स्कुले जीवन सकेपछि एक जोर पायल चप्पल र एक सरो कपडासहित गाउँबाट प्लस-टु पढ्न बिर्खे काठमाडौं झर्यो। बिर्खेका बाले उसलाई ६३ वर्षको उमेरमा जन्माएका थिए।
ऊभन्दा अघि उसकी दिदी र दाइ जन्मेका थिए तर उसको दिदीको सानो उमेरमै बिहे भएको थियो भने २० वर्षको उमेरमा पोखरा घुम्न जाने क्रममा मुग्लिङ नजिकै मोटरसाइकल दुर्घटनामा परी उसको दाजुको मृत्यु भयो। र, पछि बिर्खे कान्छो सन्तानको रुपमा जन्म लियो।
काठमाडौंको महंगीमा मझौला तथा निम्न वर्गीय व्यक्तिले जीवनयापन गर्न निकै संघर्ष गर्नुपर्थ्यो। ऊ कलंकीको हाइट नजिकै कोठा लिएर बसेको थियो, टियू पढ्न अलि नजिक होला भनेर। तर त्यहाँ भर्ना हुन पाएन। ऊ तरकारी किन्न धेरैजसो हिँडेर कालिमाटी पुग्थ्यो १५-२० रुपैयाँ जोगाउनका निम्ति, एक पाउ भए पनि तरकारी बढी आउला भन्ने आशामा।
आखिर जिन्दगी यस्तै त रहेछ, कहिले १० रुपैयाँ जोगाउन एक घण्टा हिँड्ने त कहिले १० मिनेट जोगाउन १०० रुपैयाँ तिर्नुपर्ने। लाग्छ कि जीवनमा न त पैसा ठूलो रहेछ न त समय नै। सबैभन्दा ठूलो त आवश्यकता रहेछ।
बिर्खेले प्लस-टु त्रिचन्द्र कलेजमा पढ्ने निर्णय लियो र सोही कलेजमा भर्ना गर्यो। ऊ बिहान कलेज जाने र दिउँसो पसलबाट किताबहरू उधारो लिई रत्नपार्क नजिक बेचेर बेलुकी साहुलाई किताबको मूल्य फिर्ता गरेको नाफा दुई/चार रुपैयाँ रकम लिएर फर्कने गर्थ्यो।
यसरी दिनहरू बित्दै जाँदा महिनौँ दिनको तलब आएपछि किचनका सामानहरू किन्यो। ग्यास जोगाउन प्रायःजसो भात पकाउँदा कुकरभित्र गिलासमा दाल हालेर पकाउने गर्थ्यो। दुई थरी तरकारी त पकाएर खान रहरै थियो। रहरभन्दा बाध्यताले मान्छेलाई कहाँ पुर्याउँछ, बिर्खेले राम्रोसँग बुझेको थियो।
कैयौं जोडीहरू बसन्तपुरको दरबार अगाडि लुकामारी खेलेको देख्दा ऊ आफै कल्पनामा डुब्न पुग्थ्यो। आखिर मनै त हो, कहिले कहाँबाट कहाँ पुर्याउँछ तर एकदिन मनै फर्केन भने जिन्दगी सकिनेरहेछ।
बिर्खे सानैदेखि लजालु स्वभावको थियो। मानिसहरूसँग खुलेर बोल्न पनि धक मान्थ्यो। काठमाडौं सहर कसैको सहारा बिना बाँच्न निकै कठिन थियो। मान्छेहरू क्षणिक फाइदा उठाउन मान्छे नै बेच्न समेत पछि हट्दैनथे।
कलेजमा पनि ऊ कसैसँग खुलेर बोल्न मान्दैन्थ्यो। साथीहरू उसको सोझोपनको फाइदा उठाउँदै मजाकको पात्र बनाइरहन्थे। त्यही क्लासको टपर एउटी केटी थिई, सृष्टि। आचरणमा स्वच्छ र धेरै नबोल्ने स्वभावकी थिई ऊ।
उनीहरूले बिर्खेलाई सृष्टिसँग नाम जोडेर जिस्काउँदा लाजले निहुँरिरहन्थ्यो। साथीहरूका नजरमा सृष्टि सायद अरु केटी जस्तो थिइन। न त ऊ थ्रेडिङ गर्थी न कुनै मेकअप। यस्ती धुस्रीफुस्री केटी बिर्खेजस्तो सोझोलाई मात्र सुहाउँछ, साथीहरू सायद यस्तै सोच्दथे। तर बिर्खेलाई यो व्यवहार मन पर्दैन थियो र क्लासमा प्रायःजसो एक्लै बस्ने गर्थ्यो।
