पेट पटुकीले कसेर
भोगको आगोलाई निभाउन खोज्ने
ती आमाले दुई छाक खाना पाउन
सेताम्य दारीबाट तप-तप पसिना चुहाउँदै
चोक र गल्लीमा ठेला गुडाउने
ती वृद्ध बाले एकसरो लुगा लाउन
उनलाई सामाजवादको के अर्थ
पुँजीवाद र साम्यवादको के अर्थ
तिमीले गर्ने उत्तेजक भाषणको के अर्थ?
हिजो तिमीले देखाएका स्वर्णिम सपना पछ्याउँदा
जवान छोरो मर्यो
दुश्मनको पशुत्वको शिकार भएकी
किशोरी छोरी मरी
उनमा आशा थियो
उनमा विश्वास थियो
मेरो छोराको बलिदानले मुक्ति ल्याउने छ
मेरो छोरीले पिएको अत्याचारको प्यालाले
अत्याचारको अन्त्य गर्नेछ।
तर, उनको आशा झुट साबित भयो
उनको विश्वास गर्ल्याम्म ढल्यो
उनीजस्तै भुइँमान्छेको कथा उस्तै छ
पटुकी र पसिनाको व्यथा उस्तै छ
तिमीले ल्याएको परिवर्तनले
मुठ्ठीभर शासकको जीवन बद्लियो
कागजको पानामा व्यवस्था बद्लियो।
हेर त्यो चाप्लुसीको घेरा तोडेर
उत्पीडित वर्गको अवस्था उस्तै छ
विदेशी बजारमा लिलाम हुने
ती तरुण तन्नेरीको व्यथा उस्तै छ
प्रश्न गर्दै होला ती सहिदको आत्माले
के हाम्रो निःस्वार्थ बलिदानी यसकै लागि थियो?
निराशाको भारी बिसाउन
अबोध सन्तानसँगै कर्णालीमा विलीन हुने ती आमा
पशुत्वको शिकारबाट ज्यान गुमाउने ती बालिकाहरू
आफ्नै जीउ जलाउने ती युवाहरू।
के यहीँ हो तिमीले सोचेको रामराज्य?
के यहीँ हो तिमीले ल्याएको परिवर्तन?
अहँ, पटक्कै मिल्दैन तादाम्यता
मञ्च र फोरममा फलाक्ने भाषण
व्यवहारबाट प्रमाणित तिम्रो आचरण
त्यसैले भ्रमको पर्दा उघार
आँखाको रङ्गिन चस्मा उतार
संसार बद्लिएसँगै
चेतना बद्लिन्छ
डाइनोसरजस्तै कथा नबन।