उसले रातो गुलाब किन्न दिनभर काम गर्यो
अलिकति खाजा खाएर बचेको पैसाले
करिब चार किलोमिटर हिँडेर फूल पसल पुग्यो
बचेखुचेको पसिना चुहाउँदै।
फूल बिक्रेताले सोध्यो- रातो गुलाब हो?
हो, सबैभन्दा राम्रो र अरू कसैले हात नलगाएको।
गुलाब बोकी फर्कँदा
उसले प्रियसीका बारेमा धेरै कल्पना गर्यो।
गुलाबको यो हाँगाले मैले उनको ललाटमा छुन्छु
जसमा मेरो निम्ती सधैँ बन्ने भाग्य लेखिएको छ
मेरो मन बुझ्ने तीक्ष्ण बुद्धि छ
त्यसपछि उनको बदामरूपी आँखामा
जहा मलाई प्रेमपूर्वक जुनी-जुनीसम्म हेर्न सक्ने शक्ति छ
त्यसपछि उनका कोमल हातमा जसले
यो गुलाबको स्पर्श अनन्तकालसम्म संग्रह गर्नेछ।
दिँदै म कामना गर्नेछु;
प्रिय, तिमीलाई म सधैँ-सधैँ यसरी नै गुलाब दिन पाउँ
र
एकदिन म मेरो संसारको रानी बनाउँला।
ऊ उनको घर नजिक पुग्यो
ऊ झसंग भयो जब उसले
उनलाई गुलाबका हाँगा काटिरहेको देख्यो।
उनले काटेका गुलाबका हाँगाहरू
जतनसाथ कुहिने फोहोरको ह्रासमा राखिन्
र झट्ट ऊतिर हेरेर सेधिन्-
‘तिमी के गरिराखेकौ छौ यहाँ?’
ऊ रातोपिरो अनुहार पार्दै बोल्यो-
‘कसले बाटोमा यो काँडा फालेको रहेछ
यात्रीलाई कोप्ला भनेर यही तिम्रो गुलाबको
ह्रासमा फाल्न ल्याएको।’
उसले अमिलो मन पार्दै
उनलाई हेर्ने नजर झुकाउँदै
लामो श्वास तान्दै गुलाब फाल्यो
र मनमनै अब कहिलै गुलाब नकिन्ने निधो गर्यो।