मेरा बा बिहानै उठेर दाँत माझ्ने ब्रश र मन्जन मुखमा चेपेर गोठ छिर्छन्। पहिले गोबर फ्याक्ने, पकाएको कुँडो गाईवस्तुलाई दिने, घाँस हाल्ने, भैंसी दुहुने र त्यो दूध कराइमा मन्द आगोमा तताउन राखेर आफू घरभन्दा केही पर रहेको ट्वाइलेट जान्छन्।
ट्वाइलेटबाट आइसकेपछि घरनजिकै रहेको धारामा आफू नुहाउँछन् र चियाको लागि मेरो आमालाई अर्डर दिन्छन्। यतिन्जेलमा आमा पनि खाना बनाउनेदेखि लिएर सबै काम सक्नुहुन्छ। चिया खाइसकेपछि बा केहीबेर दिनभरि के-के गर्ने भनेर सोच्दै गर्दा केही गफ गर्छन् आमासँग र खाना खाने तयारी हुन्छ।
म त्यतिन्जेलमा उठेर केही होमवर्क गरी खाना खाएर विद्यालयको लागि तयार हुँदा बा-आमा दिनभरि मेलापात/घाँसदाउराको लागि तयार हुनुहुन्छ।
प्रायः हाम्रो घरको दिनचर्या यसरी नै बितेको सायद वर्षौं बितिसक्यो। मेरा बा-आमा कतै घुम्न गएका छैनन्। बेलाबेलामा बिरामी हुँदा पाउरोटी र दूध हालेको चिया अनि चाउमिन खाएका मेरा बा-आमाले बजारका रङ्गिन संसार महसुस गरेको छन् जस्तो लाग्दैन।
फलानोले बाइक लेराएछ, काठमाडौंमा कलेज पढाउँछ रे। फलानोको छोरो जापान गएछ, उसले घडेरी किन्यो रे। फलानोको छोरोले बिहे गरेछ, बुहारी मास्टर्नी हो रे। यस्तो कुरा मेरो आमाले बालाई सुनाउँदा बाले खासै वास्ता गरेझैँ मलाई लाग्दैन।
मलाई लाग्छ मेरा बा-आमाको पनि सपना हुँदो हो है? कि त्यो रङ्गिन दुनियाँदेखि वाक्क लागेको हो? म प्रश्न सोध्छु, आफैलाई। यो मोबाइल फोन र स्मार्ट दुनियाँमा मेरा बाको अझै टुकटुके फोन छ।
भिडिओ कल नि हुन्छ रे भन्दा मेरा बा भन्नुहुन्छ- ‘कसलाई गर्नु छ र त्यस्तो? म यहीँ छु, बुढी यहीँ छे, हैन त बुढी?’
यसरी प्रश्न गर्दा आमा परबाट मुस्कुराउँदै भन्नुहुन्छ- ‘अब छोरो बिदेशा गयो भने गरम्ला हामी पनि।’
यत्तिकैमा त्यहाँ हाँसोको माहोल बन्छ तर हाँसो सकिन नपाउँदै बा’ले एउटा कुरा भन्नुहुन्छ- ‘आ.... बुढी, जति जे-जे गरे पनि सुख, खुसी, सम्पत्ति भनेको सबै परिवार हो।’
मैले यो भनाइ बुझ्दिनँ।
यसरी नै समय बितेको आज १५ वर्ष भएछ। यो बीचमा हाम्रो सबन्ध उस्तै छन्, फरक यत्ति हो मेरा बा-आमा बुढा भएर गालामा तन्किएको छाला चाउरिन थालिसके। निदारमाथिको छालाले रोड बनाउन थालिसक्यो। हाँस्दा डिम्पल पर्ने गालाले त्यसको स्वरुप बदल्न थाल्यो।
मेरो बा’को त्यो जोश मनमा देख्छु तर पाखुरामा अलि कम भएको महसुस हुन थालेको छ। मलाई लाग्छ अब त्यो पाखुराले सहारा खोजेको छ।
त्यो पाखुरा कहिल्यै सानो लागेन। घाँस दाउराको काम गर्दा होस, जङ्गल जाँदा होस, खेत जोत्दा होस्, गाउँमा कसैलाई सहयोग गर्नुपर्दा होस्, अन्यायमा परेकालाई न्यायको लागि आवाज उठाउँदा होस त्यो पाखुराले छातीमा रहेको मनलाई बल दिन्थ्यो र त्यो मनले दिमागलाई।
आज मेरा बा-आमालाई आफ्नो जिन्दगी त बित्यो अब आफ्नाको जिन्दगी राम्रोसँग बितोस् भन्ने लागेको छ। आजकल मेरा बा-आमालाई मन लागेका ठाउँमा जान पाउलान् तर आफ्नो परिवार नै सम्पत्ति हो भन्ने मेरा बा ‘तिमीहरूले सुख पाए भयो’ भन्ने थालेका छन।
मलाई लाग्छ मेरा बा’लाई लाग्यो होला मेरो छोरोले त्यति दुःख नपाओस् जति मैले गरेँ। मलाई लाग्छ त्यो सबैका बा-आमाले सोच्ने कुरा हुन्। र, यो सुख पाउने कुरामा बा-आमा अझै सन्तुष्ट हुन सकेका छैनन्। उनीहरू आफ्नो कुरामा सन्तुष्ट थिए र छन् तर हाम्रो कुरामा उनीहरूलाई तनाब छ।
एकदिनको कुरा हो, म पाँच वर्षको हुँदा घरमुनि रहेको खरबारीमा बाख्रा हेर्दै गर्दा बाघले बाख्रा लग्यो। म रुँदै चिच्याएर घर आएँ। मेरा बा एक्लै बाघलाई लखेट्दै खरबारीको पुछारसम्म पुगे।
म डरले थर्थर काप्दै थिएँ, तर मेरा बा त्यहाँसम्म पुगे जहाँ मलाई सोच्दैमा डर लाग्थ्यो। मलाई अचम्म लाग्यो, बा’लाई त बाघदेखि पनि डर लाग्दैन। मेरा बा कहिलेकाहीँ पल्लो गाउँदेखि हाम्रो गाउँसम्म टर्च-लाइट नबाली पनि ओहोरदोहोर गर्नुहुन्थ्यो।
मेलापातको लागि मान्छे चाहिँदा, चाडबाडमा केही व्यवहार गर्नु परेमा यस्तो काममा सधैँ राति हिड्ने मेरा बा’लाई बाघसँग कहिल्यै डर लागेन। तर म भने बेलुका पिसाब फेर्दा पनि आमालाई आँगनको डिलसम्म आएर हेर्दिनून भन्थेँ।
म सोच्थे बा’लाई किन बाघसँग डर लाग्दैन? अनि फेरि सोच्थेँ, बा ठूला छन् त्यसैले सायद बालाई बाघले चिनेको छ।
एकदिन मैले सोधेँ- ‘बा, तपाईंलाई बाघदेखि किन डर लाग्दैन?’