बिर्खेको सरल व्यवहारलाई भने भित्रभित्रै सृष्टि एकदम मन पराउन थालिसकेकी थिई। के कारण थियो खै, ऊजस्तै हेपिएकी भएर दया जागेको हो या प्रेम नै थियो, उसले बुझ्न सकिरहेको थिएन।
उता दुनियाँको नजरले आकर्षण नपाउने सृष्टिको मुहारमा बिर्खेले ब्रम्हाण्डको सम्पूर्ण लालित्य पोतिएको पाउँथ्यो। ऊ लुज फिटिङ पाइन्ट लगाउँथी। चश्मा लगाउँथी। उसका घुम्रिएका कपाल थिए। साथीहरू उसको हुलियाको मजाक बनाएर कुरा गर्थे, बिर्खेलाई असह्य हुन्थ्यो तर पनि ऊ चुपचाप सुनिरहन्थ्यो।
सृष्टि र बिर्खेबीच दिनहुँ नयाँ-नयाँ कुराहरू सेयर हुन्थे। उनीहरूबीच नजानिँदो प्रेम बसिसकेको थियो तर कलेज बाहेक बाहिर न भेट हुन्थ्यो त न कुनै माध्यमबाट बोलचाल नै।
एकदिन बिर्खेको काँधमा सृष्टिले आफ्नो टाउको राख्दै निन्याउरो अनुहार बनाएर भनेकी थिई- ‘मेरो प्र्याक्टिकल कपि चोरेर अर्की साथी प्रथम भई, कसैलाई झट्ट विश्वास गर्न नहुने रहेछ बिर्खु यो सहरमा।’
बिर्खेले उसलाई सम्झाउँदै भन्यो- ‘सृष्टि, जे देखिन्छ त्यो सत्य हुँदैन र जे सत्य हुन्छ त्यो देखिँदैन रहेछ। अलि सतर्क रहनू।’
कलेजको एसाइन्मेन्ट सकेपछि सृष्टिले बिर्खेलाई भविष्यको योजना सुनाउँदै भनेकी थिई- ‘तिमी र मसँगै अफिसर बनेर प्रशासनिक अभिमुखीकरण तालिम लिँदाको फोटो सँगै राख्ने है! नेपालमै केही गर्ने है बिर्खु, राम्रोसँग पढ्नू।’
बिर्खे साथीहरूका आँखा जोगाएर सृष्टिसँग कुरा गर्थ्यो। सामान्य कुराहरू हुन्थे पढाइलेखाई सम्बन्धी नै। सृष्टिले पनि बिर्खेलाई एकोहोरो चाहिरहेको थिई। तर उसले बिर्खेलाई माया गर्छु भन्ने आँट कहिल्यै गर्न सकिन।
विस्तारै-विस्तारै कलेजका दिनहरू सकिँदै गए। दुई वर्षको पढाइ सकिएको थियो। फिजिक्स विषयको प्र्याक्टिकल परीक्षाको अन्तिम दिन नै सम्पूर्ण साथीहरूको अन्तिम भेटघाट रह्यो। साथीहरू सम्पर्कमा रहौँला भन्दै बिदा हुँदै थिए। बिर्खेलाई सृष्टिसँग बिछोड हुने पीडाले सताइरहेको थियो।
सृष्टि आँखाभरि आँसु बनाउँदै बिर्खेतिर आई।
'ल त बिर्खु, पछि पनि गेट टुगेदर गर्नुपर्छ है। फोन म्यासेज गरिराख ल।'
ऊ हात हल्लाउँदै बिदा भई। बिर्खे मुटुभरि माया लुकाएर उसलाई बिदा गरिरहेको थियो। उसलाई भन्न मन थियो- ‘सृष्टि, के मलाई जस्तै तिमीलाई मेरो याद आउँछ र? मलाई यसरी नै जिन्दगीभर सम्झाउँदै साथ दिन्छेऊ र?’ तर लामो सास तान्नु बाहेक अरु विकल्प थिएन।
