लामो समयको अन्तरालमा स्कुलबाटै छुट्टिएका साथी सम्झनासँग व्यस्त सहरको एक चोकमा भेट भयो। उनलाई देख्नासाथ मैले भनेँ- 'हेल्लो मिस!'
उसले पनि हराएको सामान पुनः पाएजस्तै उत्साहित हुँदै प्रश्न भनिन्, 'हाई सरोज, कहाँबाट आज यता?'
मैले नि मजाक गर्दै भनेँ, 'तिमीलाई नै भेट्न आएको धन्न भेट भयो, चटक्कै मेरो माया मारेर कहाँ गएकी तिमी?'
ऊ मरिमरि हाँसी।
'आरामै छौ नि?,’ मैले सोधेँ
'आरामै छु, तिमीलाई कस्तो छ?’ उनले भनिन्।
'मलाई नि ठिकै छ।'
लगभग दुई वर्षको अन्तरालमा भेट भएका हामीलाई उही स्कुले जीवनको यादहरू ताजा गर्ने अवसर मिलेको थियो।
उसले कुरा सुरु गर्दै भनी, 'हैन! तिमी त पहिले जस्तो थियौ त्यस्तै रहेछौ तँ! मलाई त तिमीलाई देख्दा तिनै पुराना स्कुले दिन याद आयो। याद छ ती दिनहरू कस्तो रमाइला थिएँ। आज त सबै आ-आफ्नै बाटो लागे, रमाइलो नै हुन छाड्यो।'
स्कुले दिन भन्नासाथ २\३ जना मिल्ने साथीको झट्ट याद आइरहन्छ। विशेष गरी कक्षा १० को। एसइई पूर्वका दिनहरू बहुतै यादगार थिए।
एसइई दिनुभन्दा अगाडि बिहानदेखि बेलुकासम्म कोचिङ र नियमित कक्षाहरू संचालन हुन्थे। बिहान ६ बजे बोलाइएको कोचिङ क्लासमा हामी ५ बजे नै पुग्थ्यौँ। त्यहाँ वरपर रहेका स्कुलमा काम नलाग्ने बाँस दाउरा बाल्थ्यौँ र मस्त आगो तापेर बस्थ्यौँ। जसलाई सरदेखि विद्यार्थीसम्मको सबै जानकारी हुन्थ्यो। कसको कोसँग चक्कर चलेको छ आँखा हेर्दा नै अनुमान लगाउन सक्ने हामी त्यतिसम्म विज्ञ थियौँ। अनुमानका कतिपय कुरा त केही दिनमा पुष्टि पनि हुन्थे।
एकदिन रमाइलै रमाइलोमा सरसँग भलाकुसारी गर्दा सरले भन्नुभयो, 'के हो केटा हो, आज किन मस्केका? लभ पर्यो कि क्या हो?'
त्यतिकैमा रामले भन्यो, 'यो सरोजले त त्यो रमालाई पेन दिएको थियो, यसको पक्कै लभ पर्या होला।'
अहिले पो सुन्दा हाँसो लाग्छ त, ऊबेला त लाज लाग्थ्यो। अनि मैले नि प्रतिक्रिया दिएँ, 'त्यो सम्झनाले जन्मदिनमा तलाईं मात्र चकलेट दिएको चाहिँ के हो त?’
ऊ पनि लाजले भुतुक्कै भयो र भन्यो- 'होइन यार, त्यो त मेरो दिदी पर्छे।'
यस्ता रमाइला किस्सा सम्झँदा निकै रमाइलो लाग्छ।
'हेर त त्यसले तँलाई नै हेरिरहेकी छे, पक्कै पनि तँलाई मन पराउँछे होला,' अलि सोझोलाई पाएपछि हामी उचालिदिन्थ्यौँ। केटाहरू पनि मख्ख पर्थे।
केटीलाई पनि 'फलानोले तिमीलाई मन पराउँछ हेर त’ भन्दा रिसाउँथे। तर बेलाबेलामा त्यही केटालाई पिलिक-पिलिक हेर्थे। भोलिपल्ट त कसरी राम्रो भइन्छ भनेर कोरीबाटी चट्ट परेर आउँथे। त्यो देख्दा झनै अचम्म लाग्थ्यो।
भर्खर किशोरावस्थामा पुगेका हामीलाई कसरी अरुभन्दा अलग भन्ने भन्ने हुटहुटी भइरहन्थ्यो। कोही फन्नी हुन खोज्थे, कोही क्रिम लाएर टलक्क बन्थे, कोही यता कुरा उता, उताका कुरा यता गरेर राम्रो बन्न खोज्थे। सबलाई राम्रो हुनु थियो। जो जस्तो होस् उसको परिवार, उसको इतिहास र भविष्यसँग केही लिनुदिनु थिएन। हामी त वर्तमानमा रमाइरहेका थियौँ। क्या मोज थियो।
सम्झनाले भनिन्, 'साँच्चै कति रमाइलो थियो, हाम्रो साथीहरू पनि खुब मजाकिला थिएँ। तिम्रा साथीहरूको बीचमा भएको कुरा त्यही ग्रुपको एउटा साथीले भनिहाल्थ्यो। हेर उसले तिमीलाई मन पराउँछ रे त के हो भनेर साथी-साथीबीच जिस्कने गर्थ्यौं। कोही केटाहरू आज दुई शब्द बोल्दियो भने भोलि स्मार्ट बन्न खोज्थे तर केटीहरूले जोकर सम्झन्थे। हामीहरूले त्यसैको कुरा काटेर हाँसिरहेका हुन्थ्यौँ तर ऊ मलाई हेरेर हाँसे भनेर मक्ख पर्थ्यो। बिहानदेखि बेलुकासम्म साथीहरूबीच बिताएको पल कहाँ बिर्सन सकिन्छ र?’
त्यतिकैमा मैले भनेँ- 'मलाई चाहिँ तिमीले बिर्सियौ होला सम्झेको थिएँ, धन्न याद रै'छु।’
उसले यो सुन्नासाथ हाँस्दै भनिन्, 'कहाँ बिर्सनु नि, तिमी कक्षामा मजाकिलो थियौ। तिम्रो साथीभाइ सबै जोकर जस्तो लाग्छ।'
'तिमीहरू नि कहाँ कम छौ र?’
'ए साँच्चै! तिमी कहाँ जान लाग्या थियौ, साँझ परिसकेछ मैले तिम्रो समय लिएछु।’
उनले भनिन्, 'केही छैन, तिमीलाई भेटेर खुसी लाग्यो। बाल्यकालको याद ताजा गर्न पाइयो। म घर जान लाग्दै थिएँ, अब चाहिँ जानुपर्ला। राम्रोसँग बस, ल है त म लागेँ। बाई-बाई।’
मैले नि बाई-बाई भन्दै हात हल्लाएर त्यहाँबाट लागेँ।