बा’ले हाँस्दै भन्नुभयो- ‘म ठूलो छु, मलाई बाघले चिनेको छ, मेरो परिवारजस्तै बाघको पनि छोरो छ। त्यसैले मलाई त्यसले माया गरेर केही गर्दैन।’
यो सुनेपछि मेरो मनमा भएका सबै प्रश्न उत्तरित भए। म खुसी भएँ, मेरा बा र बाघ त साथी रहेछन् र मलाई पनि बा'जस्तै हुन मन लाग्यो। बाघको साथी।
आज म घरमा बस्न मुस्किलले पाउँछु। म पनि काठमाडौंमा कलेज पढाउँछु। मेरो पनि बाइक छ। म पनि बाइकमा घर जानेआउने गर्छु। सायद गाउँमा मेरा बारेमा नि कसैले भन्छन् होला- फलानाले बाइक किनेछ, फलानाले कलेज पढाउँछ रे, फलानाले बिहे गरेछ।
अचम्म त के भने, म पनि राति-राति हिँड्छु। म पनि पल्लो गाउँदेखि मेरो घरसम्म एक्लै हिँड्छु। तर मेरो बाघसँग साथी भएको छैन। मलाई डर पनि लाग्छ। मलाई पनि त्यो दुई खोला मिसिएको कालो दोभानमा तर्साउँछ कि जस्तो लाग्छ। तर मैले अरुलाई देखाउदिनँ।
म घर आएर मलाई डर लाग्यो भन्दिनँ। म अब पिसाब फेर्न अलि पर जाँदा डर लागे पनि आमालाई आँगनबाट हेरिदिन भन्दिनँ। मलाई त्यो बचपनको डर सबै छ तर मनसम्म। मेरो त्यो डर अब अनुहारमा आउँदैन, व्यवहारमा आउँदैन।
त्यसैले मलाई लाग्छ डर त बा’लाई पनि लाग्ने रहेछ। एक्लो महसुस त बा’लाई पनि हुने रहेछ। सपना त बा’का पनि रहेछन्। तर मेरा बा’ले आफूले कसरी जिन्दगी जिउने भनेर सिकेका रहेछन्।
मसँग आज बाइक छ, जागिर छ, सह मा सानो घडेरी छ तर पनि मलाई जिन्दगी चलाउन गाह्रो भएको छ। अझै मेरो श्रीमती पनि सरकारी जागिरे छिन्। तर पनि हाम्रो सहरसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ।
वर्षमा एक पटक घुम्न, नाम चलेको होटेलमा गएर महिनाको एकपटक खाना खान मन लागे पनि सकिरहेको छैन। अनि म सम्झिन्छु समय फरक होला तर सपना त यहाँ पनि मरेका छन्। दिन त उस्तै छ तर जिउने माध्यम परिवर्तन भएको हो।
जति-जति मेरो उमेर बढ्दै गएको छ, त्यति नै म मेरो बा’लाई बुझ्न थालेको छु। अब मलाई अहिले सेवा सुविधा मेरा बा’को भन्दा धेरै नै छ। मैले घाँस दाउरा गर्न पर्दैन। बिहान उठ्ने बित्तिकै गोबर फाल्नु पर्दैन। दिनभरि रुझेर धान रोप्न पर्दैन। मलाई दाउरा खोज्न जानु पर्दैन।
यसको लागि मैले पसलमा गएर दूध किन्न सक्छु, धानको लागि थरीथरी चामल किन्न सक्छु, म अहिले ग्यासमा खान पकाउँछु। तर पनि मलाई किन खुसी छैन? किन म मेरा बा जति पनि खुसी भएर सम्पत्ति भनेको परिवार हो भनेर त्यस्तो आनन्ददायक अनुहार देखाउन सकेको छैन?
म किन घरमा हाँस्दै आउन सकेको छैन? म किन बिहान उठेर ९ बजेसम्म आफ्नो परिवारसँग गफिँदै चिया, खाजा, खाना खान सकेको छैन?
यी सबै प्रश्नको उत्तर म आफैसँग अनुत्तरित छन्। तर यो समय कहिलेसम्म यस्तो, यसको जानकारी पनि मसँग छैन। र, त्यो एकदिन सबै ठिक हुन्छ अथवा ठिक नभए पनि ठिक छ भनेर किन म मेरा बा जस्तो बन्न सकेको छैन?
तर म अहिले भन्न सक्छु, हो मलाई बाघदेखि डर लाग्दैन।