कुरा केही महिना अघिको। म भर्खर लेकसाइडमा सन्धयाकालीन आरती हेरेर फर्केको थिएँ। आफ्नै व्यक्तिगत कामले म पोखरा गएको थिएँ तर मेरो काम बन्नका लागि अझै पनि केही दिन लाग्ने थियो।
दिनभरि काम बनाउन दौडियो अनि साँझ परेपछि होटलमा एक्लै बस्न विरक्त लाग्थ्यो। कहिले रङ्गशाला त कहिले पृथ्वी चोकमा बसेर यताउता हेर्दै बित्दै थिए मेरा दिनहरू। जतिसक्दो छिटो काम सक्न पाए यहाँबाट गइहाल्छु भनेर दिन गन्दै बस्थेँ।
न कोही चिनजान, न त साथी नै थिए त्यहाँ। जता गयो एक्लै हिँड्यो, होटलमा खाना खायो अनि बिहान ९ बजेसम्म सुत्यो। दिनहरू यसरी नै बितिरहेको थियो।
म पोखरामा यसअघि पनि एक/दुई पटक गएको थिएँ तर पुगेर मात्रै फर्केको थिएँ। यसपालि भने करिब एक हप्ताभन्दा बढी बसाइँ हुनेवाला थियो मेरो पोखरामा।
मेरोजस्तै काम लिएर एकजना चिनजानको दाइ पनि पोखरा जानुभएको रहेछ, भेट भएको थियो हाम्रो। दाइसँग स्कुटर रहेछ। कहिलेकाहीँ मलाई पनि स्कुटरमा घुम्दा ठाउँहरू चिनाउँदै लैजानुहुन्थ्यो। काम बनाउन दिनभरि दौडधूप गरिन्थ्यो।
म बसपार्कको नजिकै पर्वतका एकजना दाइको होटलमा बसेको थिएँ। त्यहाँ रमाइलो वातावरण थियो। बसहरूको गाइँगुइँ आइरहन्थ्यो समय-समयमा।
मेरो एकजना केटी साथी थिइन् तर उनी पोखरामा भने थिइनन्। म बुटवल बस्थेँ भने उनी काठमाडौं। उनीसँग दैनिकी रुपमा कुराकानी भइरहन्थ्यो।
उनी अत्यन्तै समझदार र शान्त प्रकृतिकी मान्छे थिइन् भने म अलि हाउडे पाराको थिएँ। उनीसँग कुराकानी हुने थालेको पनि करिब ५ वर्ष भइसकेको थियो।
हाम्रो सम्बन्ध राम्रै चल्दै थियो। सानो कुरामा पनि झगडा नहोस् भनेर म सधैँ सचेत थिएँ। कहिलेकाहीँ झगडा पनि हुन्थ्यो तर म सरी भन्न पछाडि हट्दिन थिएँ। मेरो कारण उनको मन नदुखोस् भन्ने लाग्छ।
त्यो दिन मेरो पोखरामा तेस्रो दिन थियो। एकातिर काम नबनेकाले मलाई छुट्टै किसिमको तनाव थियो भने अर्कोतिर सोही दिन म एक्कासी उनको ब्लक लिस्टमा भेटिएँ। सायद रातको करिब ८ बज्दै थियो, म भर्खर अनलाइन आउँदा उनको ब्लक लिस्टमा भेटिँदा केही पनि सोच्नै सकिनँ।
उनलाई कल गरेँ तर उनले ‘मेरो जीवनमा अरु कोही आइसक्यो, आई एम सरी’ भनिन्।
म अचम्ममा परेँ, छाँगाबाट खसेर ढुंगामा पछारिएको जस्तो भयो। मैले उनलाई सम्झाउन खोजेँ तर उनी मानिनन्। मेरो दिमागले केही पनि सोच्नै सकेन, तप्प आँसु खस्यो।
भर्खर खाना खाँदै थिएँ, खान मन लागेन अनि एक्कासी उठेर हिँडेँ। सरासर बाथरुममा पुगेर चिसो पानीले नुहाएँ। पहिला जाडोमा नुहाउन अल्छी गर्ने म त्यो दिन जाडोको कुनै अनुभूति नै भएन।
चिसो हावा चलिरहेको थियो, म होटलबाट निस्केर बसपार्कतिर लागेँ र बसपार्कबाट सेती नदीको पुलतिर।
त्यो अँध्यारो अनि छङछङ गरेको सेती नदीको आवाज मैले सजिलै सुनिरहेको थिएँ। पुलमा सातो नै जाने गरी गतिमा गाडीहरू आइरहेका थिए। गाडीहरूको गतिले सेती नदीको पुलमा स-साना पराकम्प गएको जस्तो अनुभव गरिरहेको थिएँ तर त्योभन्दा ठूलो पराकम्प मेरो मनमा गइरहेका थिएँ। म एकोहोरो भएर सेती नदीमा हेरिरहेँ।
दिउँसै हेर्दा नि सातो जाने त्यस पुलमा मलाई त्यो रात भने डर पटक्कै लागेन। करिब एक घण्टा जति त्यही पुलमा यताउता डुलेर नै गयो। होटल फर्किन मनै लागेन। मनभरि के-के यादहरू आउन थाले। मन खिन्न भयो। भर्खर बस चढेर गाउँ फर्किन मन लाग्यो।
एकपटक जान्छु भनेर होटलको नजिक पनि पुगेँ तर फेरि सोचेँ, म त कामले आएको हुँ। किन आएको हुँ भन्ने पनि सोचेँ तर पनि होटलमा फर्किएर जाने मन लागेन। टाउको पनि बेस्सरी दुख्यो तर टाउको दुखाइलाई अर्कै दुखाइले हराइदिएको थियो।