त्यतिबेला फेसबुक चल्तीमा थिएन। मोबाइल पनि सहज रुपमा पाउने थिएन। सृष्टिले उसको ड्याडीको पोष्टपेडको नम्बर दिएकी थिई। बिर्खेले त्यो नम्बरमा फोन पनि गर्न सक्थ्यो न त म्यासेज नै। सायदै हरेक व्यक्तिको मोबाइलमा यस्ता केही नम्बर रहन्छन् जुन नम्बर न थिचेर डायल गर्न सकिन्छ, न डिलिट गर्न नै।
ऊ साँझबिहान सृष्टिकै यादमा तड्पिरहन्थ्यो। सृष्टिको अत्तोपत्तो थिएन। बस् यादहरूमा आएर सताइरहन्थी। बिर्खे पुल्चोकमा इन्जिनियरिङ पढ्न थाल्यो। नयाँ साथीहरू बने। तर पनि उसले सृष्टिलाई भुल्न सकेको थिएन।
बिई पढ्दापढ्दै ऊ लोक सेवाको तयारी गर्न थाल्यो। बिहान कलेजको पढाइ र दिउँसो जागीरले गर्दा उताको पढ्ने फुर्सद हुँदैनथ्यो तर पनि पुल्चोकबाट माइक्रोबसमा कलंकी पुग्दा पढ्ने नोटकपी उसको हातमा हुन्थ्यो। सुत्दा पनि लोक सेवा किताबकै सिरानी हुन्थे। सायदै विद्यार्थी जीवन यस्तै-यस्तै यादगर बित्ने रहेछ। उसले पहिलो पटकमै निजामतीमा सुब्बा हुने अवसर पायो।
बिर्खेको जागीरे जीवन सुरू भएपछि नयाँ स्मार्ट मोबाइल किनेको थियो। त्यो रात बिर्खे सुत्न सकेन, सृष्टिको यादले सताइरह्यो तर सम्पर्क गर्ने कुनै आधार थिएन।
फागु पूर्णिमाको दिन बिर्खे साथीहरूसँग चन्द्रगिरि मन्दिरमा टहलिँदै थियो। धेरै साथीहरू होलीमा आत्मीयता साटासाट गर्दै थिए त केही त मायाको रंग भर्दै थिए। यत्तिकैमा एक्कासी बिर्खेका आँखा परिचितजस्तै लाग्ने मुहारमा पुगेर टोलाए। बिर्खे झसङ्ग भयो।
हो, त्यो पराईसँग हातेमालो गर्दै हिँडेकी उसैकी सृष्टि नै थिई। ऊ अन्योलमा थियो। मुख आँ गरेर पनि बोल्न सकेन। यस्तो परिवर्तन?
उनी टाइट पाइन्ट, लङ कोरियन कोट अनि बुटमा थिइन। पूरा मेकअपले धपक्कै बलेकी थिइन्। आँखामा चश्मा पनि थिएन। उसले पनि बिर्खेलाई हेर्दै-हेर्दै गइन्। उसले पनि हेरिरह्यो र आफूलाई चिमोटेर हेर्यो। ऊ विपनामै थियो।
त्यस साँझ बिर्खे फेसबुक खोल्दै थियो। धेरै दिनदेखि आएर बसेका फ्रेण्ड-रिक्वेस्ट चेक गर्दै जाँदा सृष्टि गौतम गौडेल भनेर फेला पार्यो।
उसको मन भारी भयो। फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेर उसको प्रोफाइल हेर्न थाल्यो। रिलेसनशिप म्यारिड, करेन्ट सिटी टोरोन्टो, क्यानडा देख्यो। विस्तारै फोटोहरू हेर्न थाल्यो। धेरै एल्बमहरू थिए। 'भ्याकेसन इन नेपाल' मा चन्द्रागिरीका होलीका फोटोहरू पनि देख्यो।
उसको आँखा एउटा फोटोमा गएर टक्क अडिए। बच्चाको फोटो थियो। क्याप्सनमा लेखिएको थियो- 'माई क्युट बेबी सन बिर्खु।'
बिर्खेका आँखामा आँसु टिलपिलाउन थाले। उसले पनि बिर्खे नाम जिन्दगीभर नबिर्सिने गरी सम्हालेर राखेकी रहिछ।
'रियल्ली क्युट लाइक हिज मदर' फोटोमा कमेन्ट गर्दागर्दै बिर्खेका आँखाभरि आँसु जमिसकेको थियो।