म यो समुद्रमा
अनगिन्ती संस्कारको पोको भेट्छु
एउटाको गाँठोभित्र लाज
अर्को निर्लज्ज संस्कार माझ
यस्तै कति के-के पोकै-पोका
म एउटा पोको समेट्छु-
रङहरूको पोको
मेरो आफ्नै संस्कारको पोको।
त्यो मैले रोजेको पोकोबाट
अर्का एक झोला खसे
त्यो मैले खोजेको डोकोबाट
दु:ख-सुखका खोला बर्से
म झोला हेर्छु
ऊ मलाई हेर्छ
ऊभित्र समेटिएको संस्कार
यो दुनियाँ सब हेर्छन्।
अब वर्णन गरुँ म कसको!
झोलाको?
झोला लिएर बग्ने खोलाको?
खोलाले बगाएको संस्कारी चोलाको?
त्यो झोला, ती खोला, उनको चोला-
कहाँ कसरी बस्दो होला?
ऊभित्रका थोरै बाँकी संस्कार बचाएर
अनि पाएको थुप्रो संस्कार बगाएर!
मैले त झोलाभित्रको
रङहरू रोजेको थिएँ
कोही रंगिन
कोही रंगहीन
यो रङहरूमा म त्यही संस्कार भेट्छु
रङ बोकी यो सहर पसेकाहरू
आज रंगहीन देख्छु
अनि बेरङभित्र छिरेकाहरू
जीवन रङ्याउने अटुट जोशमा भेट्छु।
सुनेथेँ-
लागेका रङ पखालिन्छन् रे!
ती रङ रहेछन् धोइने
धुँदा नजाने त दाग रहेछन्
त्यसैले होला-
झोलाले दाग लिएर सब रङ बाँड्यो
देख्दा अचम्म लाग्छ-
त्यही रङमा जग रंगिए
अनि अन्तिममा हातको दाग त्यही झोलामा दले।
यहाँ
मैले सिकिनँ-
दागलाई जिस्क्याउन अनि
रङलाई उक्साउन
तर
नजरले भेटेसम्म
जिस्काउने र उक्साउने प्रशस्तै छन् यहाँ
फरक यति हो-
अरु जिस्क्याउन खोज्छन्
म आफै उकासिन खोज्छु।
चाहना यति-
जीवनको दोसाँधतिर कटाइएका रातमा
सिरानीले पश्चातापका आँसु नपिऊन्
मध्यरातमा झस्काउने सपनीले
केही वाक्य फुट्न बाँकी ओठ नसिऊन्
बाँच्ने चाह छोडेर-
स्वर्गीय नारायण गोपालको कोशेली कोही नगाऊन्-
‘झरेको पातझैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीपझैँ भयो उदास मेरो जिन्दगी।’