यो।
'थुलो भएचि इन्देल बन्चु' भन्ने छोरा मलाई लोक सेवाबाट निक्लने नतिजा सुन्न नसक्ने तुल्याएर सदाको लागि बिदा भैसकेको थियो।