मेरो मनमा यही मात्रै सोच आइरहेको थियो कि मैले के गल्ती गरेको रहेछु? किन मलाई ब्लक गरिन् होला? मैले उनलाई केही त भनेको हैन त्यस्तो जसका कारण मलाई ब्लक नै गर्नुपर्ने हो।
म फेरि सेती नदीको पुलतिर हिँडेर विस्तारै रङ्गाशालातिर गएँ। एकछिन हेरेँ, कोही पनि देखिनँ। त्यहाँ एक्लै बसेँ एकछिन। मन बेचैन थियो बस्न मनै लागेन अनि यताउता हिँडिरहेँ।
मनमा नानाथरी सोच आए तर सम्हालेँ। मेरो टाउको बेस्सरी दुखिरहेको थियो, बाहिर बस्न नै सकिनँ। ज्याकेट लगाउन पनि बिर्सेको रहेछु। बाहिर चिसो हावा चलिरहेको थियो भने मनमा चिसो बतासको आँधी नै चलिरहेको थियो।
रातको करिब ११ बज्नै लागेको रहेछ, त्यहाँ ठूलो भवनमा घडीमा प्रष्ट देखिएको थियो। पोखरा बसपार्कमा बसहरू आइरहेका थिए भने मेरो मनमा भने उनकै तस्बिरहरू सेती नदीको अन्तर्निहित बहाबजस्तै बगिरहेका थिए।
मोबाइल बोक्न पनि बिर्सेको रहेछु। घडीमा समय बितिरहेको थियो, वातावरण पनि चिसिँदै थियो भने मेरो मन पनि जमिरहेको थियो। मनमा उनकै तस्बिर अनि उनका यादहरूले विक्षिप्त भएको थिएँ।
उनीप्रति कतिबेला बेस्सरी रिस पनि उठ्यो तर उनको त्यो शालिन स्वभाव सम्झेर त्यो रिसलाई अगाडि आउन दिएकै थिएन। मनमा एउटै प्रश्न आइरहेको थियो- मैले के गल्ती गरेको रहेछु?
यो कुरा पनि सोचेँ कि कतै उनी मबाहेक अरु कसैसँग पनि सम्बन्धमा रहेछिन् कि? तर फेरि मैले चिनेको उनी यस्ती छैनन् सम्झिएँ। एउटा असल व्यक्तिको उदाहरण दिँदा म पहिला उनलाई सम्झिन्थेँ। मलाई यही सोचले उनको अन्यत्र सम्बन्ध होला भनेर कति पनि सोच आएन।
मनलाई शान्त पार्दै म यही कुरा सोचिरहेको थिएँ। उनको फोटो हेर्छु भनेर सोचेँ तर साथमा मोबाइल थिएन। घडीमा समय बितिरहेको थियो, म भने झन् पछि झन विक्षिप्त भइरहेको थिएँ।
बाहिरको चिसो हावाले मलाई केही पनि फरक पारिरहेको थिएन, मनमा तातो हावाको आँधीले सबै कुरालाई क्षणभरमै हराइदिएको थियो। हेर्दाहेर्दै रातको १२ बजेछ। मन अझै बेचैन भइरहेको थियो। ५ वर्षको सम्बन्ध यति सजिलै? यही सोचले म झन कमजोर भएको थिएँ।
बसपार्कमा बस्न पनि मन लागेन। बसहरू एक/दुई वटा मात्रै आउन थाले। विस्तारै स्याङ्जा जाने बाटोतर्फबाट म त्यो सानो पुलिस चौकी हुँदै सिढीँ झरेर होटलमा गएँ। म बाहिर आउँदा केही पनि नभनी आएको थिएँ। होटलका साहु बसपार्कमा कोही बस्ने मान्छे पाइन्छ कि भनेर गएका रहेनछन्। साहुनी भने होटल कुरेर बसेकी थिइन्।
म मध्यरातमा होटलमा आएपछि साहुनीले भनिन्, ‘बाबु कहाँ गएर आएको यति राति? हेर्नुस् यहाँ यस्तो चल्दैन है ख्याल गर्नू, देख्दा त सोझै देखिन्छौ त।’
मलाई रिस उठिरहेको थियो तर मन शान्त पार्दै भनेँ, ‘त्यस्तो केही हैन, यहाँ बस्दा बोर लागेर बाहिर गएको। टाउको दुखिरहेको छ, सिटामोल छ र दिदी?’
‘यो चिसोमा कमिज मात्रै लगाएर किन गएको? खाना पनि खाएको छैन, के भयो? केही समस्या छ भने भन है दाइलाई,’ उहाँले सम्झाउँदै भन्नुभयो।
म सबै ठिक छ भन्दै सिटामोल मागेर दुई ट्याबलेट खाएँ। १ बज्न थाल्यो गएर सुत जाऊ भन्नुभयो, म विस्तारै कोठामा गएर पल्टिएँ। निद्रा लागेको थिएन तर सिटामोलले काम गर्न सुरू गरेछ, कतिबेला बेचैन पारामै निदाएछु थाहा नै पाइनँ।
बिहान हेर्दा मोबाईलमा ४/५ पटक फोन तथा म्यासेज आएको रहेछ। म हेर्दै थिएँ। पहिलो म्यासेज उनले नै गरेकी थिइन्- ‘नरिसाऊ ल, मैले मजाक गरेको है!’